Kathmandu Press

बर्खे विपद् : यसपालि ४ लाख घरधुरी प्रभावित हुन सक्ने, के छ सरकारको पूर्वतयारी ?

प्राधिकरणका अनुसार, पछिल्लो १० वर्ष (२०६८ वैशाख  १ देखि  २०७८ चैत ३१ सम्म) मा मनसुन विपद्बाट २ हजार तीन सय ६२ व्यक्तिको मृत्यु भयो । त्यस्तै, १ हजार ६ सय ४६ व्यक्ति घाइते भए भने ८ सय ८० व्यक्ति बेपत्ता छन् ।
बर्खे विपद् : यसपालि ४ लाख घरधुरी प्रभावित हुन सक्ने, के छ सरकारको पूर्वतयारी ?

काठमाडौं, असार २ : रोल्पाको परिवर्तन गाउँपालिका– ५ दाउन्ने भीरस्थित सडकमा यही २९ जेठमा ढिस्को खस्दा पुरिएर दुई बालकले ज्यान गुमाए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्नो ट्विटरमा अपडेट गरे अनुसार, २९ जेठ बिहान १० बजेदेखि ३० जेठ बिहान १० बजेसम्म (२४ घन्टामा) १३ वटा विपद्का घटना भएका छन् । जसमध्ये दुई जनाको मृत्यु, तीनजना घाइते, अनुमानित क्षति ४६ लाख २२ हजार रुपैयाँ र चौपाया क्षति एक भएको उल्लेख छ । 

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार, ०७८ मा मनसुनजन्य विपद्का कारण देशभर दुई सय ५८ व्यक्तिले ज्यान गुमाएका थिए भने १९२ व्यक्ति घाइते र ६५ जना बेपत्ता भए । सोही वर्ष देशभरका पूर्वाधार तथा संरचनातर्फ ४५ पक्की पुल, तीन बेली ब्रिज, ८७ झोलुंगे पुल, १ हजार २२ घर (व्यक्तिगत)मा पूर्ण क्षति र ६ सय ३० घर (व्यक्तिगत)मा आंशिक क्षति भएको थियो । त्यस्तै, ५८ सरकारी भवन, ९३ वटा शिक्षण संस्थाका भवन, ५२ जलविद्युत् आयोजना र ६७८ खानेपानीको स्रोतमा विपदले क्षति पु¥याएको थियो । 

Hardik ivf

पछिल्लो १० वर्षमा २,३६२ को मृत्यु 
 
प्राधिकरणका अनुसार, पछिल्लो १० वर्ष (२०६८ वैशाख  १ देखि  २०७८ चैत ३१ सम्म) मा मनसुन विपद्बाट २ हजार तीन सय ६२ व्यक्तिको मृत्यु भयो । त्यस्तै, १ हजार ६ सय ४६ व्यक्ति घाइते भए भने ८ सय ८० व्यक्ति बेपत्ता छन् ।

यो १० वर्षमा ५ हजार ८ सय २५ वटा विपदका घटना भएका थिए । जसमध्ये, बाढीका घटना मात्रै १ हजार ७ सय ५६ छन् । यो अवधिमा बाढीका कारण ८ सय ५७ व्यक्तिले ज्यान गुमाए । त्यस्तै, एक सय ९२ व्यक्ति घाइते भए भने ५ सय ४८ व्यक्ति बेपत्ता छन् । 

यो अवधिमा दुई हजार ४ सय ६५ वटा पहिरोका घटना भए । पहिरोका कारण १ हजार तीन सय ८७ व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै, पहिरोबाटै यो अवधिमा एक हजार १ सय ३६ व्यक्ति घाइते भए भने तीन सय ३० बेपत्ता भए । 

