Kathmandu Press

लाजिम्पाटमा १० वर्षीया बालिका बलात्कृत, पीडितका बाबु भन्छन्– डेढ महिना बित्यो न्याय पाइनँ

अपराधीका बारेमा प्रहरीसँग सोधपुछ गर्दा प्रहरीले उल्टै आफूलाई धम्क्याउने गरेको केदारको भनाइ छ। ‘(अपराधी)कहाँ छ देखाऊ, हामी समातेर ल्याउँछौं भन्नुहुन्छ, मैले देखेकाँ भए आफैँ समातिहाल्थे नि,’ केदारले भने।
लाजिम्पाटमा १० वर्षीया बालिका बलात्कृत, पीडितका बाबु भन्छन्– डेढ महिना बित्यो न्याय पाइनँ

काठमाडौं, जेठ ९ : सोमबार मध्याह्न १२ बजे, ३८ वर्षीय केदार मैनाली हस्याङफस्याङ गर्दै लाजिम्पाटस्थित काठमाडौं प्रेसको कार्यालय आइपुगे। उनले सुरुमै भने, ‘मैले न्याय पाइनँ, सहयोग गरिदिनुपर्‍याे।’ 

आफ्नी १० वर्षीया छोरी एक महिनाअघि (वैशाख १ मा) बलात्कृत भएको र प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म न्याय नपाएको उनको गुनासो थियो। 

भक्तपुरको सल्लाघारी स्थायी घर भएका केदार तीन छोराछोरीसहित काठमाडौंको लाजिम्पाटस्थित भानुमार्गमा डेरा लिएर बस्दै आएका छन्। गएको पुसमा उनकी श्रीमतीको निधन भयो। परिवार धान्न मैनालीले हाल लाजिम्पाटकै एक किराना पसलमा ग्यास र पानीको जार बोक्ने काम गर्छन्। 

केदारका अनुसार, उनको डेरा नजिकैको घरका घरधनीले भारतको गुजरात घर बताउने अन्दाजी ४५ वर्षको धर्मेन्द्र साहलाई घरायसी काममा राखेका थिए। डेरामा आफू नभएका बेला धर्मेन्द्रले आफ्नी १० वर्षीया छोरीलाई बलात्कार गरेको केदारको भनाइ छ।

पीडित बालिकाकी बाबु केदार मैनाली

केदारका अनुसार, धर्मेन्द्रको डेरा बुंगलगल्लीमा छ। काममा आउँदा–जाँदा धर्मेन्द्रसँग केदारको पनि चिनजान भएको थियो। ‘नजिकैको घरमा काम सकेर डेरा जान्थ्यो, भेट्दा सँगै चिया खान्थ्यौँ,’ केदार भन्छन्, ‘मेरी श्रीमतीले पनि उसलाई चिन्थिन्। मेरा छोराछोरीले पनि चिन्छन्। छोरी सरहकी बच्चीलाई त्यतिसम्म गर्ला भनेर अन्दाज पनि लगाउन सकिनँ।’ 

घटनाको सात दिनपछि...

घटनाको एक हप्तापछि (वैशाख ७ गते) छोरी बिरामी पर्न थालेको केदार बताउँछन्। ‘छोरी टोलाउन थालेपछि सोधपुछ गर्दा वास्तविकता थाहा पाएँ,’ उनले भने।

उनका अनुसार, सोधपुछकै क्रममा पीडित बालिकाले त्यसअघि पनि धर्मेन्द्रबाट आफू पटकपटक बलात्कृत भएको बताएकी थिइन्। छोरी बलात्कृत भएको थाहा पाएपछि वैशाख ८ गते केदारले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा धर्मेन्द्रविरुद्ध किटानी जाहेरी दिएका थिए। 

‘धर्मेन्द्रले बलात्कारपछि बालिकालाई डरधम्की देखाएको र कसैलाई भनिस् भने मारिदिन्छु’ भनेको जाहेरीमा उल्लेख छ। पीडित बालिकाका बाबु प्रहरीमा पुगेपछि धर्मेन्द्र फरार छन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पीडित पक्षले दिएकाे किटानी जाहेरी

पीडित बालिकालाई प्रहरीकै समन्वयमा महाराजगन्जस्थित कुमुदिनी होमले संरक्षण दिएको छ। संस्थाकी कर्मचारी कर्मा शाक्यका अनुसार, बालिकाको शारीरिक स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ। ‘मानसिक रूपमा भने उनी अत्यन्तै विक्षिप्त अवस्थामा छन्,’ शाक्य भन्छिन्, ‘बालिकालाई मनोपरामर्श दिइरहेका छौँ। न्यायका लागि प्रहरीसँग समन्वय भइरहेको छ।’ 

महिना दिन बित्दा भेटिएनन् आरोपी 

‘अपराधीलाई खोज्न प्रहरीले खासै चासो नदेखाएको’ केदार बताउँछन्। ‘अपराधी पत्ता लाग्यो कि भनेर दिनहुँ प्रहरी कार्यालय पुग्छु, तर उहाँ (प्रहरी)हरू सधैँ अनुसन्धानमै छौं भन्नुहुन्छ,’ केदार भन्छन्, ‘एक महिना बितिसक्दा पनि प्रहरीले अपराधीको सुइँको पाएको छैन। मेरी छोरीले न्याय पाउँदिनन् भन्ने पीर लागेको छ।’ 

अपराधीका बारेमा प्रहरीसँग सोधपुछ गर्दा प्रहरीले उल्टै आफूलाई धम्क्याउने गरेको केदारको भनाइ छ। ‘(अपराधी)कहाँ छ देखाऊ, हामी समातेर ल्याउँछौं भन्नुहुन्छ, मैले देखेकाँ भए आफैँ समातिहाल्थे नि,’ केदारले भने।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। ‘पीडित पक्षबाट उजुरी आउन ढिला भएका कारण आरोपीलाई उम्कन सहज भयो,’ उनले भने, ‘घटनाको अनुसन्धानका लागि पीडकका आफन्तसँग सोधपुछ भइरहेको छ। जघन्य अपराध भएका कारण प्रहरीले सबै खुलाउन मिल्दैन। अपराधीको खोजीमा हामी निरन्तर लागिरहेका छौं।’ 

आरोपित धर्मेन्द्र भारत भागिसकेको अवस्थामा प्रहरीले कसरी खोज्छ भन्ने प्रश्नमा प्रहरी नायब उपरीक्षक विष्टले भने, ‘हामीले भारतीय दूतावासमार्फत समन्वय गर्ने तयारी गरिरहेका छौँ। भारत भागिसकेको भए पनि इन्टरपोलमार्फत नेपाल ल्याउन सकिन्छ, त्यसबारे पनि तयारी भइरहेको छ।’ 
 

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्