Kathmandu Press

कसरी सुरु भयो भोटोजात्रा ?

जात्रा हेर्न आएका सबैले भन्न लागे, ‘मच्छिन्द्रनाथका जिम्मामा रहेको भोटो लिन साक्षी प्रमाण लिएर कोही आउन सकेको रहेनछ।’ त्यसैबेलादेखि जाउलाखेलमा हुने मच्छिन्द्रनाथको जात्रामा भोटो देखाउने जात्रा पनि सुरु भयो। ऊबेलादेखि अद्यापि त्यो भोटो जात्रा चलेकै छ।
कसरी सुरु भयो भोटोजात्रा ?

काठमाडौं, वैशाख २९ : ललितपुर महानगरपालिकाभित्रका किंवदन्तीको चर्चा गर्दा रातो मत्स्येन्द्रनाथको भव्य रथजात्रालाई छुटाउन मिल्दैन। नेपालमा हुने जात्रामध्ये सबैभन्दा लामो अवधिसम्म देखाइने यो रथजात्रा प्रचलित किंवदन्तीमा आधारित छ। यस रथजात्रा प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदाको दिन शुभारम्भ हुन्छ र कहिलेकाहीँ एक महिना, कहिलेकाहीँ दुई महिना त कहिलेकाहीँ तीन महिनासम्म लम्बिन सक्छ।

मत्स्येन्द्रनाथलाई जनबोलीमा मच्छिन्द्रनाथ भनिन्छ। शुद्ध रूप भने मत्स्येन्द्रनाथ हो, जसको अर्थ माछाबाट उत्पत्ति भएको देवता भन्ने हो।सत्यमोहन जोशीको पुस्तक ‘नेपाली चाडपर्व’अनुसार, मच्छिन्द्रनाथका वर्ण दुई किसिमका छन्– रातो र सेतो। रातो वर्णका मच्छिन्द्रनाथमा ललितपुरका मच्छिन्द्रनाथ र चोभारका मच्छिन्द्रनाथ (आदिनाथ लोकेश्वर) प्रसिद्ध छन्। त्यस्तै, सेतो वर्णमा काठमाडौं जनबहालका मत्स्येन्द्रनाथ (जमलेश्वर र लोकेश्वर) र नालाका मत्स्येन्द्रनाथ (पद्मपाणी लोकेश्वर) प्रसिद्ध छन्।

स्थानीय नेवाः समुदाय मत्स्येन्द्रनाथलाई ‘बुंगद्यः’ नामले पुकार्छन्। ललितपुरको बुंग अर्थात् बुङमतीमा बसोवास गर्ने देवता भएका कारण उनको नाम ‘बुंगद्यः’ रहन गएको विश्वास गरिन्छ। वसन्त ऋतु सकिई ग्रीष्मको आगमन भएपछि काठमाडौंका कृषक आ–आफ्ना खेतीपातीको व्यवस्थातर्फ लाग्छन्। मत्स्येन्द्रनाथ सम्प्रदायसित सम्बद्ध देखिए पनि उनी वर्षाका देवताका रूपमा हिन्दू एवं बौद्ध तथा अन्य सबैमा मान्य छन्। 

Hardik ivf

ललितपुरको बुङमती र तबाहलमा गरी मत्स्येन्द्रनाथका दुई विशाल मन्दिर छन्। यी देवता ललितपुरको जात्रा समाप्त भएपछि (सूर्य दक्षिणायन हुने बेला) बुङमतीमा विराजमान हुने र सूर्य उत्तरायण हुने बेला तबाहलमा विराजमान हुने चलन छ।

यस रथजात्रामा सर्वप्रथम मत्स्येन्द्रनाथको करिब चार फिट अग्लो काठको मूर्तिलाई स्नान गराइन्छ। वैशाखशुक्ल चतुर्थीका दिन सर्वप्रथम पाटनको पुल्चोकबाट गाबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेल र अन्तमा जावलाखेल ल्याइपुर्‍याएपछि यात्रा पूर्ण हुन्छ। विशेष स्थानमा पुर्‍याउन विशेष शुभमुहूर्तको खोजी हुन्छ र स्थानविशेषअनुसार रथयात्रा पूजा पनि फरक–फरक हुन्छन्। रथलाई जावलाखेलमा पुर्‍याएपछि भोटो देखाउने जात्रा हुन्छ। मत्स्येन्द्रनाथको रथजात्राबारे अनेक किंवदन्ती पाइन्छन्। 

