Kathmandu Press

स्याङ्जा चुनावी परिणाम समीक्षा : एमालेबाट कांग्रेसले खोस्यो २ नगर, वडामा पनि कांग्रेसको वर्चस्व 

स्याङ्जामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बराबर पालिकामा जित हासिल गरेका छन् ।
स्याङ्जा चुनावी परिणाम समीक्षा : एमालेबाट कांग्रेसले खोस्यो २ नगर, वडामा पनि कांग्रेसको वर्चस्व 

काठमाडौं, जेठ ५ : स्थानीय तह निर्वाचनमा स्याङ्जामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बराबर पालिकामा जित हासिल गरेका छन् । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा प्रमुख दुई राजनीतिक दलले बराबर जित निकालेका हुन् । प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष गरी २२ पदमा दुवै पार्टीले ११–११ पद प्राप्त गरेका छन् । पाँच नगरपालिकामध्ये चार नगरप्रमुख र ५ वटै नगर उपप्रमुखमा मा कांग्रेस निर्वाचित भएको छ भने एमालेले एक नगर प्रमुख मात्र एमालेले जितेको छ । 

६ गाउँपालिकामध्ये पाँचवटा अध्यक्ष र उपाध्यक्ष पदमा एमाले निर्वाचित भएको छ भने कांग्रेसले एक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद आफ्नो पोल्टामा पार्‍यो । 

कहाँ कसले जिते ? 

Hardik ivf

– पुतलीबजार न.पा. : तुलसीराम रेग्मी, प्रमुख (कांग्रेस) । देवी अर्याल, उपप्रमुख (कांग्रेस) ।

– वालिङ न.पा. : कृष्ण खाँण, प्रमुख (एमाले) । कविता तिवारी, उपप्रमुख (कांग्रेस) । 

– भीरकोट न.पा. : गोविन्दकुमार कर्माचार्य, प्रमुख (कांग्रेस) । भगवती रेग्मी, उपप्रमुख (कांग्रेस) ।

– चापाकोट न.पा. : देव बहादुर खाँड, प्रमुख (कांग्रेस) । इशा राना, उपप्रमुख (कांग्रेस) ।

– गल्याङ न.पा. :  गुरुप्रसाद भट्टराई, प्रमुख (कांग्रेस) । हेमा न्यौपाने तिमिल्सिना, उपप्रमुख (कांग्रेस) ।

– अर्जुनचौपारी गा.पा. :  प्रकाश तिवारी, अध्यक्ष (कांग्रेस) । सपना गुरुङ, उपाध्यक्ष (कांग्रेस) ।

– फेदीखोला गा.पा. : घनश्याम सुवेदी, अध्यक्ष (एमाले) । देउकुमारी गुरुङ –उपाध्यक्ष (एमाले) ।

– आँधीखोला गा.पा. : विश्वनाथ पौडेल, अध्यक्ष (एमाले) । सीता न्यौपाने, उपाध्यक्ष (एमाले) ।

– हरिनास गा.पा. : खिमनारायण मानन्धर, अध्यक्ष (एमाले) । इन्द्रकुमारी थापा राना, उपाध्यक्ष (एमाले) । 

– बिरुवा गा.पा. : सूर्यबहादुर कुँवर, अध्यक्ष (एमाले) । भगवती शर्मा, उपाध्यक्ष (एमाले) ।

– कालीगण्डकी गा.पा. : खिमबहादुर थापा, अध्यक्ष (एमाले) । सावित्रा कोइराला, उपाध्यक्ष (एमाले) ।

२०७४ को परिणाम 

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्याङ्जाका ३ नगरपालिकामा कांग्रेसले जित हासिल गरेको थियो भने २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तहमा नेकपा एमालेले जित हासिल गरेको थियो । यस्तै, एक गाउँपालिकामा कांग्रेसले मेयर जित्दा एमालेले उपमेयर जितेको थियो । 

कहाँ खोस्यो कहाँ गुमायो 

अघिल्लोपटक कांग्रेसले २०७४ मा भीरकोट, चापाकोट र वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो भने अर्जुनचौपारी गाउँपालिकामा अध्यक्ष पद मात्र जितेको थियो । यसपटक कांग्रेसले वालिङको प्रमुख पद गुमायो भने एमालेको गढ मानिने पुतलीबजार र गल्याङ नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा निर्वाचित भयो । अघिल्लो निर्वाचनमा उपाध्यक्ष जित्न नसकेको अर्जुनचौपारी गाउँपालिकाको उपाध्यक्ष पद समेत कांग्रेसले जित्यो । 

