Kathmandu Press

‘भोलिका महिलाको भविष्य सुनिश्चित गर्न आजका महिलाले दुःख गर्न आवश्यक छ’

१० वर्ष पत्रकारिता क्षेत्रमा रहँदा बाजुरावासीका समस्यालाई लिएर लेख्दै र बोल्दै आएँ। यहाँ गरिबी, अशिक्षा, रोग र भोक व्याप्त छ। शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकतामा राखी काम गर्ने र युवालाई उत्पादनमूलक काममा प्रोत्साहन गर्ने योजना छ।
‘भोलिका महिलाको भविष्य सुनिश्चित गर्न आजका महिलाले दुःख गर्न आवश्यक छ’

काठमाडाैं, जेठ १४ : बाजुराको बडीमालिका नगरपालिकाको उपप्रमुख पदमा यसपालि नेकपा एमालेबाट नन्दा थापा निर्वाचित भएकी छन्। पत्रकारिताबाट राजनीतिमा आएकी थापा यसअघि नेपाल पत्रकार महासंघ बाजुरा शाखा सचिव, प्रेस चौतारी नेपाल बाजुराको अध्यक्ष थिइन्।

नन्दाको जन्म नेकपा एमालेमा आस्था राख्ने परिवारमा भएको हो। २०५४ को स्थानीय निर्वाचनमा उनका बुवाले एमालेबाट साबिकको मार्तडी गाविसमा वडाध्यक्षका लागि उम्मेदवारी दिएका थिए, तर पराजित भए। साबिकका मार्तडी, जुगाडा र बुडीगंगा गाविसलाई समेटेर २०७१ मंसिरमा बडिमालिका नगरपालिका घोषणा भएको हो, जो बाजुराकै जेठो नगरपालिका हो।

कक्षा ९ पढ्दा अनेरास्ववियुको सदस्यता लिएकी नन्दा सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्दै छन्। कक्षा १२ पढ्दै गर्दा (०६९ मा) उनले रेडियो बाजुराबाट पत्रकारिता सुरु गरेकी थिइन्। त्यसयता उनले राजधानी दैनिक र दृष्टि साप्ताहिक लगायत सञ्चारमाध्यममा काम गरिन्। २०७३ मा नेपाल पत्रकार महासंघ बाजुरा शाखाको कोषाध्यक्ष र ०७७ मा सचिव भइन्। रेडियो पत्रकारिता गर्दागर्दै प्रेस चौतारी नेपालको जिल्ला साधारण सदस्य बनेकी नन्दा ०७८ मा प्रेस चौतारी जिल्ला अध्यक्षमा निर्वाचित भएकी थिइन्।

Hardik ivf

भविष्यका महिलाका लागि...

१० वर्ष पत्रकारिता क्षेत्रमा रहँदा बाजुरावासीका समस्यालाई लिएर लेख्दै र बोल्दै आएको नवनिर्वाचित उपप्रमुख थापा बताउँछिन्। ‘प्रेस चौतारीले सिफारिस गरेपछि यसपालि उपप्रमुखका लागि टिकट पाएँ। महिलालाई राजनीतिमा मात्र नभई समाजका अन्य क्षेत्रमा लाग्न सहज अवस्था छैन,’ उनी भन्छिन्, ‘हरेक क्षेत्रमा चुनौती छ भनेर पछि हट्नु हुँदैन। भोलिका महिलाको भविष्य सुनिश्चित गर्नका लागि आजका महिलाले दुःख गर्न आवश्यक छ। महिलाले घरधन्दाका साथै बाहिरी जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले हरेक क्षेत्रमा चुनौती सिर्जना हुन्छ।’

राजनीतिमा सक्रिय महिलालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने हुँदा विविध चुनौतीको सामना गर्नुपरेको उनको भनाइ छ।

‘वर्तमानभन्दा भविष्यलाई उज्ज्वल बनाउने हो भने हरेक चुनौतीको सामना गर्नुपर्ने हुन्छ,’ ३२ वर्षीया नन्दा भन्छिन्, ‘लामो समयदेखि पत्रकारितामा सक्रिय हुँदै आएकाले म एक्कासि राजनीतिमा आउँछु भनेर धेरैले जानकारी पाउनुभएको थिएन, यसरी एक्कासि राजनीतिमा आउँदा र उपप्रमुखका लागि टिकट पाउँदा धेरै महिला सहकर्मी, जसले पार्टीलाई लामो समय योगदान दिनुभएको छ, उहाँहरू अलिकति असन्तुष्ट हुनुभएको थियो।’ आगामी दिनमा पार्टीका अग्रज महिला व्यक्तित्वसँग सहकार्य गर्दै र उनीहरूको अनुभव र सरसल्लाह बमोजिम अगाडि बढ्ने नन्दाको योजना छ।

गरिबी, अशिक्षा, रोग र भोक...