मत्स्येन्द्रनाथलाई नेपाल ल्याउने कथा

भाषा वंशावलीको कथनअनुसार राजा नरेन्द्रदेवका पालामा सिद्ध गोरखनाथ काठमाडौं भ्रमणमा आएका थिए। त्यतिबेला उनले नगरवासीबाट सम्मान पाएनन्। त्यसैले जनतालाई चेतावनी दिन उनले उपत्यकाका सबै मुख्य नागहरूलाई मन्त्रमुग्ध गरी तिनीहरूमाथि आसन जमाएर बसे। नागहरूले आफ्नो दायित्व पूरा गर्न नपाएपछि काठमाडौंमा वर्षा भएन। करिब एक जुग यसरी खडेरीमा व्यतीत गरेपछि राजाले आफ्ना गुरु तान्त्रिक बन्धुदत्त आचार्यसँग सल्लाह गरे। 

प्रेमकुमार खत्रीको पुस्तक ‘नेपालका धार्मिक मत र सामाजिक संरचना’ अनुसार, बन्धुदत्तले कामरूप–कामाख्या (आसाम प्रान्त, भारत) गई गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल ल्याएपछि मात्र समस्या समाधान हुने सल्लाह दिए। बन्धुदत्त एक टोलीसहित त्यहाँ गई अनेक उपाय लगाएर मत्स्येन्द्रनाथलाई काठमाडौं लिएर आए। मत्स्येन्द्र काठमाडौं आएको थाहा पाई गोरखनाथ गुरुको दर्शन गर्न आसनबाट उठे। उनी उठ्नासाथ नागहरू स्वतन्त्र भए। मत्स्येन्द्रनाथको आगमनले वर्षा पनि भयो। 

भोटो जात्राको किंवदन्ती– १ 

प्रेमकुमार खत्रीको पुस्तक ‘नेपालका धार्मिक मत र सामाजिक संरचना’मा भोटो जात्रासम्बन्धी एउटा किंवदन्ती उल्लेख छ। परापूर्वकालमा एउटा किसान खेतमा काम गर्दै थियो। एउटा नाग ऊ भएको ठाउँमा आई ‘घरमा छोरो आँखा दुखी अन्धो हुन लागेकाले उपचारको खोजीमा आएको’ बतायो। परिचयपछि किसानले नागको छोराको ओखती गरिदिने वाचा गर्‍याे र पातालमा गई शरीरको मयल निकाली नागको छोराको आँखामा राखिदियो। त्यसपछि ऊ डरले हत्तपत्त घर फि¥यो। उता नागको छोरो सञ्चो भई आँखा देख्न सक्ने भयो। नागले किसानलाई फेरि भेट्यो र उपचारबापत आफ्नो बहुमूल्य रत्नजडित भोटो उपहार दियो। एक दिन किसान भोटो खेतमा राखी काम गर्दै थियो। एउटा राक्षस आई भोटो चोरेर लग्यो। 

पछि किसान मत्स्येन्द्रनाथको जात्रा हेर्न निस्किएको थियो। उसले हुलमा आफ्नो भोटो लगाएको उक्त राक्षसलाई देखी पक्रेर पिट्न लाग्यो। दुवैबीच झगडा भयो, भोटोमा दुवैले दाबी गरे। मुद्दा राजाकहाँ पेस भयो। राजाबाट निर्णय भयो– उक्त भोटो मत्स्येन्द्रनाथकहाँ नासो राख्ने र सबुत–प्रमाण लिई आउनेलाई मात्र दिने। किसानले सबुतका लागि नागलाई लिई आउन सकेन, राक्षेससँग सबुत नै थिएन। भोटो मत्स्येन्द्रका साथ रहिरह्यो। सबुतसहित लिन आउनू भन्ने प्रतीकका रूपमा अझै पनि भोटो देखाइन्छ।