यता, नेकपा एमालेले गाउँपालिकाहरूमा आफ्नो वर्चस्व कायम राख्दै ५ गाउँपालिकाको प्रमुख र उपप्रमुख पद जित्दा अघिल्लो निर्वाचनमा उपाध्यक्ष जितेको अर्जुनचौपारी गाउँपालिका गुमायो । यस्तै, पुतलीबजार र गल्याङ नगर गुमाएको एमालेले वालिङको प्रमुख पद मात्र कांग्रेसबाट खोस्न सफल भयो ।  

दुई नगर खोस्नु कांग्रेसका लागि उपलब्धि 

दुईवटा नगर एमालेबाट खोस्नुलाई कांग्रेसको उपलब्धि मान्न सकिन्छ । लामो समयसम्म एमालेको कब्जामा रहेका यी नगरमा कांग्रेस निर्वाचित हुनुलाई जिल्लामा एमालेको संगठन खस्कँदो स्थितिमा रहेको अनुमान गर्न सकिन्छ । अझ नगरपालिका स्थापना भएसँगै एकछत्र राज गर्दै पुतलीबजार नगरपालिकामा कांग्रेसले एमालेको गढ भत्काउँदै वडाहरूमा समेत आफ्नो वर्चस्व कायम राख्यो । 

यता, गल्याङमा पनि एमालेको गढ भत्काउन लामो समयसम्म कांग्रेसलाई हम्मे–हम्मे परेको थियो । यसपटक गल्याङमा एमालेका जिल्ला अध्यक्ष समेत रहेका सूर्यप्रसाद गैह्रे (पारस) लाई पराजित गर्दै कांग्रेसका जिल्ला सचिव समेत रहेका गुरुप्रसाद भट्टराई निर्वाचित भए । 

पुतलीबजार नगरपालिकामा एमालेबाट निवर्तमान प्रमुख समेत रहेकी सीमाकुमारी क्षेत्रीलाई पराजित गर्दै तुलसीराम रेग्मी फराकिलो (२ हजार ४ सय ४) मतान्तरसहित नगर प्रमुख बने । यसपालि २ नगर एमालेले गुमाउनुपरेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा वर्चस्व कायम राखेको एमालेले धेरै वडाध्यक्ष र सदस्य पद जोगाउन सकेन । 

पूर्वमन्त्री पद्मालाई आफ्नै जिल्लामा झट्का 

नेकपा एमालेकी सचिव समेत रहेकी पूर्वमन्त्री पद्माकुमारी अर्याललाई आफ्नै जिल्लामा झट्का लागेको छ । अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भए । जिल्ला समन्वय समितिमा जाने दाउ हेरेर लक्ष्मीपति वालिङ नगरपालिका– १ को वडा सदस्य पदमा लडेको बुझिन्छ तर चुनाव हारेसँगै उनको सपना पूरा हुन सकेन । वालिङ नगरपालिका– १ मा नेपाली कांग्रेसका उम्मेदवार पदमराज गुरुङ नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने वडा १४ मा पनि कांग्रेसको प्यानल नै निर्वाचित भयो । 

यता, माओवादी केन्द्र छाडेर अर्याल गुटबाट नेकपा एमालेको स्याङ्जा जिल्ला अध्यक्ष बनेका सूर्य प्रसाद गैह्रे (पारस) गल्याङ नगरपालिकाको प्रमुखमा चुनाव हार्नु अर्यालका लागि अर्को झट्का लाग्यो । जिल्लामा पारस अर्यालका विश्वासिला पात्र समेत मानिन्छन् । अर्यालको गृहनगर वालिङ नगरपालिकाको प्रमुखमा भने नेकपा एमाले विजयी भयो । 

कांग्रेस नेता गुरुङ र श्रेष्ठको पालिकामा कांग्रेसको जित 

यता, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र पूर्वमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठको नगरदेखि वडासम्मै कांग्रेसले जित हासिल गरेको छ । गुरुङको गृह पालिका अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष सहित ६ वटै कांग्रेसले ‘क्लिन स्विप’ गरेको हो । यस्तै श्रेष्ठको गृह नगर पुतलीबजारमा कांग्रेसले प्रमुख र उपप्रमुख सहित वडा ३ मा समेत ‘क्लिन स्विप’ गरेको हो । 

