Kathmandu Press

‘बहुविवाह, बालविवाह रोकथामदेखि जाँडरक्सी सेवनमा मापदण्ड ल्याउँछौँ’

आफ्नो कार्यकालमा खानेपानी, शिक्षा, सडक र स्वास्थ्य लगायत आधारभूत सेवा–सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष विकको योजना छ। 
‘बहुविवाह, बालविवाह रोकथामदेखि जाँडरक्सी सेवनमा मापदण्ड ल्याउँछौँ’

सुर्खेत, जेठ २० : सुर्खेतको चौकुने गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट खड्क विक निर्वाचित भएका छन्। 

नवनिर्वाचित अध्यक्ष विकको राजनीतिक यात्रा १७ वर्षको उमेरदेखि सुरु भएको हो। माओवादी जनयुद्ध चलिरहेका बेला उनी ०५६ सालमा माओवादी पार्टीमा प्रवेश गरेका थिए। ‘त्यतिबेला समाजमा गरिबी, अत्याचार र शोषण व्याप्त थियो। सीमित हुनेखाने वर्गबाट बहुसंख्यक गरिब वर्गमाथि अत्याचार हुन्थ्यो,’ अध्यक्ष विक भन्छन्, ‘गरिब तथा असहाय व्यक्तिले आफ्नो मनमा लागेको कुरा बोल्न पाउने स्थिति थिएन, अत्याचारका विरुद्ध आवाज उठाउनुपर्छ भनेरै म माओवादी आन्दोलनमा होमिन पुगेँ।’ 

०५६ देखि माओवादी शान्ति प्रक्रियामा नआएसम्म उनी भूमिगत रहे। त्यसपछि ०६३ मा सुर्खेत निर्वाचन क्षेत्र नम्बर ३ को माओवादी पार्टीको इन्चार्ज भए। राज्यको पुनर्संरचना हुनुअगाडि (०७४) सम्म लगभग ११ वर्ष उनी सुर्खेत निर्वाचन क्षेत्र नम्बर ३ को इन्चार्ज भएरै पार्टीमा सक्रिय रहे। 

Hardik ivf

योबीचमा ०६६ सालमा जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य र ०६८ मा इच्छुक जनसांस्कृतिक परिवारको केन्द्रीय सचिवालय सदस्य समेत रहे।

एसएलसीसम्मको अध्ययन गरेका विक स्कुल पढ्दा सामाजिक गतिविधिसँगै गीत–संगीतमा सक्रिय थिए। ०५३ सालमा जुनतारा बाल क्लबको अध्यक्ष भएका उनले ०५४ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट स्वर परीक्षा उत्तीर्ण गरी केही गीत रेकर्ड समेत गराएका छन्।

हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य समेत रहेका विकले ०७४ को स्थानीय निर्वाचनमा समेत माओवादी पार्टीबाटै चौकुने गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका थिए, त्यतिबेला आफ्नै पार्टीबाट बागी उम्मेदवार उठेकाले आफू झिनो मतान्तरले पराजित हुनुपरेको उनी बताउँछन्। यसपालि भने उनले निर्विरोध टिकट पाएका थिए।

समस्या र समाधान

अध्यक्ष विकका अनुसार, चौकुने गाउँपालिकामा अधिकांश आधारभूत सुविधाको अभाव छ। गाउँपालिकाका १० वटा वडामध्ये अहिलेसम्म वडा नम्बर ५ बाहेक अन्य वडामा खानेपानीको समस्या छ। ‘अहिले पनि अन्य वडाका महिला डोकोमा गाग्री बोकेर टाढाटाढा पानी लिन जानुपर्ने अवस्था छ,’ नवनिर्वाचित विक भन्छन्, ‘शैक्षिक क्षेत्र पनि नाजुक छ। कक्षा ५ पढ्ने बालबालिका बाह्रखरी लेख्न नजान्ने अवस्थामा छन्। विद्यालयलाई पार्टीका मानिसले जागिर खाने ठाउँ मात्र बनाएकाले सिकाइ गुणस्तरीय हुन सकेको छैन।’ 

