साँफेबगरको इन्टरलक इँटा : तीन युवाको उद्यमशीलता
इँटा तयार गर्न मिश्रण गरिएको माटो, बालुवा र सिमेन्टलाई आवश्यकता अनुसार पानी राख्दै हाइड्रोलिक मेसिनद्वारा इँटा उत्पादन गरिन्छ। उत्पादन गरिएको इँटालाई २४ घन्टापछि बाहिर घाममा राखिन्छ, घाममा राखेपछि पानीले भिजाइन्छ।काठमाडौं, जेठ ३० : ‘युवा उद्यमशीलता आजको आवश्यकता’ नारा लिएर अछामको साँफेबगर नगरपालिका– १३ बाब्लाका दुई र घुघुरकाेट- १० का एक युवाले ‘एमबिए इन्टरलक इँटा उद्योग’ सञ्चालन गर्दै आएका छन्।
एकेन्द्र कुवँर, मीन बाब्ली मिलन र भीम बडाहितको साझेदारीमा साँफेबगर नगरपालिका– ७ छिपेखोलामा २०७८ वैशाखदेखि सञ्चालित यस उद्योगले अहिले मासिक दुई लाख रुपैयाँ बराबरको इँटाको बिक्री तथा वितरण गर्दै आइरहेको छ। ‘अघिल्लो वर्ष २५ लाख रुपैयाँ बराबरको इँटा बिक्री भयो,’ उद्योग सञ्चालकमध्येका एक एकेन्द्र भन्छन्।
उत्पादित इँटा साँफेबगर नगरपालिकासँगै चौरपाटी गाउँपालिकाको चौखुट्टे, बान्नीगढी जयगढ गाउँपालिका लगायत स्थानमा बिक्री हुने गर्छ। साँफेबगर नगरपालिकाभित्रका ग्राहकका लागि भने उद्योग आफैँले ढुवानी सेवा दिने गरेको छ। यस बाहेकका क्षेत्रमा उपभोक्तासँगको आपसी समझदारीमा ढुवानी सेवा दिइएको एकेन्द्र बताउँछन्। अछामवासीको केन्द्रका रुपमा छ, साँफेबगर नगरपालिका। ‘केन्द्रमा उद्योग खोल्दा बिक्री नहुने समस्या हुँदैन,’ एकेन्द्र भन्छन्, ‘त्यसैले तीनजना मिलेर सानो लगानीमा उद्योग खोलियो। अहिले हामीले १० जना युवालाई रोजगारी दिएका छौँ।’
साझेदारीको कथा
साँफेबगर नगरपालिका– १३, बाब्लाका एकेन्द्र २०७४ मा वैदेशिक रोजगारीका सिलसिलामा दुबई गए र दुई वर्षपछि गाउँ फर्के। गाउँघरमा विभिन्न भेटघाट र अवसरमा उनको मित्रता बाब्लाकै मीन बाब्ली र भीम बडाहितबीच बाक्लियो। अहिले स्नातक गरिरहेका मीनले यसअघि ललितपुरको गोदावरीस्थित वाणीगाउँमा स्ट्राबेरी फार्म सञ्चालन गरेका थिए। कोरोना महामारीका कारण उनले यस व्यवसायमा नोक्सान बेहोर्नुपर्याे। आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्नुपर्छ भन्ने सोचले मीन पनि गाउँ फर्केका थिए।
स्नातक गर्दै गरेका भीम बडाहित पनि केही गर्ने सोचमा थिए। जब यी तीन युवाको भेट भयो, तब उनी केही गर्ने सम्बन्धमा छलफल गर्न थाले। अन्ततः उनीहरू इँटा उद्योग खोल्ने निष्कर्षमा पुगे।
‘साँफेबगर नगरपालिकाभित्र कसैले नगरेको नयाँ व्यवसायको थालनी के गर्न सकिएला भनेर छलफल गर्याैँ। त्यस्तो काममध्ये इँटा उद्योग पनि रहेछ,’ एकेन्द्र भन्छन्, ‘आफन्त र माइक्रोफाइनाइन्सबाट ऋण जोहो गरेर इँटा उद्योग खोल्यौँ।’
