देउसीभैलो गीतमा संघीयताको झल्को
काठमाडौं, कात्तिक १० : सातै प्रदेशका मुख्यमन्त्रीको नाम के हो? प्रदेशको राजधानीको नाम के हो? जिल्ला र क्षेत्र कति छन् भन्ने प्रश्न गर्दा शंखमुलस्थित अ....
काठमाडौं, कात्तिक १० : सातै प्रदेशका मुख्यमन्त्रीको नाम के हो? प्रदेशको राजधानीको नाम के हो? जिल्ला र क्षेत्र कति छन् भन्ने प्रश्न गर्दा शंखमुलस्थित अर्वेनेस इन्टरनेसनल एकेडेमीका विद्यार्थीे सजिलै उत्तर दिन्छन्।
यतिमात्रै हैन, सातवटै प्रदेशको राजधानी, जिल्ला क्षेत्रबारे पनि उनीहरू जानकार छन्। विद्यार्थीले यी सबै कुरा घोकेका भने हैनन्। उनीहरू रमाइलो मान्दै सुनेको, गाएको र नाचेको गीतका भरमा कण्ठस्थ भएका हुन्।
संघियतासम्बन्धी सात वटै प्रदेश र त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा जानकारी दिने देउसीभैलो गीत सार्वजनीक भइसकेपछि अहिले धेरै जसो विद्यालयमा यो बज्न थालेछ। यो देउसी भैलोको समय भएकाले पनि विभिन्न विद्यालयका विद्यार्थी यही गीतमा देउसीभैलो खेलिरहेका छन्।
काठमाडौंको शंखमुलस्थित अवेर्नेस इन्टरनेसनल एकेडेमीले विद्यार्थीको सिकाइलाई मध्यनजर गर्दै गत वर्षको तिहारमा यो गीत सार्वजनिक गरेको हो।
पूर्वको प्रदेश, एक नम्बर
प्रदेश केन्द्र, बिराटनगर
चौध जिल्ला, अठाइस क्षेत्र
शेरधन राइ, मुख्यमन्त्री
पर्यटक तान्छ, सगरमाथा
राइ र लिम्बु, मुल जाति।
यती हरफले पनि प्रदेश १ बोर जानकारी सजिलै थाहा पाउन सकिन्छ। यस्तै सात वटै प्रदेशको जानकारी देउसीभैलो गीतमा भएकाले याद गर्न सहज भएको विद्यार्थी बताउँछन्।
नयाँ नेपाल बनाउने परिवेशं
पुर्नरसंरचना भो हाम्रो देश
देश संघियतामा गइसकेपछि सबै विषयमा परिवर्तन भएका छन्। राजनीति, भौगोलिक अवस्था, आर्थिक तथा समाजिक परिवेश बदलिएका छन्। यि सबै जानकारी गराउन देउसीभैलो गीत लेखेका हुन्, शिक्षक विमल घिमिरेले। ‘पाठ्पुस्तकमा भएको कुराभन्दा देशभरका अन्य बाह्य ज्ञान लिन पनि उत्तिकै आवश्यक छ। यस्तै सामाजीक, राजनीतिक कुरा सिक्न सहज होस भनेर गीत लेखेको हुँ,’ घिमिरे भन्छन्।
यस अघि उनले ह्रस्व र दीर्घसम्बन्धी गीत लेखेका थिए। ‘ह्रस्व र दीर्घ गीतपछि विद्यार्थीलाई पनि सिक्न सजिलो भयो। अन्य विद्यालय, साथीभाइको प्रतिक्रिया पनि राम्रै आयो। यसैको परिणाममा हामीले यो देउसीभैलो गीत ल्याएका हौँ,’ उनी भन्छन्।
गाउँपालिका चार सय साठी
नगरपालिका दुई सय छ्याहत्तर
उपमहानगर एघार
महानगर ६ मात्रै
स्थानीय तह सात, पाँच, तिन
सतहत्तर प्रदेश छन् जिल्ला सात
संघियता गणतन्त्र मुख्य हात।
गीतको यो हरफ मात्रै सुनेर ध्यानमा राख्न सक्यो भने विद्यार्थीलाई मात्र हैन, अरुलाई सहज हुने शिक्षक घिमिरे बताउछन्। घिमिरेसँगै शिक्षक खगेश्वर गिरी र कृष्णप्रसाद गैरे मिलेर यो गीत तयार गरेका हुन्।
देउसीभैलोकै लयमा गाइएको यो गीत म्यूजिक नेपालको यूट्यूब च्यानलमा रुचाइएको छ। थुप्र्रले मन पराएका छन्। चेतनाथ कर्णेलले कमेन्ट गरेका छन्, ‘गज्जबको उपहार मेचीदेखि कालीसम्म, हिमालदेखि तराईसम्म, राजनीतिदेखि अर्थनीतिसम्म, प्रकृतिदेखि संस्कृतिसम्म प्रदेश १ देखि ७ सम्मकै चर्चाले भरिपूर्ण तिहार त एउटा निहुँमात्र, शैक्षिक उन्नयनको अभीष्टले परिपूर्ण नयाँ नेपालका लागि एउटा गज्जबको उपहार बनेको छ यो संघीय नेपाल देउसी–भैलो गीत, एआईएले लगाएको छ राष्ट्रियतासँग नेपाल–भावित प्रीत।’
अर्को कमेन्ट रोशनी थापाको छ। उनले लेखेकी छन्, ‘धेरैधेरै धन्यबाद विद्यालय परिवारलाई। आँखा खोलिदिने मन्दिरबाट देशको परिस्थितिलाई समेट्दै संयोजन र संकलन शब्दमा हार्दिक धन्यबाद दिन चाहन्छु। अब आगामी दिनमा पनि यस्तै रमाईला प्रस्तुतिहरु समेट्दै जानू, यहि कामना।’