वडामा कांग्रेसको पल्लाभारी 

९७ वटा वडा रहेको स्याङ्जाका वडामा भने नेपाली कांग्रेसले चुनावी परिणाम उल्टाएको छ । गत २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ५७ वडा जित्दा कांग्रेसले ३९ वडा मात्र जितेको थियो । माओवादी केन्द्रले एक वडा जितेको थियो । यसपटक कांग्रेसले ५६ वटा वडामा विजयी हुँदा एमाले ४० वडामा सीमित रह्यो । यसपालि एउटा वडामा माओवादी केन्द्र निर्वाचित भएको छ । यस्तै वडा सदस्यहरूमा समेत कांग्रेसको वर्चस्व रहेको छ । 

कांग्रेस जिल्ला सभापतिको योगदान 

२०७४ को स्थानीय तह निर्वाचनमा आधारित भएर हेर्ने हो भने यसपटकको निर्वाचनमा कांग्रेसले आफ्नो संगठन सुधारेको देखिन्छ । यसरी स्याङ्जामा कांग्रेसको जित हुनुमा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाको योगदानलाई महत्वपूर्ण मानेका छन् । सबै जनतामाझ लोकप्रिय र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएपश्चात् निरन्तर जनताका काममा खटेका थापाले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्दा समेत जनतामाझ नै रहे । केही समय अगाडि सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट सभापतिमा विजयी भएसँगै उनले सक्रियता अझै बढाए । गाउँगाउँमा संगठन निर्माण गर्नु, आम जनताको समस्याको समाधान गर्नु र विकास निर्माणका कार्यमा गति दिलाउनु लगायत कार्यले कांग्रेसले जित सम्भव भएको जिल्लावासीको बुझाइ छ । नेकपा एमालेको गढ मानिने हालसम्म पराजय भोगेको पुतलीबजार नगरपालिका र लामो समय पराजय भोगेको गल्याङमा कांग्रेसलाई विजयी बनाउन पनि उनको रणनीति सफल भएको बताइन्छ । 

गठबन्धनकोे झिनो फाइदा कांग्रेसलाई 

स्याङ्जामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको उल्लेखनीय प्रभाव नरहे पनि केही गाउँपालिकामा गरिएको गठबन्धनको झिनो फाइदा पनि कांग्रेसलाई भएको छ । अध्यक्ष र उपाध्यक्षमा एमालेलाई पराजय गर्न नसकेता पनि धेरै वडामा कांग्रेस विजयी हुँदै कांग्रेसले झिनो फाइदा प्राप्त गरेको हो । गठबन्धनकै कारण माओवादीले पनि एक वडा अध्यक्ष जितेको छ । माओवादी केन्द्रले अध्यक्ष जितेको बिरुवा गा.पा. मा माओवादी केन्द्रसँग गठबन्धन थियो । त्यस गा.पा. मा कांग्रेसले उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको थियो । 
यता, पुतलीबजार नगरपालिकामा चुनावको अघिल्लो दिन मात्र माओवादी केन्द्रले उम्मेदवारी निष्क्रिय गरेसँगै यस नगरमा मतान्तर बढेको हुन सक्ने बताइएको छ । यसअघि पुतलीबजारमा चुनाव जित्ने आकलन गरेको भए पनि २ हजार ४ सय ४ मतले चुनाव जित्ने आकलन भने गरेको थिएन । 

११ वटै पालिकाको उपप्रमुखमा महिला 

स्याङ्जाका ११ वटै पालिकाको उपप्रमुख र उपाध्यक्ष पदमा महिला निर्वाचित भए तर प्रमुख र अध्यक्ष पदमा भने पुरुष उम्मेदवार मात्र निर्वाचित भए । त्यसो त प्रमुख पदमा नेकपा एमालेले पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमाकुमारी क्षेत्री, कालीगण्डकी गाउँपालिकामा कांग्रेसले माया राना, अर्जुनचौपारी गाउँपालिकामा एमालेले चिनमाया गुरुङ, गल्याङ नगरपालिकामा नेपाली कांग्रेस (बिपी) ले लेमकला भट्टराई र चापाकोट नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुन शाहलाई प्रमुखको उम्मेदवार बनाएको भए पनि उनीहरू पराजय भए । यता, वडाध्यक्ष पदमा भने जिल्लाभरबाट प्रतिस्पर्धामा रहेका ११ महिला उम्मेदवारमध्ये तीनजना मात्र विजयी हुँदा बाँकी ९४ वडाको अध्यक्षमा पुरुष आएका छन् । 

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्