Kathmandu Press

काठमाडौंमा हैजाका बिरामी देखिँदै, रोकथाम र उपचार के ?

‘हैजा भिब्रियो कोलरा नामक ब्याटेरियाका कारण लाग्ने रोग हो । यो सामान्यतः खानेकुरा र पानीबाट सर्ने गर्छ । खानेकुरा राम्रोसँग पकाएर, सफा पानीले धोइपखाली गरेर र पानी राम्रोसँग उमालेर वा शुद्धीकरण गरेर मात्र खाने गर्नुपर्छ।’
काठमाडौंमा हैजाका बिरामी देखिँदै, रोकथाम र उपचार के ?

काठमाडौं, असार १० :  यतिखेर काठमाडौंमा हैजाका बिरामी देखिन थालेका छन् । आज (बिहीबार)सम्म पाँचजना व्यक्तिमा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार, यस अस्पतालमा आएका पाँच हैजाका बिरामीमध्ये एकजना निको भएर गइसकेका छन् भने अहिले चार बिरामीको अस्पतालमै उपचार भइरहेको छ । 

‘गत बिहीबार (२ असारमा) दुईजना, हिजो बुधबार दुई जनामा र आज एक जनामा हैजा पुष्टि भएको छ,’ उनले भने, ‘सुरुमा आएका दुई बिरामीलाई आइसियुमा राखेर उपचार गरिएको थियो । अहिले आएका बिरामीको स्वास्थ्य अवस्था सामान्य छ ।’  त्यस्तै, काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

के हो हैजा ?

Hardik ivf

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, हैजा एक प्रकारको भिब्रियो कोलरा नामक ब्याटेरियाका कारण लाग्ने रोग हो । यो सामान्यतः खानेकुरा र पानीबाट सर्ने गर्छ । हैजा लागेको मानिसमा विशेषतः पानीजस्तै दिसा बारम्बार लाग्ने गर्छ । साथै खुट्टाका मांसपेसी बाउँडिने, निरन्तर बान्ता हुने, आलस्य हुने र बेचैनी हुनेजस्ता लक्षण हैजाका बिरामीमा देखिन्छन् । 

‘१० जनामा एक जनालाई हैजा एकदमै कडा हुने गर्छ । कडा खालको हैजामा समयमै उपचार नभए ५० प्रतिशतसम्म मृत्युदर हुने सम्भावना हुन्छ,’ डा. पुनले टेलिफोनमा भने, ‘हैजा बर्सेनि नेपालको कुनै न कुनै भागमा देखिइरहन्थ्यो, यो वर्ष काठमाडौंमा देखिएको छ ।’ 

हैजा दूषित पानी वा खानेकुराको सेवनबाट लाग्ने डा. पुन बताउँछन् । कोभिडपछिको अलिकति सहज वातावरणमा मानिसहरू घरबाहिर खान थालेका छन् । ‘बाहिरका खानेकुरा वा पानी सफा नभएको अवस्थामा हैजाको सम्भावना बढ्छ,’ उनले भने, ‘गर्मी याममा पानीको माग बढी हुन्छ, धेरै व्यापारीले शुद्धीकरण नगरेको पानी बेच्न थाल्छन् । यसले पनि हैजा लाग्ने सम्भावना उच्च रहन्छ ।’ 

रोकथाम र उपचार  

डा. पुनका अनुसार, हैजाको रोकथामका लागि सबैभन्दा पहिले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खानेकुरा राम्रोसँग पकाएर, सफा पानीले धोइपखाली गरेर र पानी राम्रोसँग उमालेर वा शुद्धीकरण गरेर मात्र खाने गर्नुपर्छ । पानीलाई शुद्धीकरण गर्ने विभिन्न विधि छन् । 

‘जहाँ हैजा फैलिएको छ, त्यहाँको व्यक्तिले मलाई लक्षण देखिएको छैन, किन मैले धेरै सावधानी अपनाउने भन्नु हुँदैन । लक्षण नदेखिएको व्यक्तिको दिसामा पनि हैजाको ब्याक्टेरिया हुन सक्छ,’ डा. पुनले भने, ‘त्यसैले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्छ ।’ 

डा. पुनका अनुसार, हैजाका ब्याक्टेरिया संक्रमण भएको १२ घन्टादेखि पाँच दिनसम्म लक्षण देखिन थाल्छ । यसरी लक्षण देखाउनेबित्तिकै तुरुन्तै हस्पिटल जानुपर्छ । हैजाका बिरामी एकदमै कमजोर भएका हुन्छन्, यस्तो अवस्थामा पुनर्जलीय झोल खानुपर्छ, तर बारम्बार बान्ता हुने हुँदा खान नसकिने कारण लक्षण देखिनेबित्तिकै हस्पिटल जानुपर्छ, त्यहाँ सलाइन पानीका साथै औषधि दिन सक्छ, वा थप लक्षणका आधारमा जाँच र उपचारलाई अगाडि बढाइन्छ । 
 

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्