Kathmandu Press

‘महिलाले वडा चलाउन सक्दैनन् भनी विरोध गर्ने पनि थिए’

‘बझाङका १२ स्थानीय तहमा ९४ वडा छन्। ती ९४ वडामा कहीँ महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएनन्। मैले उम्मेदवारी दिँदा महिलाले वडा चलाउन सक्दैनन् भनी विरोध गर्ने धेरै थिए।’
‘महिलाले वडा चलाउन सक्दैनन् भनी विरोध गर्ने पनि थिए’

काठमाडौं, असार ९ : भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट बझाङको खप्तड छान्ना गाउँपालिका– ३ को वडाध्यक्षमा गौरी अधिकारी रावल निर्वाचित भएकी छन्। 

हामीले उनलाई टेलिफोनमार्फत सोधेका थियौँ— राजनीतिमा कसरी आउनुभयो र आफ्नो वडाका लागि के कस्ता काम गर्ने योजना छ? 

अशिक्षा, जुवातास र जाँडरक्सीका कारण आफ्नो वडामा महिला हिंसाका घटना बढ्दो रूपमा रहेको उनले बताइन्। ‘घरेलु हिंसापीडित महिला श्रीमान्को डरले खुलेर बाहिर आउँदैनन्। त्यसैले हिंसा बढ्दै गएको छ,’ नवनिर्वाचित वडाध्यक्ष अधिकारी भन्छिन्, ‘यहाँ छाउपडी प्रथा पनि कायमै छ। त्यसैले महिलाहिंसा र छाउपडीप्रथाविरुद्ध जनचेतना जगाउने र उनीहरूको जीवनस्तर उकास्ने विभिन्न सीपमूलक तालिम ल्याउने सोचमा छु।’

Hardik ivf

उनका अनुसार, वडामा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिजुली र सञ्चारको समस्या छ। पहाडी क्षेत्र भएकाले बर्खामा बाढीपहिरो आउने गर्छ। ‘विकास निर्माणका काम थुप्रै बाँकी छन्,’ उनी भन्छिन्, ‘०७८ असोजमा आएको बाढी–पहिरोले यसअघि भएका केही विकास पनि विनाशमा परिणत हुन पुगे। यसपालि आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ।’
 
वडाध्यक्ष अधिकारीको जन्म डोटीको जोरायल गाउँपालिका– ४ मा भएको हो। ०७१ मा खप्तड छान्ना गाउँपालिका–३ का दीपेन्द्रबहादुर रावलसँग उनको विवाह भयो। उनका माइतीले पहिलेदेखि कांग्रेस पार्टीप्रति आस्था राख्थे। यही पृष्ठभूमिका कारण घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटीमा स्नातक पढ्दै गर्दा उनले नेपाल विद्यार्थी संघको सदस्यता लिएकी थिइन्। 

२९ वर्षीया अधिकारी यतिखेर धनगढी सुदूरपश्चिमाञ्चल एकेडेमी क्याम्पसमा स्वास्थ्य विषयमा स्नातकोत्तर गर्दै छन्। परिवारको साथ र सहयोगले आफूले पढ्न र राजनीतिमा आउन पाएको उनी बताउँछिन्। स्वास्थ्य क्षेत्रमा विशेष रुचि रहेकाले विवाहपछि (२०७४ मा) उनले धनगढीमै अनमी पढ्न थालिन् र २०७६ पूरा गरिन्। अनमी उत्तीर्ण गरेपछि काठमाडौंमा एक वर्षजति जागिर गरिन्। 

२०७४ को निर्वाचनमा उनी आफ्नो घर बझाङ गएकी थिइन्। उनकी सासुआमा नेपाली कांग्रेसको संगठित सदस्य हुन्। यही माहोलले गर्दा त्यतिबेला उनी चुनावी प्रचारमा खटिइन्। कांग्रेसको १४औं महाधिवेशनमा बझाङ जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित समेत भइन्।

राजनीतिमा रुचि बढ्दै गएकाले यसपालि आफूले वडाध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछिन्। ‘मैले घरमा वडाध्यक्षमा उम्मेदवारी दिने कुरा राखेकी थिएँ, तर परिवारले उपाध्यक्षमा उठ्न भन्नुभयो,’ अधिकारी भन्छिन्, उपाध्यक्षका लागि धेरैले नचिनेकाले मैले वडाध्यक्षमा उठ्ने निर्णय गरेँ, जसमा सबैको सहमति पनि भयो।’ 

वडाध्यक्षका लागि टिकट पाउन भने आफूले निकै संघर्ष गर्नुपरेको उनको भनाइ छ। ‘हिजो राजनीतिमा आएकीलाई किन टिकट दिने ? पकाएको भात खान आएकी, लगाएको खेत काट्न आएकी भन्ने जस्ता नानाथरी भनाइ सुन्नुपरेको थियो,’ उनी भन्छिन्, ‘यी कुराले मलाई झनै आत्मविश्वासी बनाएको छ। अन्ततः मैले टिकट पाएँ र निर्वाचित भएँ। पार्टीका अग्रज बुद्धिजीवीले पढेलेखेको युवा भनी मलाई विश्वास गर्नुभएको हो। पार्टीले मलाई टिकट दिँदा कांग्रेसमा लामो समय सक्रिय रहेर काम गर्नुभएका अग्रज व्यक्तित्वले आपत्ति मात्रै जनाउनुभएन, पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार बनी वडाध्यक्षमा लड्नुभएको थियो।’ 

पुरुषवादी समाजले नपत्याउने हुँदा महिलालाई राजनीतिमा आउन एकदमै चुनौती रहेको उनी बताउँछिन्। बझाङका १२ स्थानीय तहमा ९४ वडा छन्। ती ९४ वडामा कहीँ महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएनन्। मैले उम्मेदवारी दिँदा महिलाले वडा चलाउन सक्दैनन् भनी विरोध गर्ने धेरै थिए,’ उनले भनिन्, ‘मलाई यहाँका जनताले विश्वास गर्नुभएको छ। अब म शिक्षा, स्वास्थ्य र महिला उत्थानमा केन्द्रित रहेर काम गर्नेछु।’

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्