Kathmandu Press

‘बाटो, बिजुली, शिक्षा, स्वास्थ्यको व्यवस्थादेखि जंगली बँदेलबाट खेतीलाई जोगाउनुपर्नेछ’

वडा ६ र ७ भौगोलिक आधारमा विकट छ । त्यहाँ गर्भवती महिलाका लागि बर्थिङ सेन्टरको अभाव छ । त्यसैले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् जस्ता पक्षलाई प्राथमिकतामा राखेर विकास निर्माण गर्ने योजनामा छु ।
‘बाटो, बिजुली, शिक्षा, स्वास्थ्यको व्यवस्थादेखि जंगली बँदेलबाट खेतीलाई जोगाउनुपर्नेछ’

काठमाडाैं जेठ, ९ : दैलेखको भैरवी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट रीताकुमारी शाही निर्वाचित भइन् । ४७ वर्षीया शाही विद्यार्थी संगठन हुँदै राजनीतिमा आएकी हुन् । स्थानीय हिमालय उच्च माविमा कक्षा ७ मा पढ्दा उनले नेवि संघको सदस्यता लिएकी थिइन् ।

रीताको बाल्यकाल भने त्यति सुखद रहेन । उनी तीन वर्षकी हुँदा उनकी आमाको निधन भयो, त्यसको केही वर्षपछि उनका बुवाले पनि संसार छाडे । त्यसपछि उनको लालनपालन ठूलाबुवा र ठूलीआमाले गरे । उनका ठूलाबुवा पञ्चायतकालमा नेपाली कांग्रेसबाट प्रधानपञ्च भएका थिए । कांग्रेस पार्टीप्रति आस्था राख्ने परिवारमा हुर्केकाले रीताले विद्यार्थी जीवनमा कांग्रेस रोजेकी थिइन् ।

२०४७ देखि कांग्रेस पार्टीको सदस्यता लिएकी रीता कांग्रेसको १२औँ अधिवेशनमा महासमिति सदस्य र १४औँ अधिवेशनको जिल्ला उपसभापति भइन् । यही राजनीतिक पृष्ठभूमिका कारण यसपालि पार्टीले भैरवी गाउँपालिकाको अध्यक्षका लागि टिकट दिएको उनी बताउँछिन् ।

Hardik ivf

२०५१ सालमा उनको विवाह बखतबहादुर शाहीसँग भयो । बखत पेसाले स्वास्थ्यकर्मी हुन् । रीताले विवाहपश्चात् पनि प्रवीणता तहसम्म पढ्ने मौका पाइन् । श्रीमान् र परिवारको साथ र सहयोगले नै आज पालिकाको अध्यक्ष बन्न सफल भएको उनी बताउँछिन् । ‘महिलाहरु राजनीतिमा आउनका लागि सबैभन्दा पहिले परिवार र समाजले स्विकार्नुपर्छ । राजनीतिमा आइसकेपछि पनि महिलाको सही मूल्यांकन हुनुपर्छ,’ नवनिर्वाचित अध्यक्ष शाही भन्छिन्, ‘महिला कमजोर हुन्छन्, निर्णय गर्ने तहमा पुगे भने केही गर्न सक्दैनन् भन्ने समाजको गलत बुझाइले गर्दा अहिले धेरै महिलालाई राजनीतिमा लाग्न असहज भएको हो ।’

‘महिलाहिंसा न्यूनीकरणदेखि विकास निर्माणमा जोड दिन्छु’

नवनिर्वाचित शाहीका अनुसार, अहिले भैरवी पालिकामा मुख्यतः खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सेवाकै समस्या छ । ‘पालिकाभित्र एउटा पनि उच्च मावि छैन । भएका विद्यालय पनि गाउँदेखि टाढा छन् । विद्यालयसम्म जानका लागि बालबालिकालाई बाटोको समस्या छ,’ शाही भन्छिन्, ‘अहिले पालिकाभित्र धेरै विवाहित महिला उच्च मावि नहुँदा थप पढ्न पाएका छैनन् । पालिकाभित्र उच्च शिक्षा खुले घरधन्दा गरेर पढ्न जान सकिन्छ, धेरैको चाहना उच्च शिक्षा पढ्नेछ ।’

अहिले पालिकाभित्र केही स्थानमा मात्रै विद्युत् पुगेको छ । घरघरमा खानेपानीका धारा पुग्न सकेका छैनन् । यिनै समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने उनको योजना छ ।  

महिला र दलितको उत्थानका लागि गर्नुपर्ने थुप्रै काम रहेको उनी बताउँछिन् । ‘दलितका लागि शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्नेछ । अहिले यहाँका महिला हिंसामा छन् । पालिकाभित्र महिला सचेतना केन्द्र रहेको छ, जुन अलपत्र अवस्थामा छ । त्यसको स्तरोन्नति गर्ने र महिलालाई परामर्श सेवा दिने केन्द्र स्थापना गर्ने योजना छ,’ उनी भन्छिन्, ‘समस्या लिएर आएका महिलासँग परामर्श गर्ने र उनीहरूको समस्या समाधानमा विशेष ध्यान दिन सकियो भने महिलाहिंसा केही हदसम्म कम गर्न सकिनेछ ।’

स्वास्थ्य क्षेत्रमा पनि उस्तै समस्या छन् । वडा ६ र ७ अन्य वडाभन्दा भौगोलिक आधारमा विकट छ । ‘त्यहाँ गर्भवती महिलाका लागि बर्थिङ सेन्टरको अभाव भएकाले टाढा हिँडेर जानुपर्ने वा बोकेर लैजानुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् जस्ता पक्षलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्ने योजना छ ।’

‘जंगली बँदेलले खेती खान्छ’

शाहीका अनुसार, यस पालिकाको प्रमुख कृषि उत्पादन धान, मकै र कोदो हो । अदुवा, पिँडालु, आलु र बेसार पनि उत्पादन हुन्छ । त्यस्तै, बन्दागोभी, काउली, टमाटर जस्ता तरकारीखेती हुने गर्छ । तर यसका लागि सिँचाइको अभाव छ । कृषकलाई बीउबिजनको व्यवस्था गर्न सकिएको छैन । सिँचाइको व्यवस्थासँगै कृषकलाई बीउबिजनमा केही अनुदान दिने आफ्नो योजना रहेको शाही बताउँछिन् ।

‘अहिले पालिका र वरपरका कृषकलाई जंगली बँदेलले समस्या निम्त्याएको छ । वर्षायाममा मकै लगाएका किसानले खान पाएनन् । किसानले आलु फलाएर आफ्नो परिवारलाई वर्ष दिन पु¥याएर पनि बेच्न सक्थे, तर बँदेलले नष्ट गरिदियो,’ शाही भन्छिन्, ‘बँदेलको त्रासले अहिले धेरै किसान गहुँखेती नगर्ने सोचमा छन् । बरु भारत जानुप¥यो भन्ने कुरा पनि गरेका थिए । बँदेलको नियन्त्रण गर्ने सोच छ ।’

 

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्