Kathmandu Press

धादिङमा तोडियो एमाले दबदबा, १३ मध्ये ११ स्थानीय तहमा गठबन्धनको वर्चस्व 

अघिल्लो निर्वाचनमा आठ स्थानीय तहको प्रमुख र आठवटै स्थानीय तहको उपप्रमुख जितेको एमाले यसपाली २ स्थानीय तहको प्रमुखमा खुम्चिएको छ। जिल्लाका १३ मध्ये कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले एक स्थानीय तहको प्रमुख जितेको छ ।
धादिङमा तोडियो एमाले दबदबा, १३ मध्ये ११ स्थानीय तहमा गठबन्धनको वर्चस्व 

काठमाडाै, जेठ ६ : स्थानीय निर्वाचनअघि नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा धादिङका इन्चार्ज गुरूप्रसाद बुर्लाकोटीले काठमाडौं प्रेससँगको टेलिफोन वार्तामा भनेका थिए, ‘यसपटकको निर्वाचनबाट धादिङमा एमालेको दबदबा अन्त्य हुनेछ।’ 

धादिङका सबै स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको अवस्थामा बुर्लाकोटीको दाबी पुष्टि भएको छ। अघिल्लो स्थानीय निर्वाचनमा धादिङका १३ स्थानीय तहमध्ये ८ स्थानीय तहको प्रमुख र उपप्रमुख एमालेले जितेको थियो, यसपटक ६ स्थानीय तह गुमाएर दुई प्रमुखमा खुम्चिन पुगेको छ।

अघिल्लोपटक कांग्रेसले तीन स्थानीय तहको प्रमुख र उपप्रमुख पाएको थियो भने माओवादी केन्द्र एक प्रमुख र एक उपप्रमुख पदमा निर्वाचित भएको थियो। एमालेलाई सत्ताच्युत गर्न केन्द्रमा बनेको पाँच दलीय गठबन्धनले यसपटकको स्थानीय तह निर्वाचनमा देशैभर राम्रै उपलब्धि हासिल गरेको देखिन्छ। गठबन्धनबाट सबैभन्दा बढी फाइदा कांग्रेस र माओवादीलाई पुगेको छ। 

कहाँ को निर्वाचित ?

– धुनिवेशी नगरपालिका : बालकृष्ण आचार्य, मेयर (एकीकृत समाजवादी)। सुरज उप्रेती, उपमेयर (कांग्रेस)। 

– नीलकण्ठ नगरपालिका : भीमप्रसाद ढुंगाना, मेयर (नेपाली कांग्रेस)। दीपक विश्वकर्मा, उपमेयर (माओवादी केन्द्र)।

– खनियावास गाउँपालिका : रणबहादुर तामाङ, अध्यक्ष (कांग्रेस)। सेक्केमान तामाङ, उपाध्यक्ष (माओवादी केन्द्र)।

– गजुरी गाउँपालिका : गणेशलाल श्रेष्ठ, अध्यक्ष (माओवादी केन्द्र)। शर्मिला बिसुराल, उपाध्यक्ष (कांग्रेस)। 

– गल्छी गाउँपालिका : केदारनाथ खतिवडा, अध्यक्ष (एमाले)। भाइकाजी तिवारी, उपाध्यक्ष (कांग्रेस)।

– गंगाजमुना गाउँपालिका : भक्तबहादुर लामा, अध्यक्ष (कांग्रेस)। रामेश्वर सिंखडा, उपाध्यक्ष (माओवादी केन्द्र)।

– ज्वालामुखी गाउँपालिका : यामनाथ दनै, अध्यक्ष (कांग्रेस)। धर्म अर्याल, उपाध्यक्ष (एकीकृत समाजवादी)।

– थाक्रे गाउँपालिका : रामकुमार आचार्य, अध्यक्ष (एमाले)। यन्त्र बहादुर थापा (माओवादी केन्द्र)। 

– नेत्रावती डबजोङ गाउँपालिका : मेघनाथ रिजाल, अध्यक्ष (कांग्रेस)। सीतामाया गुरुङ, उपाध्यक्ष (कांग्रेस)।

– बेनिघाट रोराङ गाउँपालिका : कृष्णबहादुर थपलिया, अध्यक्ष (माओवादी केन्द्र)। टापबहादुर श्रेष्ठ, उपाध्यक्ष (एकीकृत समाजवादी)।

