Kathmandu Press

मतदान केन्द्र तोडफोडदेखि हवाई फायरसम्म, दिनभर कहाँ के भए ? 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ११ जिल्लाका केही मतदान केन्द्रहरुमा मतदान प्रभावित हुने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको बताए।
मतदान केन्द्र तोडफोडदेखि हवाई फायरसम्म, दिनभर कहाँ के भए ? 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार देशभर मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान छिटफुट घटनाबाहेक शान्तिपूर्ण तवरबाटै सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन्। 

मतदानको विषयमा केही स्थानमा झडपसहित मतदान केन्द्र तोडफोड समेत भएका छन्। तीमध्य अधिकांश स्थानमा झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गर्नुपरेको थियो। 

झडप र मतदान केन्द्र तोडफोड भएपछि कम्तिमा २५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएका छन्। स्थगित भएका निर्वाचन केन्द्रमा आयोगले पुनः निर्वाचन गर्नेछ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले साँझ पाँच बजेसम्म प्राप्त विवरणअनुसार देशभरका तीसभन्दा बढी जिल्लामा निर्वाचन प्रभावित हुने ११० घटना भएको जानकारी दिए। अन्तिम विवरण आउन बाँकी नै रहेको उनले बताए। 

एसएसपी केसीका अनुसार काभ्रे, सर्लाही, सप्तरी लगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएका छन्। केही जिल्लामा वर्षाका कारण पनि मतदान स्थगित गरिएका छन्।

एसएसपी केसीले देशभरका ११ जिल्लाका केही मतदान केन्द्रहरुमा मतदान प्रभावित हुने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको बताए। यहाँ केही प्रतिनिधिमुलक घटनाहरुका बारेमा उल्लेख गरिएको छ।

रौतहटको यमुनामाईमा मतपेटिका नै लुटियो 

रौतहटको यमुनामाई गाउँपालिका–१ र २ को मतदान केन्द्रबाट मतपेटिका नै लुटिएको छ। दिनभर झडप र विवादका बीच मतदान सम्पन्न भएपनि स्थानीयले मतदान सकिएपछि मतपेटिका नै लुटेर भागेका थिए। लुटिएको मतपेटिका प्रहरीले बरामद गरेपनि पानी खन्याइएको अवस्थामा भेटिएको थियो। यी दुबै स्थानमा मतदान रद्द गरिएको छ। 

तनहुँमा मेयरका उम्मेदवार नै कुटिए

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशी कुटिएका छन्। व्यास नगरपालिका– ८ को मतदान केन्द्रको निरीक्षण गर्न पुगेका जोशीमाथि मतदान केन्द्रमै कुटपिट भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ। 

रौतहटमा ५ र सर्लाहीमा ६ राउण्ड हवाई फायर 

मतदान सुचारु भएपछि रौतहटको फतुुुवा विजयपुर नगरपालिकाको शीतपुर मतदान केन्द्रमा दुइ पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गर्नुपर्यो। 

रौतहटकै गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा पनि मतदान चलिहरँदा दुई पक्षबीच झडप भएको थियो। झडपमा परी १५ जना घाइते भएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले यहाँ बल प्रयोग गर्नुपरेको थियो। 
त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका–२ को पशुसेवा मतदान स्थलमा कांग्रेस, माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणबाहिर जान नदिन त्यहाँ बाक्लो संख्यामा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनलाई तैनाथ गरिएको थियो। 

बझाङमा मतपत्र च्यातियो

बझाङको जयपृथ्वी नगरपालिका–७ को सुनिलपिपल चौर मावि मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको थियो। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरको मतदानस्थल समेत रहेको त्यहाँ केही मतपत्र च्यातिएको समेत बताइएको छ। 

दिनभर तनावग्रस्त काभ्रे

काभ्रेका पाँच मतदान केन्द्रमा शुक्रबार तनाव उत्पन्न भएको थियो। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा आक्रोशित कार्यकर्ताहरुले मतदान केन्द्र नै तोडफोड गरेका थिए। मतदानस्थल तोडफोड भएपछि त्यहाँको निर्वाचन स्थगित भएको छ। 

त्यस्तै चौरीदेउराली गाउँपालिका  र तेमाल गाउँपालिकाका मतदान केन्द्रमा पनि मतदानको समयमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको थियो। 

गोरखाको ताराखसेमा स्वयंसेविका घाइते 

गोरखाको  भीसमेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्।

त्यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले चलाएको गोली मनिषाको खुट्टामा लागेको थियो। गोरखाकै घ्याल्चोकमा पनि प्रहरीले मतदान सुरु भएलगत्तै हवाई फायर गरेको थियो। 

उदयपुरको प्रहरीले गोली चलायो 

उदयपुरको कटारी नगरपालिका–१० को जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सकिएपछि प्रहरीले गोली चलाएको छ। मतदान सकिएपछि बुथमा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन्। 

मिर्जापुरमा ४ राउण्ड हवाई फायर 

पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ। सत्ता गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो।

दार्चुलामा ५ राउण्ड हवाई फायर 

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को पशुपति भवन मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको थियो। 

दुई  दलका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरेको थियो। 


 

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्