Kathmandu Press

‘तेले लेकमा दुई सय प्रजातिका जडीबुटी पाइन्छन्, ती जडिबुटीको प्रवर्द्धन गर्ने योजना छ’

‘निर्वाचित भइसकेपछि पनि वडाहरूमा गएर सबैभन्दा पहिले वडावासीको पहिलो आवश्यकताका बारेमा सोधपुछ गर्‍याैँ। उहाँहरूको इच्छाअनुरूप नै कार्ययोजना बनाई विकास निर्माणको काम गर्ने वाचा गरेका छौँ,’ त्यही अनुरूप अगाडि बढ्नेछौँ।’ 
‘तेले लेकमा दुई सय प्रजातिका जडीबुटी पाइन्छन्, ती जडिबुटीको प्रवर्द्धन गर्ने योजना छ’

काठमाडाैं,  जेठ ११ : डोटीको शिखर नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट सुनिता रावल निर्वाचित भएकी छन्। यस पालिकामा प्रमुख, उपप्रमुखसहित सातवटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

सुनिता पत्रकारिता हुँदै राजनीतिमा आएकी हुन्। पत्रकारिताका माध्यमबाट उनी केही वर्ष समाज परिवर्तन र आवाजविहीनको आवाज बनिन्। अहिले नगरवासीको हकहितका लागि राजनीतिमा आएको उनी बताउँछिन्।

‘पत्रकारितामार्फत समाजका ज्वलन्त मुद्दा उठाएँ, तर समाजका दीनदुःखी, पीडित वर्गको समस्या सम्बोधन भएन,’ ३३ वर्षीया नवनिर्वाचित उपप्रमुख रावल भन्छिन्, ‘आफूले बोलेर लेखेर मात्रै नहुँदोरहेछ, समाज र जनताको सेवाका लागि निर्णायक तहमा जानुपर्छ। यसका लागि म सक्षम छु र जनताको हकहितमा काम गर्न सक्छु भनेरै राजनीतिमा होमिएकी हुँ।’ 

Hardik ivf

उनका अनुसार, नगरपालिकाका धेरै गाउँ दूरदरारमा छन्, जहाँका महिला चुलोचौकोमै सीमित छन्। ‘नगरभित्र दुई–चारजना नेतृत्व गर्ने महिला नभएका होइनन्, तर समग्र हेर्ने हो भने नगरका महिलाको अवस्था नाजुक छ,’ उनी भन्छिन्, ‘महिला लगायतलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने योजना छ।’

राजनीतिक कारण जागिर खोसियो

नेपाल पत्रकार महासंघको डोटी शाखा उपाध्यक्षमा दुई कार्यकाल रहेकी सुनिताले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा पनि काम गर्थिन्। डोटीको दिपायलबाट प्रवीणता तहसम्मको शिक्षा पूरा गरेकी सुनिताले अहिले कैलाली मन्टिपल क्याम्पस धनगढीबाट पत्रकारिता विषयमा स्नातक गर्दै छन्।  

सुनिता रावलको राजनीतिक यात्रा भने त्यति लामो छैन। उनका बुवा पहिले गाविस उपाध्यक्ष भएका थिए। बुवा राजनीतिमा भएकाले समाज सेवाप्रति उनको सानैबाट रुचि थियो, पत्रकारितामा लागेकाले राजनीतिमा सक्रिय हुने अवसर उनले पाएकी थिइनन्। तर पत्रकारिता गर्दागर्दै उनी लगायत तीनजना राजनीतिक खिचातानीको चपेटामा परे।   

०६६ मा सुनिता रावल,  प्रकाश बम र चक्र कुँवर लोकसेवा प्रक्रियाबाट करार सेवाअन्तर्गत ‘रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायल’मा कार्यरत थिए। ०७६ मा तत्कालीन सरकारले यी तीनैजनालाई विनाकारण जागिरबाट हटायो। त्यसपछि उनले २६ महिनाजति बेरोजगार बस्नुपर्‍याे । 

पत्रकार महासंघ डोटी शाखा उपाध्यक्ष सुनिता, महासचिव प्रकाश र सदस्य चक्रको पुनर्बहालीका लागि महासंघले सिहंदरबारस्थित रेडियो नेपालको भवनअघि धर्ना समेत दिएको थियो। श्रम अदालतमा मुद्दा हालेर आफूहरुको पुनर्बहाली भएको उनी बताउँछिन्।