– रुवीभ्याली गाउँपालिका : रामसिंह तामाङ, अध्यक्ष (माओवादी केन्द्र)। फे लामा तामाङ, उपाध्यक्ष (कांग्रेस)।

– सिद्धलेक गाउँपालिका : परशुराम खतिवडा, अध्यक्ष (कांग्रेस)। सविता अर्याल, उपाध्यक्ष ( एकीकृत समाजवादी)। 

– त्रिपुरासुन्दरी गाउँपालिका : राजु उप्रेती, अध्यक्ष (कांग्रेस)। देवराज धरेल, उपाध्यक्ष (माओवादी केन्द्र)।

जिल्लामा कांग्रेस पहिलो दल 

अघिल्लो स्थानीय निर्वाचनमा धादिङका नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र खनियावास गाउँपालिकामा मात्रै कांग्रेसले प्रमुख पद जितेको थियो। यसपटक अघिल्लोपटक जितेको स्थानलाई निरन्तरता दिँदै कांग्रेसले थप चार स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसरी यसपटक सात स्थानीय तहको प्रमुखमा निर्वाचित हुँदै कांग्रेसले धादिङमा आफूलाई पहिलो दलका रूपमा स्थापित गरेको छ। 
अघिल्लोपटक चुनाव जितेका स्थानीय तहसहित यसपटक कांग्रेसले गजुरी, गंगाजमुना, नेत्रावती, सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिका एमालेबाट खोसेर आफ्नो पक्षमा ल्याएको छ। त्यस्तै, यसपटक कांग्रेस पाँच उपप्रमुख पदमा पनि निर्वाचित भएको छ। 

माओवादी केन्द्रलाई राहत 

पहिलो संविधानसभा निर्वाचनमा देशभरसहित धादिङमा पनि तत्कालीन माओवादीले वर्चस्व कायम गरेको थियो। दोस्रो संविधानसभा निर्वाचनसँगै तत्कालीन माओवादी धादिङमा खुम्चिन पुग्यो। यसपालि गठबन्धन गरेरै भए पनि स्थानीय तह निर्वाचनको परिणामसँगै माओवादीले टाउको उठाउन खोजेको छ। ०७४ को स्थानीय निर्वाचनमा जिल्लाका १३ स्थानीय तहमध्ये बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्ष र नीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा माओवादी निर्वाचित भएको थियो।

यसपटक नेकपा माओवादी केन्द्रले तीन स्थानीय तहको नेतृत्व लिँदै पाँच पालिकामा उपप्रमुख पद जितेको छ। अघिल्लोपटक जितेको बेनिघाट रोराङ गाउँपालिकामा पुनः विजयी हुँदै माओवादी केन्द्रले यसपटक गजुरी र रुवीभ्यालीको नेतृत्व आफ्नो पक्षमा पारेको छ।
यसपालि खनियाबास, नीलकण्ठ, गंगाजमुना, थाक्रे र त्रिपुरासुन्दरीको उपप्रमुख पनि माओवादीले नै जितेको छ। 

एमालेले कहाँ गुमायो ? 

अघिल्लो स्थानीय निर्वाचनबाट धादिङमा एमालेले वर्चस्व कायम गरेको थियो। अघिल्लो निर्वाचनबाट जितेको स्थानीय तहमध्ये धुनीवेशी, गंगाजमुना, गजुरी, त्रिपुरासुन्दरी, थाक्रे, नेत्रावती र सिद्धलेक यसपटक एमालेले गुमाएको छ। धुनीवेशी, गंगाजमुना, गजुरी, गल्छी, त्रिपुरासुन्दरी, थाक्रे, सिद्धलेक र ज्वालामुखीको उपप्रमुख समेत एमालेबाट खोसिएको छ। 

पाँच दलीय गठबन्धनको बाग्मती प्रदेश संयन्त्रले धादिङमा वडा तहसम्म तालमेल गर्ने निर्णय गरेको थियो। सो निर्णय युद्धस्तरमा कार्यान्वयन नभइदिँदा वडामा भने एमालेले सन्तोषजनक नतिजा ल्याएको छ। जिल्लाका १०४ वडामध्ये कांग्रेसले सबैभन्दा धेरै (३६ वडा)मा जित हासिल गरेको छ। माओवादी केन्द्र ३२ वडामा निर्वाचित हुँदा  एमाले २१ वडामा खुम्चिएको छ। यसरी जिल्लामा एमालेले तेस्रो दलका रूपमा उभिएको छ।

