Kathmandu Press

गर्मीले टिन तातेर कञ्चनपुर र कैलालीका विद्यालय बन्द : फ्यान र एसीको व्यवस्था कहिले हुने ?

‘बिहानमा पढाए पनि विद्यालयको छाना टिनको भएकाले १० बजेतिरै तात्न थाल्छ । केही विद्यालयमा गर्मीले केही विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमा पठनपाठन करिब चार दिनका लागि बन्द गरेका छौँ।’
गर्मीले टिन तातेर कञ्चनपुर र कैलालीका विद्यालय बन्द : फ्यान र एसीको व्यवस्था कहिले हुने ?

काठमाडाैं, असार ६ : विगत केही दिनयता अत्यधिक गर्मी बढेसँगै कञ्चनपुर र कैलालीका केही विद्यालय केही दिन बन्द रहे, केही विद्यालय अझै बन्द छन्। यस सम्बन्धमा हामीले कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) किरण थापा र कञ्चनपुरका प्रजिअ रामप्रसाद पाण्डेलाई टेलिफोन गरी बुझेका थियौँ। उनीहरु दुवैले यसबारे आफूहरुलाई जानकारी नभएको र यसबारे स्थानीय तहलाई नै अधिकार रहेको बताए। 

कैलालीको धनगढी उपमहानगरपालिका उपसचिव नरेन्द्रबहादुर खातीका अनुुसार, गर्मीका कारण कैलालीका सबै विद्यालय बन्द भने भएनन्। बन्द भएका विद्यालयमध्ये कुनै विद्यालय पालिकाले बन्द गरेको थियो भने कुनै पालिकाले विद्यालयलाई नै अधिकार दिएर विद्यालयको आवश्यकता अनुसार बन्द गर्ने निर्णय भएको थियो। ‘त्यसैले एकै दिनदेखि विद्यालय बन्द गरिएन। आवश्यकता अनुसार जेठ २४–२५ गतेदेखि विद्यालय बन्द हुँदै गएका थिए,’ उनले भने, ‘मौसम हेरी असार ५ देखि विद्यालय खुल्न थालेका छन्।’ 

धेरै विद्यालयमा टिनको छानो भएको र गर्मीले टिन ताती बस्न नसक्ने भएपछि विद्यालय बन्द हुन थालेको उनी बताउँछन्। ‘धनगढीको हकमा एसी सुविधा भएका संस्थागत विद्यालय पनि छन्। गर्मीका कारण सुविधासम्पन्न विद्यालय बन्द गर्नु जरुरी भएन,’ उपसचिव खाती भन्छन्, ‘कुनै विद्यालय बिहानमा पनि चलेका छन्।’ 

Hardik ivf

उनका अनुसार, अहिलेको गर्मी बिदालाई हिउँदे र बर्खे बिदामा मिलान हुने गरी मिलाइनेछ। 

कञ्चनपुरको भीमदत्त नगरपालिकाले जेठ २४ गतेदेखि गर्मीका कारण विद्यालय बन्द गरेको थियो। यस नगरपालिकाका प्रमुख पदम बोगटीका अनुसार, गर्मी बढेसँगै पहिलोपटक जेठ २४ गतेदेखि २७ गतेसम्म विद्यालयलाई बिदा दिने निर्णय गरिएको थियो। ‘तर मौसममा कुनै परिवर्तन नभएकाले बिदा थप गरी असार ४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गर्‍याैँ,’ उनले भने। 

राम्रोे भौतिक संरचनासँगै एसी र फ्यान (पंखा)को व्यवस्था भएका निजी विद्यालयले बिहानै पठनपाठन गराउने गरी विद्यालय खोलेको पनि उनी बताउँछन्। ‘धेरैजसो सामुदायिक विद्यालयमा टिनको छाना छ। बिजुलीबत्ती र फ्यानको व्यवस्था छैन,’ उनले भने, ‘४१–४२ डिग्रीसम्म तापक्रम बढेपछि विद्यार्थीलाई असहज भयो र नगरपालिकाभित्रका विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो।’ 

त्यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिकामा पनि गर्मी बढेसँगै जेठ २४ गतेदेखि असार ५ सम्मका लागि विद्यालय बन्द गरिएको थियो। बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहोराका अनुसार, नगरपालिकाभित्रका २२ सरकारी विद्यालय बन्द गरिएको छ भने बाँकी निजी विद्यालय पनि बन्द भएका छन्। 

‘फ्यान भए पनि हावा तात्यो’

बेदकोट नगरपालिका– ७, सुडास्थित घटाल माविमा कक्षा १२ सम्म पठनपाठन हुन्छ।  यस विद्यालयमा टिनको छाना नभई छत छ भने हरेक कक्षा कोठामा फ्यानको समेत व्यवस्था छ। यस विद्यालयका मावि तहका शिक्षक लोगबहादुर कुँवरका अनुसार, यहाँ विद्यार्थीको चाप हुँदा र गर्मीका कारण कक्षा कोठाको हावा नै तातो हुँदा समस्या भयो। ‘११ र १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएकाले विद्यालय दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्नुपरेको थियो। यही बेला फ्यान चलाउँदा पनि तातो हावा आएकाले समस्या भई विद्यालय बन्द गर्‍याैँ,’ उनले भने। 

प्रचण्ड गर्मीकै कारण कैलालीको गौरीगंगा नगरपालिकाले असार २ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गौरीगंगा नगरपालिकाका उपसचिव हरिश पन्त भन्छन्, ‘बिहान ६–७ बजेदेखि १२ बजेसम्म विद्यालय सञ्चालन हुन्छ। छानो टिनको भएकाले १० बजेतिरै तात्न थाल्छ। केही विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि करिब चार दिनका लागि पठनपाठन बन्द गरेका छौँ,’ उपसचिव पन्तले भने, ‘तर विद्यालयका प्रशासनिक कार्य भने सुचारु नै छन्।’

पंखाको व्यवस्था गर्छौं : निर्देशक

शिक्षा विकास निर्देशनालय सुदूरपश्चिम प्रदेश दिपायलका प्रमुख गणेशबहादुर सिंह आगामी दिनमा विद्यार्थीलाई गर्मी र जाडोबाट जोगाएर पढाउनका लागि विद्यालयको भौतिक संरचनामा जोड दिने बताउँछन्। ‘गर्मीमा पंखासम्मको व्यवस्था गर्न सकिन्छ र सम्भव भएका विद्यालयमा बिहान पढाउन सकिन्छ,’ उनी भन्छन्, ‘अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले पनि विद्यालयले बिदा दिन आवश्यक भएको हो।’

अहिले गर्मीका कारण छुटेको पढाइको भर्पाइका लागि विद्यालयले बर्खे र हिउँदे बिदा कटौती गरेर मिलान गर्न सक्ने उनको भनाइ छ। 
 

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्