‘जागिर खोसिएपछि मैले खोजीनिती गरेँ, थाहा भयो कि हाम्रो परिवार कांग्रेस पार्टीमा आबद्ध भएका कारण जागिर खोसिएको रहेछ,’ सुनिता भन्छिन्, ‘यस घटनाले मलाई प्रतिबद्ध भई कांग्रेसमा लाग्न प्रेरित गर्‍याे । २०७६ मा कांग्रेस पार्टीको सदस्यता लिएर सक्रिय रूपमा लागेँ। कहिलेसम्म जनताका समस्याका बारेमा बोल्ने वा लेख्ने ? निर्णायक तहसम्म पुग्न सके महिला तथा उत्पीडित समुदायका लागि काम गर्न सकिन्छ। यही उद्देश्यले शिखर नगरपालिकाको उपप्रमुखका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएँ।’ 

उपप्रमुखको टिकट पाउनका लागि सोचे अनुरूपको सहज वातावरण नरहेको उनी बताउँछिन्। ‘लामो समय पत्रकारिता पेसामा आबद्ध रहेर काम गरिरहँदा समाजको समस्यासँग अवगत छु। सक्षमता र योग्यताका आधारमा टिकट दिइनुपर्छ भनेँ, अनि पार्टीले टिकट दियो,’ सुनिता भन्छिन्, ‘महिलालाई हरेक क्षेत्रमा गाह्रो हुने गरेको छ। पत्रकारिता गर्दा पनि गाह्रो थियो, व्यापार व्यवसाय गर्न पनि सहज वातावरण हुँदैन। सुदूरपश्चिमजस्तो विकट स्थानमा महिला एकदमै पछि परेका छन्। उनीहरूलाई राजनीतिमा आउनका लागि परिवार, समाजले अनुमति दिँदैन। धेरै महिलाले राजनीतिमा लाग्नका लागि आँटै गर्दैनन्।’

‘शिक्षा, स्वास्थ्य, सडक र कृषिमा जोड दिन्छौँ’

शिखर नगरपालिका २८५.३९ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ। यहाँको लेकबेसीमा सडक पुगेको छैन। खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ र पुलको समस्या छ। 

अघिल्लो सरकारले केही काम सम्पन्न गरेको छ भने धेरै काम महामारीका कारण अधुरा छन्। अधुरा कामलाई पूर्णता दिने र शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता मुख्य एजेन्डामा रहेर काम गर्ने उनी बताउँछिन्। ‘निर्वाचित भइसकेपछि पनि वडाहरूमा गएर सबैभन्दा पहिले वडावासीको पहिलो आवश्यकताका बारेमा सोधपुछ गर्‍याैँ। उहाँहरूको इच्छाअनुरूप नै कार्ययोजना बनाई विकास निर्माणको काम गर्ने वाचा गरेका छौँ,’ त्यही अनुरूप अगाडि बढ्नेछौँ।’ 

सुनिताका अनुसार, यहाँ प्राविधिक विद्यालयको अभाव छ। बालबालिकाले प्राविधिक शिक्षा पढ्नका लागि तराई अथवा काठमाडौं जानुपर्छ। ‘अहिले पालिकाभित्र प्लसटुसम्मको पढाइ हुन्छ। नगरपालिकाभित्र कृषिमा राम्रो उत्पादन हुने भएकाले कृषि, पशु र स्वास्थ्यसम्बन्धी प्राविधिक विषय राख्न सके यहाँका युवाले नगरभित्रै शिक्षा आर्जन गरेर यहीँ काम गर्ने वातावरण सिर्जना हुनेछ।’ 

स्वास्थ्य सेवाका लागि अघिल्लो स्थानीय सरकारले नगरभित्र १५ शय्याको हस्पिटल सुचारु गरेको तर पूर्ण रूपमा बनिनसकेको छैन। यसलाई बढाएर ५० शय्याको बनाउने योजना रहेको उनको भनाइ छ। ‘अहिले नगरपालिकामा हाडजोर्नी र महिलासम्बन्धी डाक्टरको अभाव छ,’ उनी भन्छिन्, ‘त्यसैले हस्पिटलसँगै हाडजोर्नी र महिला रोग विशेषज्ञको व्यवस्था गर्ने योजना छ।’

‘जडीबुटीको प्रवर्द्धन गर्छौं’

सुनिताका अनुसार, यस नगरपालिकाको बेसीतर्फ धान, गहुँ, तोरी उत्पादन हुने उर्वर माटो छ। उत्तरतर्फ लेकाली भेग छ, जहाँ कोदो, मकै लगायत उत्पादन हुन्छ। ‘माटोको विशेषता हेरेर पकेट क्षेत्र निर्धारण गर्न सकिन्छ,’ सुनिता भन्छिन्, ‘यहाँ लेकाली भेगमा तेले लेक रहेको छ, जहाँ दुई सय प्रजातिका जडीबुटी पाइने अनुसन्धानले देखाएको छ। ती जडिबुटीको प्रवर्द्धन गर्ने योजना छ।’ 

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्