एकीकृत समाजवादीले ६ वडामा जित हासिल गर्दा ४ वडामा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन्। जिल्लाभर चार वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।


एकीकृत समाजवादी र गठबन्धन कारक 

धादिङमा एमालेले अघिल्लो वर्चस्व गुमाउनुमा एकीकृत समाजवादीको महत्वपूर्ण भूमिका रहेको जानकार बताउँछन्। समाजवादीले एमालेको मत काटेको धेरैको आकलन छ। कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी भन्छन्, ‘अहिलेको नतिजा आउनु गठबन्धन दलबीचको तालमेललाई प्रमुख कारक मान्नुपर्छ। योसँगै पार्टीको आन्तरिक तयारीका कारण पनि जिल्लामा कांग्रेस पहिलो पार्टी बनेको हो।’ 

उनका अनुसार, अघिल्लो निर्वाचनमा धेरै स्थानीय तहमा पराजित भएपछि पाँच वर्षको अवधिमा जिल्लामा कांग्रेसले संगठन विस्तारलाई तीव्रता दिएको थियो, जसकारण कांग्रेस यहाँसम्म आइपुगेको हो। 

नेकपा माओवादी केन्द्रका धादिङ संयोजक मनराज भण्डारी भने सबै स्थानमा निर्वाचित हुने गरी गठबन्धन दलमध्ये कांग्रेस इमानदार हुन नसकेको बताउँछन्। ‘सबै स्थानीय तहमा गठबन्धनका उम्मेदवार विजयी हुन सक्थे, तर कांग्रेसले इमानदारिता नदेखाएकै कारण शतप्रतिशत परिणाम ल्याउन सकेनौं,’ संयोजक भण्डारी भन्छन्, ‘ग्राउन्ड लेभलमा गठबन्धनलाई त्यति रुचाइएको देखिएन। तर गठबन्धनकै कारण एमाले पराजित भएको भने सत्य हो।’

एमाले विभाजनपछि धादिङका प्रभावशाली नेताहरु एकीकृत समाजवादीमा लागेका थिए। स्थानीय तह निर्वाचनमा त्यसको सोझो असर एमालेलाई परेको छ। एमालेलाई पराजित गर्ने मात्रै होइन, एकीकृत समाजवादीले जिल्लामा आफ्नो राजनीतिक विरासतको जग समेत बसाएको छ। पार्टी दर्ता भएको वर्ष दिन नपुग्दै धादिङको धुनीवेशी नगरपालिका प्रमुख तथा ज्वालामुखी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकामा उपाध्यक्ष जितेर एकीकृत समाजवादीले एमाले बराबरको हैसियत बनाएको छ। 

एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गुरूप्रसाद बुर्लाकोटी पनि धादिङमा गठबन्धन दलहरु पूर्ण रूपमा इमानदार हुन नसकेको बताउँछन्। गठबन्धनको प्रदेश संयन्त्रले टुंगो लगाएको भागबन्डाअनुसार गंगाजमुनाको उपाध्यक्ष एकीकृत समाजवादीले पाउनुपर्ने भए पनि माओवादीले उम्मेदवारी दिएकामा उनको गुनासो छ। ‘तैपनि जिल्लाभरको नतिजा हेर्दा अहिले सन्तोष मान्नुपर्ने अवस्थामा छौं,’ बुर्लाकोटी भन्छन्, ‘पार्टी गठन भएको नौ महिना नपुग्दै यति परिणाम आउनुलाई सकारात्मक रूपमा लिएर पार्टीलाई थप सुदृढ र बलियो बनाउनतिर लाग्छौं।’

एमालेविरुद्ध सबै दल लागे : गोर्खाली 

नेकपा एमाले धादिङका सचिव अर्जुन गोर्खाली धादिङमा एमालेले जनमत नगुमाएको दाबी गर्छन्। ‘भएभरका सबै दल एमालेविरुद्ध लागेकाले मात्रै यस्तो परिणाम आएको हो,’ उनी भन्छन्, ‘०७४ मा एमालेले पाएको जनमत एमालेसँगै छ, पाँच वर्षको अवधिमा एमालेको पक्षमा अझै जनमत थपिएको छ।’
सबै दल मिल्दा पनि एमालेले दुई पालिकाको अध्यक्ष र २१ वडाध्यक्ष जित्नु महत्वपूर्ण रहेको उनको भनाइ छ। ‘अब संघीय निर्वाचनमा धादिङमा एमालेको शक्ति देखिनेछ,’ उनले भने। 
 

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्