भोटोजात्राको किंवदन्ती– २ 

सत्यमोहन जोशीको पुस्तक ‘नेपाली चाडपर्व’ तेस्रो संस्करणमा अर्को किंवदन्ती छ। राजा गुणकामदेवका पालामा भक्तपुरमा वैद्य काम जान्ने एक ज्यापू थिए। उनलाई टौदहका कर्कोटक नागले आँखा दुखेकी आफ्नी नागिनीको उपचार गरिदिएबापत एउटा भोटो उपहार दिएका थिए। पछि एक लोभी भूतले यो भोटो चोरेर लग्यो। ज्यापू वैद्य त्यस भूतको खोजीमा लागे, तर भोटो फेला पार्न सकेनन्। 

मच्छिन्द्रनाथलाई जाउलाखेलमा ल्याइपुर्‍याउने जात्रामा भूतप्रेतहरू पनि धुमधामसँग जात्रा मनाउन आउँछन् भन्ने ज्यापू वैद्यलाई थाहा थियो। त्यसैले उनी जाउलाखेलमा भोटो खोज्न आइपुगे। भोटो चोर्ने भूत पनि चोरेको भोटो लगाएर खुब रवाफका साथ जात्रा मनाउन आएको रहेछ। ज्यापू वैद्यले आफ्नो भोटो चिनिहाले। भोटोचोर भूत भने वैद्यलाई देख्नेबित्तिकै लुक्न थाल्यो। 

वैद्यले खुब चलाखीले चोर भूतलाई समाते। भूतले भोटो आफ्नै भएको दाबी गर्‍याे। मुद्दा मच्छिन्द्रनाथको जात्रा हेर्न आएका राजासमक्ष पुग्यो। राजा खुब धर्मात्मा र न्यायी इन्साफी थिए। राजाले सबैका सामु भने, ‘साक्षी प्रमाण जसको बलियो हुन्छ, यो भोटो उसैको हुन्छ। लौ साक्षी  प्रमाण लिएर आऊ।’

यति भनेर राजाले उक्त भोटो मच्छिन्द्रनाथकहाँ नासोको रूपमा सुम्पे। भोटो चोर्ने भूतले साक्षी–प्रमाण ल्याउन सक्ने कुरा भएन, ज्यापू वैद्य भने टौदहको डिलमा पुगी नागराज कर्कोटकलाई पुकार्न लागे। कर्कोटक नागलाई भोटोको बारेमा सबै कुरा थाहा भयो, उनले ज्यापू वैद्यलाई सूचित गरेर पठाए, ‘म तपाईंका लागि मनुष्य रूप लिई साक्षी बक्न आउनेछु। जात्रा हेर्न आउने अन्य मानिसभन्दा म एक बित्ता अग्लो हुनेछु। म आउने बेला ठूलो हुरी चल्नेछ। त्यसबेला मलाई चिन्नू। अनि, मच्छिन्द्रनाथमा नासो रहेको भोटो तपाईंको हो भनेर साक्षी–प्रमाण बकिदिनेछु।’ अब त त्यो भोटो मेरै हुने भो भनेर ज्यापू वैद्य घर फर्के। 

अर्को साल फेरि जाउलाखेलमा मच्छिन्द्रनाथको रथ ल्याइपुर्‍याउँदा ठूलो जात्रा भयो। चारैतिरबाट जात्रा हेर्न आएका मानिसले जाउलाखेल भरिएको थियो। ज्यापू वैद्य नागराजा कर्कोटकका प्रतीक्षामा थिए। त्यसैबेला ठूलो हुरी चल्यो। कर्कोटक नाग आइपुगे भनेर ज्यापू वैद्य ढुक्क भए। उनले त्यहाँ सबैभन्दा अग्लो मान्छे खोज्न थाले। त्यत्रो ठूलो हुलमा मनुष्य रूप लिएर आउने नागराजालाई उनले पहिल्याउन सम्भव भएन। तैपनि उनी नागराजाको खोजीमा लागे। 

साँझ पर्न लाग्यो। जात्रामा आएका राजा गुणकामदेवले विचार गरे, ‘भोटोका लागि साक्षीप्रमाण लिएर कोही आएन। अर्काको नासो त गलाको पासो पो हुन्छ।’ यति भनी राजाले मच्छिन्द्रनाथको जिम्मामा नासोको रूपमा रहेको रत्नमणि जडित त्यो भोटो सबैले देख्ने गरेर रथको चारै कुनामा देखाइदिए। 

