Kathmandu Press

‘खानेपानीको समस्या भयो भन्दै एउटी आमा मसँग अँगालो हालेर रुनुभयो’ 

‘सीपमूलक तालिमकै माध्यमबाट महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ,’ उनले भनिन्, ‘सीप सिकेपछि स्रोत–साधन उपलब्ध गराउने हो भने महिलाले घरमै बसेर आयआर्जनका काम गर्न सक्छन् ।’ 
‘खानेपानीको समस्या भयो भन्दै एउटी आमा मसँग अँगालो हालेर रुनुभयो’ 

काठमाडौं, जेठ १८ : तनहुँको भानु नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेसबाट उमा गोतामे निर्वाचित भएकी छन् । उमाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको थियो । गाउँमा माओवादीको हालीमुहाली भएका बेला उनले कांग्रेसको झन्डा समाइन्, अर्थात् कक्षा ७ मा पढ्दादेखि उनले नेवि संघको सदस्यता लिइन्। 

उनले पढ्ने विद्यालयमा भने उनका साथीहरू माओवादी पार्टीका समर्थक थिए । ‘गाउँमा चन्द्रबहादुर सार्की कांग्रेस कार्यकर्ता हुनुहुन्थ्यो, नाताले उहाँ मेरो हजुरबुवा पर्नुहुन्थ्यो । उहाँबाट प्रेरणा पाएरै राजनीतिप्रति मेरो रुचि बढ्दै गयो,’ ३५ वर्षीया नवनिर्वाचित उपप्रमुख गोतामे भन्छिन्, ‘मेरो घरका सदस्य पनि कांग्रेस पार्टीप्रति आस्था राख्नुहुन्थ्यो । त्यसैले मलाई सानैदेखि कांग्रेसको झन्डा बोकेर हिँड्न मन पथ्र्यो । कुनै द्वन्द्वविना स्वतन्त्र रूपमा काम गरेकाले मलाई माओवादीभन्दा कांग्रेस पृथक् लागेको हो ।’

उमाको विवाह भानु नगरपालिका– ६ का राजु गोतामेसँग भयो, ०५८ सालमा । विवाहपछि नै उनको राजनीतिक यात्राले तीव्रता पाएको हो । ‘विवाहपछि गाउँका आमा समूह, कृषि समूहमा रहेर काम गरेकी थिएँ, त्यही समयमा समाज र समाजको समस्याका बारेमा जान्ने–बुझ्ने मौका पाएँ,’ नवनिर्वाचित उपप्रमुख गोतामे भन्छिन्, ‘राजनीतिक यात्रा अगाडि बढाउनुपर्छ भनेर ०७४ अगाडि नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा अग्रसर भएँ ।’ 

Hardik ivf

अघिल्लो स्थानीय निर्वाचनमा उमाले कांग्रेसका तर्फबाट भानुनगरपालिका– ६ को दलित सदस्यका लागि उम्मेदवारी दिएकी थिइन्, जसमा सबैभन्दा बढी मत ल्याएर उनी निर्वाचित भइन् । वडा सदस्यको भूमिकामा रहँदा उनले वडावासीसँगै आफ्नो पालिकाकै समस्या र प्रणालीका बारेमा जान्नेबुझ्ने अवसर पाइन् । यसका लागि उनले केही मेहनत भने गर्नुपरेको थियो । ‘महिलालाई पुरुषलाई जति सहज हुँदैन । पार्टी वा पालिकाको काममा निस्कनुअघि घरधन्दा, बालबच्चाको लालनपालनमा ध्यान दिनुपर्छ,’ उमा भन्छिन्, ‘त्यसैले राजनीतिमा अगाडि बढ्नका लागि महिलालाई परिवार तथा समाजको साथ र सहयोग चाहिन्छ । रुचि भएर पनि पितृसत्तात्मक समाजका कारण अधिकांश महिलाले राजनीतिमा लाग्न पाउँदैनन् । मलाई भने राजनीतिमा आउन परिवार र समाजबाट सहयोग भइरहेको छ ।’ 

वडा सदस्य हुँदा समाजका विभिन्न संस्थामा रहेर राम्रो काम गरेकाले आफूलाई पार्टीले उपप्रमुखको टिकट दिएको उनी बताउँछिन् । ‘जनताको सेवक बनेर काम गर्न मन थियो,’ उनी भन्छिन्, ‘अहिले यो अवसर पाएकी छु ।’

‘सडक, खानेपानी र महिला सशक्तीकरणमा जोड दिन्छु’

अहिले भानु नगरपालिकामा सबैभन्दा बढी खानेपानी र बाटोको समस्या छ । चुनावी प्रचारका क्रममा नगरपालिकाका धेरैजसो स्थानमा पानीको अभाव रहेको उनले पाइन् । ‘चुनावी प्रचारका क्रममा खानेपानीको समस्या भयो भन्दै एउटी आमा मसँग अँगालो हालेर रुनुभएको थियो,’ उनी भन्छिन्, ‘बाटोहरू पनि सबै स्थानमा खाल्डाखुल्डी छन् ।’ 

उपप्रमुख गोतामेका अनुुसार, नगरपालिकाको प्रमुख कृषि उपजमा धान पर्छ । यहाँका कृषकले धान बेच्ने गर्छन् । त्यस्तै, विभिन्न किसिमका तरकारी पनि उत्पादन हुने गरेका छन् । कृषि उत्पादन राम्रै हुने गरे पनि यहाँका कृषकले बजारीकरणको मार सहनुपरेको छ । ‘धेरै किसानको माग बजार व्यवस्थापनको छ । अहिले युवा बेरोजगारी पनि नगरपालिकाको प्रमुख समस्या हो,’ उपप्रमुख गोतामे भन्छिन्, ‘सबैभन्दा पहिले खानेपानी र सडकको समस्यालाई प्रमुख एजेन्डा बनाएर काम गर्नुपर्छ । नगरपालिकाभित्र शिक्षा र स्वास्थ्यसँगै अन्य थुप्रै क्षेत्रमा काम गर्नुपर्नेछ । जनताका प्रमुख समस्यालाई नै प्राथमिकतामा राख्दै अगाडि बढ्नेछौँ ।’

महिलाको सशक्तीकरणका लागि विभिन्न किसिमका सीपमूलक तालिम ल्याउने योजना रहेको उनले बताइन् । ‘सीपमूलक तालिमकै माध्यमबाट महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ,’ उनले भनिन्, ‘सीप सिकेपछि स्रोत–साधन उपलब्ध गराउने हो भने महिलाले घरमै बसेर आयआर्जनका काम गर्न सक्छन् ।’ 
 

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्