Kathmandu Press

तिमीसँग नबोलेर मलाई पुग्छ र ?

तपाईं कल्पना गर्नुस्- संसारका सबै मानिसले केवल ४८ घन्टा कुनै पनि माध्यमबाट शाब्दिक भाषा व्यक्त गरेनन् भने के होला ? 
तिमीसँग नबोलेर मलाई पुग्छ र ?

मौनता ठूलो आध्यात्मिक साधना हो। यसले हामीलाई प्रकृतिसँग जोड्छ, अस्तित्वबोध गराउँछ। मानिसका लागि सबैभन्दा ठूलो गुरु प्रकृति नै हो।  

मौन रहँदा मन बोल्नु हुँदैन। मनमा अनेक विचारको आँधीहुरी चल्ने तर ओठबाट शब्द ननिस्कनुलाई मात्रै मौनता भनिँदैन। मौन रहनलाई विचार शून्य हुनुपर्छ, आफैँमा हराउनुपर्छ। आफैँमा हराउनुको अर्थ हो– आफ्नै शरीर वा श्वासप्रश्वासमा ध्यान दिनू, वरिपरिको वातावरण वा परिस्थितिलाई जस्ताको तस्तै नियाल्नू तर त्यसमा कुनै विचार वा धारणा नबनाउनू। 

केही निश्चित समयका लागि नियमित रूपमा वास्तविक मौनताको अभ्यास वा साधना मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ, कसरी भने यसले हाम्रो मनलाई आराम गराउँछ। हामी अधिकांशको कमजोरी वा दुःख भन्नु नै मन भड्कनु वा आफ्नो वशमा नरहनु हो। भड्केको मनले छिटो शाब्दिक प्रतिक्रिया जनाउँछ। तनलाई पनि नकारात्मक क्रियाका लागि प्रेरित गर्छ। 

Hardik ivf

तर सधैँको मौनताले संसार र मानवतालाई हित गर्दैन। शाब्दिक भाषाकै कारण मानव जाति सभ्यतातर्फ उन्मुख हुन सहज भएको हो। संसारका मानिसबीच शाब्दिक संवादपछि नै शान्तिप्रक्रिया सुरु हुन्छ। 

तपाईं कल्पना गर्नुस्— संसारका सबै मानिसले केवल ४८ घन्टा कुनै पनि माध्यमबाट शाब्दिक भाषा व्यक्त गरेनन् भने के होला ? 

टिभी, कम्प्युटर, ल्यापटप, हाते फोनमा निमेष निमेषका समाचार हेर्ने हामीलाई संसार गुमराहमा रहेको महसुस हुनेछ। कतै लुटपाट भयो कि, कतै कुनै अन्याय भयो कि, कतै हिंसा भयो कि, कतै कुनै देश, समुदाय, समूह वा व्यक्ति शब्दबिनै शस्त्रले बोल्न थाल्यो कि– यस्तै प्रश्नले हामीलाई बेचयन तुल्याउनेछ  । हाम्रो मनमा अनेक सवालको आँधीहुरी चल्नेछ। र, ४८ घन्टापछि हामी रेडियो, टिभी, अखबार, अनलाइन अखबारतिर झुम्मिन थाल्नेछौँ।

दुनियाँको खबर बुझ्न लालायित हुनु मानवको पुरानो प्रवृत्ति हो। आफू र आफ्नो समुदाय, राज्यको सुरक्षा वा सुरक्षित भविष्यका लागि पनि मानिसले देश–दुनियाँको खबरप्रति चासो राख्छ। 

संसारमा यस्ता बस्ती, क्षेत्र वा समुदाय पनि छन्, जसलाई शक्तिशाली मुलुकका मानिसको क्रिया, प्रतिक्रिया वा गतिविधिप्रति त्यति ठूलो चासो हुँदैन, आफूमाथि आइलाग्न सक्ने आपत् र आफ्नो सुरक्षाका सम्बन्धमा भने चासो रहन्छ। 

हाम्रै चिनजानको मानिस कुनै भेटमा बोलेन भने हामीलाई चासो हुन्छ— किन बोलेन ? के कुराले रिसायो ? किन ठूलो भयो ? उसैलाई अर्को भेटमा सोधियो— अस्ति किन बोलेनौ, हामीबाट कुनै गल्ती भयो कि ? यस्ता सवालमा प्रायःको रमाइलो जवाफ हुने गर्छ– तिमी वा हजुरसँग नबोलेर मलाई पुग्छ र ? 