अछाममा कैलाली र कञ्चपुरबाट रातो इँटा आयात गरिन्छ, जुन एउटै इँटाको २४ देखि २५ रुपैयाँ पर्ने जान्छ। त्यसैले अछामवासीको सहुलियतका लागि इँटा उद्योग सञ्चालनमा ल्याएको मीन बाब्ली बताउँछन्। साँफेबगर नगरपालिकाभित्र थुप्रै भौतिक विकास निर्माणका काम पछिल्लो समयमा हुने गरेका छन्।
रातो इँटाको तुलनामा इन्टरलक इँटा सस्तो पर्ने एकेन्द्रको भनाइ छ। ‘हामीले उत्पादन गर्ने इन्टरलक इँटाको आकार केही ठूलो छ। यहाँ उत्पादित प्रतिइन्टरलक इँटाको मूल्य ६५ रुपैयाँजस्तो पर्न आउँछ,’ एकेन्द्र भन्छन्, ‘स्थानीय स्तरमा दूरी हेरेर ढुवानीसहित वितरण गर्छौं। आकारका हिसाबले कञ्चनपुर र कैलालीबाट ल्याइने रातो इँटाको तुलनामा यो ३५ प्रतिशत सस्तो पर्न जान्छ।’
एकेन्द्रका अनुसार, यहाँ उत्पादित इँटाको आयु वैज्ञानिक हिसाबले ७० देखि ८० वर्षसम्म रहेको छ। यो इँटा ‘इन्टरलक’ हुने भएकाले गारो बलियो पनि हुन्छ।
कसरी बन्छ ?
इन्टरलक इँटा माटो, सिमेन्ट र बालुवा मिश्रणबाट बनाइन्छ। एमबिए उद्योगमा तीन किसिमका इँटा उत्पादन हुँदै आइरहेको छ। ‘एउटा सबैभन्दा ठूलो आकारको, एउटा रातो इँटाजस्तै सादा र अर्काे टाइल आकारको चारकुने इँटा बनाइरहेका छौँ,’ एकेन्द्र भन्छन्, ‘यी इँटा तयार गर्न फरक–फरक मेसिन प्रयोग गर्नुपर्छ। सबै खाले मेसिन किन्नका लागि सात लाख ७५ हजार खर्च भएको छ।’
इँटा तयार गर्न मिश्रण गरिएको माटो, बालुवा र सिमेन्टलाई आवश्यकता अनुसार पानी राख्दै हाइड्रोलिक मेसिनद्वारा इँटा उत्पादन गरिन्छ। उत्पादन गरिएको इँटालाई २४ घन्टापछि बाहिर घाममा राखिन्छ, घाममा राखेपछि पानीले भिजाइन्छ। २१ दिनसम्म प्रत्येक दिन तीन–चारपटक पानीले भिजाइराख्नुपर्छ। त्यसपछि मात्रै इँटा प्रयोगका लागि योग्य हुन्छ।
एकेन्द्रका अनुसार, यस उद्योगका लागि स्थानीय स्तरमै रातो माटो संकलन गरिन्छ भने बालुवा साँफेबगर नगरपालिकामा रहेको बुढीगंगा नदीबाट ल्याइन्छ।
इन्टरलक इँटा स्थानीय स्तरमा नयाँ भएकाले धेरै मानिसले यसबारे बुझेका छैनन्। धेरैले यसलाई बालुवा, गिट्टी र सिमेन्टबाट बन्ने ब्लकजस्तै सम्झेको एकेन्द्र बताउँछन्। त्यसैले मानिसलाई यसबारे बुझाउन उनीहरू गाउँगाउँमा जाने गरेका छन्। ‘युवाले आफ्नै क्षेत्रमा केही गर्न खोजिरहँदा यहाँको सरकार र जनताको प्रोत्साहन आवश्यक हुँदो रहेछ,’ एकेन्द्र भन्छन्, ‘कतिपय मानिसले साथ दिइराख्नुभएको छ।’
अहिले मासिक रूपमा दुई लाख बराबरको इँटाको बिक्री तथा वितरण भइरहेको एकेन्द्रको भनाइ छ। हावाहुरी र पानी पर्दा इँटा बनाउन सकिँदैन, त्यसैले साउन र भदौमा धेरैजसो वर्षा हुँदा समस्या हुन्छ। पुस र माघमा पनि घाम नलाग्दा समस्या हुन्छ। विशेषतः फागुन, चैत, वैशाख, जेठ र असारमा मौसम सफा रहने र इँटाका लागि अनुकूल वातावरण हो।