जात्रा हेर्न आएका सबैले भन्न लागे, ‘मच्छिन्द्रनाथका जिम्मामा रहेको भोटो लिन साक्षी प्रमाण लिएर कोही आउन सकेको रहेनछ।’ त्यसैबेलादेखि जाउलाखेलमा हुने मच्छिन्द्रनाथको जात्रामा भोटो देखाउने जात्रा पनि सुरु भयो। ऊबेलादेखि अद्यापि त्यो भोटो जात्रा चलेकै छ।

भोटोजात्राको किंवदन्ती– ३ 

भोटोजात्रासम्बन्धी बासुपासाको पुस्तक ‘ललितपुर’मा एक किंवदन्ती उल्लेख छ। 

नागराज कर्कोटककी अर्धाङ्गिनीको अचानक आँखा दुख्यो। अनेकौँ उपचार गर्दा पनि निको भएन। रोगले च्याप्दै गएपछि कर्कोटक नागराज मनुष्यको रूपमा नागलोकबाट मत्र्यलोकमा पुगे। त्यहाँ उनले एउटा ज्यापूले बाख्राको आँखा सफा गरिरहेको देखे। ती ज्यापूले सानो टालोले पुछेर बाख्राको आँखाको चिप्रा हटाइरहेका थिए। नागराजले सोधे, ‘बाख्राको आँखाको उपचार गर्न लागेजस्तो छ नि ?’ ती मानिसले नागराजतिर हेर्दै नहेरी ‘अँ हो’ भने।

‘के यहाँ आँखाको वैद्य हुनुहुन्छ ?’ नागराजले सोधे।

‘हेर्दै छ, सोध्दै छ, के आँखा छैन ? यहाँ देखनौ, औषधि गरिरहेको ?’ ज्यापू बोले।

वैद्य भेटियो भनेर नागराज ढुक्क भएर भने, ‘वैद्यराज, मेरी अर्धाङ्गिनी पनि आँखा दुखेर रोइरहेकी छिन्। एकछिन गएर हेरिदिनुस्, बिन्ती छ।’ 

‘बिन्तीसिन्ती केही पनि गर्नुपर्दैन। म वैद्य होइन, यसै भनिदिएँ वैद्य हुँ भनेर, नरिसाउनू होला है,’ ती मानिसले भने। 

‘अघि एउटा कुरा गर्ने, अहिले अर्कै कुरा गने, यहाँले यसरी ढाँट्नुभएन। एकचोटि हेरिदिए के हुन्छ ?’ मनुष्य रूप धारण गरेका नागराजले अनुनयविनय गरेपछि ती ज्यापूले ‘घर कहाँ हो ?’ भनी सोधे। नागराजले नजिकै देखाएपछि उनी त्यसतर्फ जान राजी भए। कर्कोटकको दहमा पुगेपछि नागराजले ती ज्यापूको हात समाई दहमा हामफाले। नागराजले पानी भित्रभित्रै लिएर गएर ज्यापूलाई एउटा भव्य महलमा पु¥याएर भने, ‘वैद्यराज, म नागराज कर्कोटक हुँ, यो मेरो दरबार हो। यी मेरी नागिनीको आँखा दुखेको धेरै दिन भइसक्यो, यहाँ कसैले उपचार गर्न सकेनन्। त्यसैले म मानिसको रूपमा वैद्यराजको खोजीमा पृथ्वीलोक गएको थिएँ। कृपया, मेरी नागिनीको उपचार गरिदिनुपर्‍याे।’