आफ्नो कार्यकालमा खानेपानी, शिक्षा, सडक र स्वास्थ्य लगायत आधारभूत सेवा–सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष विकको योजना छ। 

उनका अनुसार, राज्यले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम दिए पनि चौकुने गाउँपालिकाको कुनै पनि स्थानमा लागू भएको देखिएको छैन। ‘गाउँपालिकाका स्वास्थ्य चौकीमा सामान्य ज्वरो, झाडापखाला लागेका बिरामीका लागि सिटामोलको अभाव छ,’ अध्यक्ष विक भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा बनाउने र पालिकाभित्रका दीर्घरोगी र मानसिक रोगी, जसले उपचार खर्च जुटाउन नसकी रोग पालेर बसेका छन्, उनीहरूको निःशुल्क स्वास्थ्य बिमा गर्नेछौँ। जसको कोही छैन, त्यसको गाउँपालिका छ भनेर सन्देश दिने हाम्रो प्रयास रहनेछ।’ 

पालिकाका प्रत्येक योजनामा जनतालाई जोड्ने, जनताको आवश्यकता र चाहना बमोजिम विकास गर्ने, भ्रष्टाचारलाई निर्मूल गर्ने लगायत आफूहरूको योजना रहेको अध्यक्ष विश्वकर्मा बताउँछन्। ‘पहिले जनताको आवश्यकता अनुरूप योजना नल्याई जनप्रतिनिधिको आवश्यकता अनुरूप योजना ल्याउने प्रवृत्ति हुँदा विकास हुन नसकेको हो,’ उनले भने। 

सिँचाइ र बजार

अध्यक्ष विकका अनुसार, अहिले गाउँपालिकामा गोलभेडा, भिन्डी, कांक्रा, बोडी र सिमीजस्ता तरकारी उत्पादन हुने गरेका छन्। गाउँपालिकामा कृषि उत्पादन राम्रै भए पनि सिँचाइ र बजारको छ। 

‘चौकुने जंगलै जंगलले घेरेको गाउँँपालिका भएकाले यहाँ कृषि क्षेत्रमा प्रोत्साहन, व्यवस्थापन र बजारीकरण हुन सकेको छैन,’ उनी भन्छन्, ‘अब कृषि गर्न चाहने किसानलाई प्रोत्साहन गर्न विभिन्न तालिम, उन्नत जातका बीउबिजन र विषादीको व्यवस्था गर्नेछौँ। कृषकले उत्पादित वस्तुको बजार नपाए गाउँपालिका स्वयंले खरिद गर्ने कार्यको थालनी गर्ने योजना छ।’ 

बहुविवाह र बालविवाह

अध्यक्ष विकका अनुसार, यस पालिकामा बहुविवाह र बालविवाहको समस्या छ। ‘बालविवाह र बहुविवाहका कारण यहाँका धेरै बालबालिका टुहुरा तथा असहाय हुन पुगेका छन्,’ उनी भन्छन्, ‘बहुविवाहका कारण बालबालिकाले आमाबुवाबाट स्याहार नपाउँदा उनीहरूलाई हजुरबा–हजुरआमा, काकाकाकी लगायत पाल्नुपर्ने अवस्था छ।’ 

पालिकाभित्र जाँडरक्सी सेवनका कारण घरेलुहिंसा हुने गरेको पनि उनको भनाइ छ। ‘जाँडरक्सीलाई पूर्ण रूपमा निर्मूल गर्न नसके पनि यसको सेवनमा केही मापदण्ड ल्याउनुपर्नेछ। निश्चित समय खानुपर्ने, निश्चित ठाउँबाट बिक्री–वितरण गर्नुपर्नेजस्ता मापदण्ड राख्ने योजना बनाएका छाँै,’ अध्यक्ष विक भन्छन्, ‘महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले शिक्षामा पहुँच आवश्यक छ। योसँगै उनीहरूको आयआर्जन बढाउन विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने सोच बनाएका छौँ।’
 

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्