यो अवधिमा भारी वर्षाका कारण १ हजार ६ सय चारवटा घटना घटे । जसमा एक सय १८ व्यक्तिले गुमाए भने तीन सय १८ व्यक्ति घाइते र दुई बेपत्ता भए । ‘प्रहरी र स्थानीय तहको जानकारीमा आएका घटना हुन् यी । कतिपय स्थानमा विपद्मा परे पनि कसैलाई थाहा हुँदैन,’ प्रवक्ता भट्टराई भन्छन्, ‘२०७२ भूकम्पपछि जलवायुको परिवर्तनका कारण विपद् अझै बढेको देखिन्छ ।’

१९ अर्बको क्षति

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार, यो अवधिमा विपद्का कारण ७८ हजार आठ सय ११ परिवार प्रभावित भए । बाढीले ६५ हजार एक सय ५४, पहिरोले आठ हजार एक सय ८०, भारी वर्षाले पाँच हजार चार सय ७७ घर प्रभावित पारेको थियो । जसमध्ये १६ हजार ३९ घरमा पूर्ण र ४५ हजार तीन सय ९३ घरमा आंशिक क्षति पुगेको थियो ।

त्यस्तै, यो अवधिमा एक हजार ४९ गोठ, दुई हजार चार सय ६ पशु चौपायालाई विपद्ले क्षति पु¥याएको प्राधिकरणको तथ्यांक छ । 
विपद्का कारण हुने विभिन्न घटनामा प्राधिकरणले अनुमानित क्षति आकलन गरेको छ । ‘यो दश वर्षमा मनसुनजन्य विपद् जोखिम तथा प्रभावका कारण १९ अर्ब ८ करोड ३७ लाख ९६ हजार रुपैयाँ क्षति पु¥याएको आकलन छ,’ प्रवक्ता भट्टराईले भने । 

२० लाख प्रभावित हुन सक्ने 

पछिल्लो समय भारी वर्षाका कारण आइलाग्ने बाढी, पहिरो लगायत विपदबाट जनधनको क्षति बढेको पाइन्छ । मौसमविद् बिनु महर्जनका अनुसार, पछिल्ला २८ वर्षको तथ्यांक हेर्दा यसपटक नर्मलभन्दा अलि धेरै वर्षा हुने सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागले यस वर्ष (०७९) जेठ १८ गतेदेखि असोज १४ गतेसम्म मनसुन सिजन रहने बताएको छ । यही अनुसार, प्राधिकरणले प्रभावित हुन सक्ने घरधुरीको आकलन गरेको पनि प्रवक्ता भट्टराई बताउँछन् । ‘यस वर्ष मनसुनको समयमा ४ लाख २१ हजार घरधुरी तथा २० लाख जनसंख्या प्रभावित हुन सक्ने आकलन गरेका छौँ,’ उनले भने, ‘गत वर्ष १८ लाख जनसंख्या प्रभावित पार्ने आकलन गरेका थियौँ ।’

पूर्वतयारी

आकलन अनुसार प्राधिकरणले पूर्वतयारी पनि गरेको प्रवक्ता भट्टराईको भनाइ छ । ‘सरकारले बर्खा लागेपछि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत सोमबारको १३औँ बैठकले कार्ययोजना स्वीकृत गरेको हो,’ उनी भन्छन्, ‘प्रभावकारी कार्यान्वयनका लागि कमान्ड टोली समेत गठन गरिएको छ ।’ 

विपद्बारे थाहा पाउनेबित्तिकै आदेशबिनै सुरक्षाकर्मी परिचालित हुन पाउने गरी योजना बनाइएको छ । विपद्पछि उद्धार तथा राहतमा ढिलाइ नहोस् भनी सुरक्षाकर्मीलाई विशेष आदेश दिइएको प्रवक्ता भट्टराई बताउँछन् । ‘देशभरका सुरक्षाकर्मीलाई विपद् हुनासाथ घटनास्थलमा जाने अधिकार छ,’ उनले भने, ‘गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, जल तथा मौसम विज्ञान विभागको सहकार्य र सूचनामा सबैले विपद्का जोखिमलाई न्यूनीकरण गर्ने योजना छ ।’ 
 

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्