Kathmandu Press

बजेटका केही मिठा नारा : नदी किनाराका गरा सधैँ हराभरा, खेतदेखि कारखाना...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्यासका पाइप जोड्ने सपना देखाएका थिए। उनको यस भाषणमाथि व्यापक व्यंग्य पनि भएको थियो। त्यसकै जवाफ जस्तो लाग्छ यो नारा। यस नाराभित्र कम्तीमा जलस्रोतको धनी देशमा बिजुलीको उपयोगको सपना छ। 
बजेटका केही मिठा नारा : नदी किनाराका गरा सधैँ हराभरा, खेतदेखि कारखाना...
Hardik ivfHardik ivf

काठमाडौं, जेठ १६ : आइतबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट वक्तव्य प्रस्तुत गरे। 

४३० बुँदा र ४१ पृष्ठमा समेटिएको अनुुसूची सहितको बजेट वक्तव्यमा अनुमानित खर्च बेहोर्न राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड र बाँकी ४ खर्ब ९८ अर्ब २६ करोड वैदेशिक ऋणबाट जुटाइने अपेक्षा गरिएको छ। 

यसपालिको बजेट वक्तव्यमा केही निकै आकर्षक नारा रहेका छन्। विशेषतः अधिकांश नारा कृषिसँग सम्बन्धित छन्। एउटा नारा छ– नदी किनाराका गरा, सधैँ हराभरा। 

यस नाराले नदी किनाराका गरा भनेर स्पष्ट रूपमा खालि ‘गरा’लाई संकेत गरेको छ। जबकि देशमा नदी किनाराका फाँट अनगिन्ती घर र घडेरीमा टुक्रिसकेका छन्। कृषिबाट लाभ लिन यो नारा निकै आकर्षक छ, अहिले बाँकी रहेका गरामाथि कार्यान्वयन हुने हो भने। 

अर्को नारा छ– एलपी ग्यास छोडौँ, बिजुली जोडौँ। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्यासका पाइप जोड्ने सपना देखाएका थिए। उनको यस भाषणमाथि व्यापक व्यंग्य पनि भएको थियो। त्यसकै जवाफ जस्तो लाग्छ यो नारा। यस नाराभित्र कम्तीमा जलस्रोतको धनी देशमा बिजुलीको उपयोगको सपना छ। 

बजेट वक्तव्यमा सबैभन्दा आकर्षक नारा त यो लाग्छ : ‘एक घरपरिवार एक रोजगार, एक बस्ती एक आर्थिक पहिचान, एक वडा एक बजार।’ कल्पना गर्नुस्, कम्तीमा यही एउटा नारा साकार भइदिए समाज कस्तो होला ?

यसपालिको बजेट वक्तव्यमा केही निकै आकर्षक नारा तथा कार्यक्रम छन्। प्रस्तुत छ, बजेटमा उल्लिखित केही मिठा नारा : 

१. आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशितातर्फ 

यो नारा बजेट वक्तव्यको बुँदा १ मा उल्लेख छ। जसमा भनिएको छ– प्रस्तुत बजेटलाई ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशितातर्फ’को प्रस्थान बजेटका रूपमा प्रस्तुत गरेको छु।

२. स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि : समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि

बजेटको ध्येयका रूपमा यस नारालाई बुँदा १६ मा समेटिएको छ। उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दियो आर्थिक वृद्धि हासिल गर्ने लगायत ५ वटा उद्देश्य यस अन्तर्गत समेटिएका छन्। 

३. कृषि क्षेत्रको रूपान्तरण र रोजगारी वृद्धि : निरपेक्ष गरिबीको अन्त्य र आर्थिक समृद्धि 

यो नारालाई बजेटका मुख्य क्षेत्रगत कार्यक्रम र बजेट विनियोजनको शीर्षकको रूपमा दिइएको छ। 

४. आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष। आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम
यी दुई नारा अभियानका रूपमा बजेट वक्तव्यको बुँदा २७ मा उल्लेख छ। यस अभियान अन्तर्गत आन्तरिक उत्पादन बढाउन ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ सञ्चालन गरिने भनिएको छ।

५. किसानसँग सरकार 

बजेट वक्तव्यको बुँदा ३५ मा किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न ‘किसानसँग सरकार कार्यक्रम’ अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु गर्न किसान हित कोष स्थापना गरिने उल्लेख छ। 

६. उत्पादनमा वृद्धि : मुलुकको विकास र समृद्धि 

बुँदा ४९ मा ‘उत्पादनमा वृद्धि ः मुलुकको विकास र समृद्धि’ दशक सञ्चालन गरिने उल्लेख छ। 

७. एक स्थानीय तह, एक विशिष्ट उत्पादन 

बुँदा ६४ मा प्रत्येक स्थानीय तहमा उत्पादन हुने औद्योगिक उत्पादनको सम्भावना रहेका विशिष्ट उत्पादनहरूको पहिचान गरी उत्पादकत्व र बजारीकरणमा सहयोग पु¥याउन ‘एक स्थानीय तह एक विशिष्ट उत्पादनको अवधारणा कार्यान्वयन गरिने उल्लेख छ। 

