Kathmandu Press

वडावासीकै आग्रहमा अघिल्लोपटक कांग्रेसबाट अध्यक्ष भएँ, यसपालि स्वतन्त्रबाट

अघिल्लोपटक कोरोना महामारीले गर्दा सोचे अनुरूप काम गर्न नपाए पनि अन्य वडाको तुलनामा आफ्नो वडामा बढी विकासका काम भएको खड्काको दाबी छ।
वडावासीकै आग्रहमा अघिल्लोपटक कांग्रेसबाट अध्यक्ष भएँ, यसपालि स्वतन्त्रबाट

काठमाडौं, जेठ ८ : डोटीको दिपायल सिलगढी नगरपालिका– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का विजयी भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित आफूलाई यसपालि पार्टीले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको खड्का बताउँछन् । 

खड्का पुर्ख्याैली कांग्रेस हुन्, २०५४ मा उनका बुवा प्रकाश खड्का नेपाली कांग्रेसबाट वडाध्यक्ष भएका थिए । आफू बुवाबाटै प्रेरित भएर राजनीतिमा आएको राजेन्द्र बताउँछन् । उनले बुवाबाट लामो समय साथ–सहयोग भने पाएनन् । उनी १७ वर्षको हुँदा उनका बुवाको असामयिक निधन हुन पुग्यो । बुवाको काजकिरियामा लाग्दा उनले एसएलसी दिन समेत पाएनन् । बुवाको निधनपछि उनको काँधमा परिवारको जिम्मेवारी थपियो, र १९ वर्षको उमेरमा उनी वैदेशिक रोजगारीका लागि कतार गए । 

दुई वर्षपछि गाउँ फर्कंदा गाउँटोलमा सामान्य पूर्वाधार पनि नभएको उनलाई महसुस भयो । साथीभाइसँग मिलेर उनले बाटोघाटो, बिजुली लगायत सुविधाका लागि सम्बन्धित निकायमा पहल गर्न थाले । विभिन्न समाजसेवाका काममा सक्रिय रहे । ‘सामाजिक कार्यमा मेरो सहभागिता देखेर तत्कालीन खतिवडा गाविसवासीले मलाई पार्टीमा लाग्न सल्लाह दिनुभयो,’ खड्का भन्छन्, ‘गाउँसमाजकै विकास लागि म २०७० देखि राजनीतिमा लागेँ, नेपाली कांग्रेसको सदस्यता लिएर ।’ 

Hardik ivf

२५ वर्षको उमेरमा आफू कांग्रेस पार्टीबाट तत्कालीन खतिवडा गाविसको गाविस सभापति बनेको उनी बताउँछन् । पछि खतिवडा गाविसका केही वडा पनि दिपायल सिलगढी नगरपालिकामा प¥यो । ०७४ को स्थानीय निर्वाचनमा खड्काले दिपायल सिलगढी– २ को अध्यक्षका लागि पार्टीबाट टिकट पाए र निर्वाचित भए । 

अघिल्लो कार्यकालमा वडावासीका सेवा–सुविधालाई प्राथमिकतामा राखेर काम गरेको उनी बताउँछन् । ‘कोरोना महामारीका बेला नगरपालिकाले गर्नुपर्ने दायित्व पनि मैले व्यक्तिगत खर्चमा पूरा गरेको छु,’ उनी भन्छन्, ‘महामारीमा भारतबाट नेपाल फर्कंदा नाकामै अलपत्र परेका ७३ वडावासीलाई दुईवटा बस पठाएर उद्धार गरेँ, क्वारेन्टाइनमा राखेँ । उनीहरुलाई खाद्यान्नको व्यवस्थासम्म गरेको थिएँ ।’ 

आफूले वडावासीसँग निकट भएर काम गरेको तर पार्टीले यसपालि टिकट नदिएको उनको गुनासो छ । पार्टीबाट टिकट नपाएपछि आफूले समाजका अग्रज व्यक्तिसँग सल्लाह गरेको उनी बताउँछन् । ‘समाजका गन्यमान्य मानिसले मलाई स्वतन्त्रबाट उठ्न सल्लाह मात्रै दिनुभएन, सहयोग गर्ने पनि बताउनुभयो,’ खड्का भन्छन्, ‘सबैको सल्लाहमा मैले स्वतन्त्रबाट उम्मेदवारी दिएँ र निर्वाचित भएँ ।’ 

वडाको समस्या 

अघिल्लोपटक कोरोना महामारीले गर्दा सोचे अनुरूप काम गर्न नपाए पनि अन्य वडाको तुलनामा आफ्नो वडामा बढी विकासका काम भएको खड्काको दाबी छ ।

अबको पाँच वर्ष स्वतन्त्र रूपमै वडाका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने उनी बताउँछन् । ‘वडाको प्रमुख समस्याका रूपमा बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य नै हो,’ उनी भन्छन्, ‘आगामी दिनमा सर्वप्रथम शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा काम गर्छु । अहिले सडक अभावले बिरामीलाई अस्पताल आवतजावत गर्न एकदमै समस्या हुने गरेको छ ।’ 
 

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्