Kathmandu Press

सिथि नखः पर्व : ललितपुरमा यसरी सफाइ गरियाे धारा-इनार (तस्बिरहरू)

ललितपुरका नेवार समुदायले सिथि नखः पर्व मनाउने क्रममा पाटन दरबार क्षेत्र, मंगलबजारलगायत स्थानमा रहेका हिटी (धारा) तथा इनार सफाइ गरेका छन्।
सिथि नखः पर्व : ललितपुरमा यसरी सफाइ गरियाे धारा-इनार (तस्बिरहरू)

ललितपुर, जेठ २२ : आज (आइतबार) ज्येष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायको सिथि नखः पर्व। इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गरेर यो पर्व मनाइएकाे छ।

ललितपुरका नेवार समुदायले सिथि नखः पर्व मनाउने क्रममा पाटन दरबार क्षेत्र, मंगलबजारलगायत स्थानमा रहेका हिटी (धारा) तथा इनार सफाइ गरेका छन्।

वर्षातका बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नुपर्ने सन्देश दिन नेवार समुदायमका यो पर्व मनाउने गरिन्छ।

साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको छ।

सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पुर्‍याउने गर्दछन्। त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन्।

भगवान् कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन पनि रहेको छ।

यस पर्वमा घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ।

 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्