८. खेतदेखि कारखाना

कृषि, वन तथा खानीजन्य कच्चा पदार्थलाई समावेश गरी औद्योगिक प्रशोधन शृंखलामा खेतदेखि कारखाना एकीकृत नमुना कार्यक्रम कार्यान्वयन गरिने बुँदा ७६ मा उल्लेख छ। 

९. सहकारीको मन्त्र : आत्मनिर्भर अर्थतन्त्र

बुँदा ११२ मा भनिएको छ– ‘सहकारीको मन्त्र : आत्मनिर्भर अर्थतन्त्र’ भन्ने नारालाई सार्थक बनाई सहकारी क्षेत्रलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रूपमा परिचालन गरिनेछ। 

१०. जनताको रहर : हरित सहर

बुँदा १२० मा ‘जनताको रहर ः हरित सहर’ अभियान अन्तर्गत देशका सहरहरूलाई हरियाली बनाउन १० हजार बहु–वर्षीय बिरुवा रोपिने उल्लेख छ। 

११. शिक्षासँगै सीप 

बजेटको बुँदा १५८ मा ‘शिक्षासँगै सीप’ अभियानका साथ मावि तहमा अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख छ।

१२. हाम्रो विद्यालय : हाम्रो जिम्मेवारी

बुँदा १६४ मा ‘हाम्रो विद्यालय : हाम्रो जिम्मेवारी’ भन्ने भावना जागृत गर्न शिक्षक व्यवस्थापन समिति र अभिभावकबीच नियमित अन्तरसंवाद गर्ने व्यवस्था मिलाइने उल्लेख छ।  

१३. प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार : समृद्धिको आधार 

बजेटको बुँदा १६८ मा ‘प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार : समृद्धिको आधार’ हाल सञ्चालनमा रहेका प्राविधिक शिक्षालयको नक्सांकन तथा समायोजन गरी पहुँच विस्तार गरिने उल्लेख छ। 

१४. राज्यको अभिभारा : एक घर एक धारा 

खानेपानी तथा सरसफाइ शीर्षक अन्तर्गत बुँदा १७५ मा, राज्यको अभिभारा ः एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गरिने उल्लेख छ। 

१५. महिला पहिला

बजेट वक्तत्यको बुँदा २०४ मा, ‘महिला पहिला’ कार्यक्रम अन्तर्गत महिलाको नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता तथा क्षमता अभिवृद्धि र महिला सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीय तहमार्फत केही कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

१६. नेपालीको सपना : परिवर्तनकारी पूर्वाधार योजना

गुणस्तरीय पूर्वाधार विकासका लागि यो नारा लिएको छ। जसमा राष्ट्रिय र अन्तरप्रदेश लोकमार्ग लगायत रणनीतिक प्रकृतिका ठूला आयोजनामा लगानी वृद्धि गर्ने उल्लेख छ। 

१७. चार भञ्ज्याङ चार सुरुङ मार्ग

बजेट वक्तव्यको बुँदा २३० मा, काठमाडौं उपत्यकाका बाँकी तीन भञ्ज्याङतर्फ टोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। 

१८. एलपी ग्यास छोडौँ, बिजुली जोडौँ 

बजेट वक्तव्यको बुँदा २५२ मा, खाना पकाउने इन्धनका रूपमा प्रयोग हुने दाउरा, गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युतीय चुलो, सुधारिएको चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक प्रवद्र्धन गरी करिब एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पु¥याइने उल्लेख छ। 

१९. नदी किनाराका गरा, सधैँ हराभरा

नदी छेउछाउका कृषियोग्य भूमिमा लिफ्ट सिँचाइका माध्यमबाट थप ६०० हेक्टर जमिन सिँचाइ सेवा पु¥याउन बुँदा २६८ मा यो नारा लिइएको छ। 

२०. साइबर सुरक्षाको सुनिश्चितता : २१औँ शताब्दीको आवश्यकता

बजेट वक्तव्यको बुँदा २७८ मा राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको कार्य अगाडि बढाउन यो अवधारणगत रूपमा यो नारा लिइएको छ। 

२१. एक घरपरिवार एक रोजगार, एक वस्ती एक आर्थिक पहिचान, एक वडा एक बजार 

बजेट वक्तव्यको बुँदा ३०० मा यो अवधारणगत रूपमा यो नारा लिइएको छ। यस कार्यक्रमबाट आगामी आर्थिक वर्षमा एक लाख नयाँ उद्योग व्यवसाय थपिने लक्ष्य राखिएको छ। 

२२. एक परिवार एक बिमा 

बजेट वक्तव्यको बुँदा ३२७ मा यो अवधारणालाई साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 
यी नारा सुन्दा आकर्षक लाग्छन्। सम्भवै नभएका त होइनन्, तर सरकारको विगतको काम–कारबाही हेरी असम्भव लाग्छन्। आशा गरौँ, कम्तीमा यी नारा तथा कार्यक्रमको सुरुवात होस्। 

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्