नन्दाका अनुसार, बाजुरा देशभरि गरिबीको सूचकांकमा पहिलो स्थानमा पर्छ। यहाँ गरिबी, अशिक्षा, रोग र भोक व्याप्त छ। अहिले पनि यस नगरपालिकामा मात्र नभई बाजुराभरि नै स्वास्थ्य उपचारको राम्रो सेवा छैन।

‘नगरपालिकाभित्र तीनवटा स्वास्थ्य चौकी, एक जिल्ला अस्पताल र नगरपालिकाका नौवटै वडामा आधारभूत स्वास्थ्य एकाइ रहेका छन्, तर तीमध्ये तीन–चारवटा मात्र सञ्चालनमा छन्। सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थामा कतिपय बिरामी पुग्न एक दिन लाग्छ,’ नन्दा भन्छिन्, ‘जिल्ला अस्पतालमा पनि सामान्य रोगको मात्रै उपचार हुन्छ। अन्य जटिल प्रकारका रोगको जाँच हुन्छ तर उपचार हुँदैन। अहिले थुप्रै दीर्घरोगी आर्थिक समस्याले गर्दा घरमै रोग पालेर बस्नुपरेको अवस्था छ।’

नन्दाका अनुसार, गाउँगाउँमा बालबालिकाका लागि इसिडी कक्षा सञ्चालन गरिएका छन्, तर इसिडी कक्षा लिनका लागि तीन–चार वर्षका बालबालिका बिहानै ७ बजे हिँडेर १० बजे बल्ल विद्यालय पुग्ने गर्छन्। ‘त्यसैले शिक्षा, स्वास्थ्य, खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर र युवालाई उत्पादनमूलक काममा प्रोत्साहन गर्ने योजना छ,’ नन्दाले भनिन्।

कृषिको कुरा गर्दा, नगरपालिकाको प्रमुख कृषि उत्पादन यही हो भन्न नसकिने उनी बताउँछिन्। ‘एउटै व्यक्तिले बाख्रा पाल्ने, गोरु पाल्ने र परम्परागत खेती गर्ने गर्छन्। त्यसमाथि अकासेपानीको भर पर्नुपर्छ, उपलब्धि शून्य छ,’ नन्दा भन्छिन्, ‘आगामी दिनमा किसानले रोजेअनुरूप एक व्यक्ति एक व्यवसायको व्यवस्था गरेर कृषिलाई प्रवद्र्धन गर्ने योजनामा छौँ। दलित र गैरदलित सबै वर्गको हितमा रहेर विकास निर्माण गर्न आवश्यक छ।’

नन्दाका अनुसार अहिले बडीमालिका नगरपालिकामा महिलाको अवस्था निकै नाजुक छ। छाउपडी प्रथा, बालविवाह जस्ता कुप्रथा कायमै छन्।

‘छाउगोठ भत्काइयो, यसरी गोठ भत्काइँदा महिला झन् पीडामा परे, उनीहरू ओढार तथा खेतमा सुत्नुप¥यो। गोठहरू त भत्काइयो, मानसिक रूपमा चेतना परिवर्तन हुन सकेन,’ नन्दा भन्छिन्, ‘समाजमा अहिले पनि छाउपडी प्रथा र बालविवाहले जरो गाडेर बसेको हो। छाउपडी प्रथा, बालविवाह आदिको न्यूनीकरणका लागि समाजमा रहेका हरेक व्यक्तिको चेतना अभिवृद्धि गर्न आवश्यक छ, अनि मात्र यस्ता कुरीति हटाउन सकिनेछ।’

अर्कोतर्फ यहाँ जाँडरक्सीको सेवन गरी घरेलुहिंसा हुने गर्छ। ‘महिला आर्थिक रूपमा सबल हुन नसकेकै कारण हिंसा सहेर बस्नुपरेको हो,’ नन्दा भन्छिन्, ‘महिलाको जीविकोपार्जनका विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्नेछौँ। समाजमा मेलमिलापका लागि नगरभित्र जाँडरक्सीलाई नियन्त्रण गर्नेछौँ।’

 

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्