नागराजका कुरा सुनेर ज्यापू अक्क न बक्क भए। उनलाई चिन्ता भयो– उपचार गरौँ आफू वैद्य होइन, नगरौँ यहाँ नागहरूले के गर्ने हुन् !    उनले मनमनै करुणामय (मत्स्येन्द्रनाथ)लाई सम्झँदै आफू वैद्य भएझैँ गरी नागिनीको आँखा जाँचे। उपचारका लागि चोखो पानी ल्याउन पनि भने। त्यसपछि अन्तस्करणदेखि नै ‘हे करुणामय, मेरो रक्षा गर्नुहोस्। म मूर्ख वैद्यराज भई बिरामीको उपचार गर्न लागेको छु, यस बिरामीको रोग निको पारी मेरो उद्धार गर्नुहोस्’ भनी पानीलाई फुक्दै नागिनीको आँखामा थोपा–थोपा हाल्दै गए। नागिनीका आँखा पनि निको हुँदै गए। 

यसरी चमत्कारपूर्ण काम गरेपछि नागराज ज्यापूसँग प्रशन्न हुन्छन्। उनले इनामका रूपमा बहुमूल्य हिरामोतीसँगै अति नै दुर्लभ रत्नजडित भोटो दिएर ज्यापूलाई नागलोकबाट बिदा गर्छन्। ज्वलन्त भोटो लगाएर आएको देखी ज्यापू परिवारका मानिसले अचम्ममा पर्दैै ‘भोटो कसले दियो’ भनी सोधे। ज्यापूले सबै घटना वृत्तान्त बताए। 

एक दिन भोटो लगाएर ज्यापू खेतमा काम गर्न गएका हुन्छन्। बाटोमा एउटा भूतले भोटोको बारेमा सोध्यो। ‘तँलाई के मतलब जहाँबाट ल्याए पनि’ भनी ज्यापू आफ्नो बाटो लागे। तर, भूतले उनको पिछा गर्न छाडेको थिएन। खेतमा काम गर्दागर्दै शरीरमा पसिना आएपछि उनले भोटो फुकालेर छहारीमा विश्राम गरे। त्यही बेला भूतले भोटो चोरेर लग्यो। 

दिन बित्दै गयो र वैशाख शुक्ल प्रतिपदा आइपुग्यो। करुणामयको रथ जात्रा भई अन्तिम दिन जावलाखेलमा रथ पु¥याइयो। थुप्रै भक्तजन त्यहाँ जात्रा हेर्न आएका थिए। ती वैद्य ज्यापू पनि जात्रा हेर्न गएका थिए। उनले त्यहाँ आफ्नो हराएको भोटो लगाएको भूतलाई पनि देखे। अनि, त्यस भूतको कठालोमा समातेर ‘मेरो भोटो चोर, मेरो भोटो फुकाल्’ भन्दै चिच्याए। भूतले पनि प्रतिकार गर्दै भन्यो, ‘मेरो भोटोलाई आफ्नो भनेर दिउँसै डाँका मार्न खोज्ने ?’ 

उनीहरूबीच झगडा बढ्दै गयो। त्यसपछि उनीहरूको झगडालाई मानिसहरूले राजासमक्ष पुर्‍याए। राजा पनि त्यहीँ भोटोजात्रा हेर्न आएका थिए। राजाले दुवैका कुरा सुनेर भने, ‘यो अति दुर्लभ भोटो मेरो हो भन्ने प्रमाण तिमीहरू दुवैले दिन सकेनौ। त्यसैले यो भोटो अरु कसैको हुन सक्ने भएकाले यहाँ भएका जन समूहले देख्ने गरी श्री करुणामयको रथको खटमा यस अमूल्य भोटो देखाइनेछ। 

जसले प्रमाणसहित करुणामय सम्मुख सत्य वाचा गरी यो मेरो भोटो भनी दाबी गर्न आउनेछ, त्यसैलाई हकदार ठहराई यो भोटो प्रदान गरिनेछ। तर, कसैले लोभमा परी झूटो दाबी गर्न आएमा असत्य बोल्ने अपराधीको तल्कालै मृत्यु होस् भनी म करुणामयसँग प्रार्थना गर्छु।’

भोटो मेरै हो भनेर ज्यापू वैद्य र भूतले मात्रै होइन, अरु कसैले पनि प्रमाण दिन सकेनन्। अर्को वर्ष पनि सोही दिन भोटो प्रदर्शन गरियो। कोही पनि  प्रमाण लिएर आएनन्। त्यसपछि प्रमाण नल्याएसम्म भोटो देखाउने चलन चल्यो।

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्