‘पार्टीको काममा हिँड्दा कहिलेकाहीँ रातविरात हुन्छ, समाजले अनेक कुरा काट्न भ्याउँछन्’
प्रेस युनियनमा आबद्ध हुनुअघि उनी पत्रकारितामा सक्रिय थिइन् । माइतीमा छँदै ०६७ सालदेखि तीन वर्ष लक्ष्मी रेडियो सनशेर एफएममा कार्यक्रम सञ्चालिका रहिन्।
काठमाडौं, जेठ १६ : डोटीको आदर्श गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसबाट लक्ष्मी धामी निर्वाचित भएकी छन्। पत्रकारिता हुँदै राजनीतिमा आएकी नवनिर्वाचित उपाध्यक्ष धामीलाई हामीले टेलिफोनमार्फत सोध्यौँ– कुन कुन विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना छ ?
‘मुख्यतः शिक्षा, स्वास्थ्य खानेपानी र सडकको समस्यामा केन्द्रित रहनुपर्छ। यीमध्ये पनि यहाँको सबैभन्दा ठूलो समस्या हो, खानेपानी। खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको बजेटले भ्याउँदैन,’ नवनिर्वाचित धामीले भनिन्, ‘यसका लागि प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गर्नुपर्छ। खानेपानीसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गर्ने योजना छ।’
अबको आफ्नो कार्यकालमा सुशासन कायम राखी जनताको सुखदुःखमा आधारित कार्यक्रम ल्याउने उनले बताइन्।
‘हिंसापीडित महिलाको उत्थानका लागि उम्मेदवारी दिएँ’
धामीका अनुसार, आदर्श गाउँपालिका एकदमै दुर्गम तथा विकट क्षेत्रमा पर्छ। अहिले पनि यस क्षेत्रका महिला एक वडाबाट अर्काे वडामा एक्लै जान डराउँछन्। नयाँ मानिससँग बोल्न हिचकिचाउँछन्। ‘घरका मानिसले के भन्लान्, समाजका दिदीबहिनीले के सोच्लान् भनेर यहाँका महिला पछि परेका छन्। उनीहरु हिंसा सहेरै बस्न बाध्य छन्,’ २९ वर्षीया लक्ष्मी भन्छिन्, ‘हिंसापीडित महिलाको उत्थानका लागि हामीजस्ता जानेबुझेका महिला नै राजनीतिमा आउनुपर्छ। यही सोचले म राजनीतिमा आएकी हुँ।’
ग्रामीण भेगका महिलाको सशक्तीकरणका लागि ‘महिलासँग उपप्रमुख कार्यक्रम’ ल्याई सीप विकासको तालिम दिने उनको योजना छ। ‘सीपमूलक तालिम दिइँदा पनि कुन टोलका महिलालाई कस्तो तालिम दिँदा उपयुक्त हुन्छ, सर्वप्रथम यसबारे बुझ्नेछौँ,’ लक्ष्मी भन्छिन्, ‘महिलाको अवस्था र क्षमता अनुसार तालिम दिन सक्यौँ भने त्यसको छिटै प्रभाव पर्नेछ।’
घर–परिवारको साथ
राजनीतिमा आउन आफूलाई माइतीदेखि घर–परिवारबाट सम्पूर्ण सहयोग रहेको लक्ष्मी बताउँछिन्। लक्ष्मीको जन्म बैतडी, साबिकको डिलासैनी गाविस–६ मा भएको हो। २०७० वैशाखमा डोटीको आदर्श गाउँपालिका– ५ का रमेशबहादुर रोकायासँग लक्ष्मीको विवाह भयो। उनका ससुराबुवा नेपाली कांग्रेसबाट २०५४ मा गाविस अध्यक्ष भएका थिए।
विवाहपछि पनि लक्ष्मीले अध्ययनलाई निरन्तरता दिइन् र स्वास्थ्य विषय लिएर स्नातक गरिन्। पढाइसँगै २०७१ सालदेखि पे्रस युनियन डोटीमा आबद्ध भएकी लक्ष्मी २०७४ मा प्र्रेस युनियन डोटी शाखाको उपाध्यक्षमा निर्वाचित भइन्। गत मंसिरमा भएको अधिवेशनमा उनी खुला महिलातर्फबाट प्रदेश प्रतिनिधि बनेकी थिइन्।
प्रेस युनियनमा आबद्ध हुनुअघि उनी पत्रकारितामा सक्रिय थिइन्। माइतीमा छँदै ०६७ सालदेखि तीन वर्ष लक्ष्मी रेडियो सनशेर एफएममा कार्यक्रम सञ्चालिका रहिन्।
उपाध्यक्षमा उठ्नका लागि लक्ष्मीले गत पुस–माघदेखि नै तयारी थालेकी थिइन्। राजनीतिक रुपमा सक्रिय र सक्षम भएकैले आफूलाई पार्टीले टिकट दिएको उनी बताउँछिन्। यद्यपि सुदूरपश्चिममा राजनीति गर्न महिलालाई सहज छैन। ‘विकट पहाडी भेग भएकाले कहिलेकाहीँ राजनीतिक संगठनको काम वा प्रचार–प्रचारमा जाँदा रातविरात हुने गर्छ। यस्तो अवस्थामा समाजका मानिसले अनेक कुरा काट्न भ्याउँछन्,’ लक्ष्मी भन्छिन्, ‘यस्तै नकारात्मक टीकाटिप्पणी हुने हुँदा पनि यहाँका महिलाहरू राजनीतिमा आउन रुचि देखाउँदैनन्। तर, मेरो परिवार राजनीतिक पृष्ठभूमिको भएकाले मलाई राजनीतिमा लाग्न कुनै समस्या छैन। घरमा सबैको साथ र सहयोग भएकाले यो स्थानसम्म आइपुग्न सफल भएँ।’
कृषि र पत्रकारिता तालिमको योजना
लक्ष्मीका अनुसार, आदर्श गाउँपालिको प्रमुख कृषि हरियो सागपात, आलु हो। यहाँका बासिन्दाले भने बजारको सडेगलेका तरकारीको प्रयोग गर्दै आइरहेका छन्। ‘अब यहाँका कृषकलाई तरकारी लगाउन प्रोत्साहित गर्नेछौँ,’ लक्ष्मी भन्छिन्, ‘यसका लागि कृषकलाई विभिन्न किसिमका कृषि तालिमको व्यवस्था गर्ने सोचमा छौँ।’
त्यस्तै, पत्रकारिताले समाज परिवर्तनमा भूमिका खेल्ने उनी बताउँछिन्। ‘म पनि पत्रकारिताबाटै राजनीतिमा आएकी हुँ। मलाई यसको महत्व थाहा छ। त्यसैले पत्रकारितामा रुचि राख्ने पालिकाभित्रका युवालाई पत्रकारितासम्बन्धी तालिम दिने हाम्रो योजना छ,’ उनले भनिन्।











-(86)-1764936079.jpg)