हो, हामी अधिकांशलाई नबोलेर पुग्दैन। बोलचाल बन्द हुने र खुल्ने सम्बन्धमा आर्थिक स्तर, बौद्धिक स्तर, सामाजिक स्तर आदिको भूमिका रहेको हुन्छ। उपरोक्त स्तरका आधारमा सानो भनिएको व्यक्ति नबोलेको अवस्थामा ठूलो मानिएको व्यक्तिले भन्न सक्छ— त्यो ऐरेगैरे नबोलेर मलाई के फरक पर्छ ? यद्यपि, लामो समयको संवादहीनता समाज र मानवताका लागि हितकर हुँदैन। 

कहिलेकाहीँ हामी कारणवश आवेगमा, वा कुनै गलत बुझाइ वा सूचनाका आधारमा कसैसँग धेरै भनाभन गर्छौं, भन्न बाँकी केही राख्दैनौँ र निकै समय आपसमा बोल्दैनौ, मुख बार्छौं। यसरी बोलचाल बन्द हुँदा अधिकांशले कुनै शत्रुता साँधेर व्यवहार गरेको पाइँदैन। बोलचाल बन्द हुँदा एकाधबाहेक हामी धेरैले विगतका आफ्नो व्यवहारको विश्लेषण गर्न पुग्छौँ, कताकता आफ्नो गल्ती पनि महसुस गर्न पुग्छौँ। यहाँ, केहीबेरको मौनताले हामीलाई आफैँसँग संवाद गर्ने अवसर दिन्छ। यसर्थ, कहिलेकाहीँ केही समयका लागि बोलचाल बन्द हुँदा हाम्रा लागि हितकर हुन सक्छ। बोलचाल बन्द हुनुअघि जुन विषयमा द्वन्द्व भएको थियो, केही समय बोलचाल बन्द हुँदा हामीले त्यस विषयमा आत्मसमीक्षा गर्न सक्छौँ। 

बोलचाल बन्द गर्नु र खोल्नुमा कहिलेकाहीँ घमण्ड, अज्ञानताले काम गरेको हुन सक्छ, कहिलेकाहीँ कोही कसैले यसलाई नीतिका रूपमा प्रयोग गरेका पनि हुन सक्छन्। कहिलेकाहीँ हामी निकटतमलाई घुक्र्याउन बोल्दैनौँ। कहिलेकाहीँ हामी समाजका मानिसलाई आफ्नो मूल्य साबित गर्न र अस्तित्वबोध गराउन बोल्दैनौँ। जेहोस्, बोलचाल बन्द गर्नभन्दा बोलचाल खोल्न ठूलो छाती चाहिन्छ। यसमा अबुझ मानिसले भन्न सक्छ— मसँग फलानो झुक्यो वा फलानी झुकी। हामी आफूलाई प्रमाणित गर्ने र कोहीसँग नझुक्ने नाममा बोलचाल बन्द गर्छौं। सधैँको द्वन्द्व र झगडाभन्दा केहीबेरको बोलचाल बन्द वा मौनता मानवताका लागि लाभदायक हुन सक्छ।

नेपाली राजनीतिमा आपसमा भनाभन, आरोप–प्रत्यारोप, दोषारोपण, संवादहीनता नौलो विषय होइन। हिजो घाँटी जोडेकाहरू आज आरोप–प्रत्यारोप उत्रन्छन्। आज हात मिलाएकाहरू भोलि भनाभनमा जान बेर लगाउँदैनन्। सबैलाई आ–आफ्नो हैसियत, आ–आफ्ना मुद्दा स्थापित गर्नुछ, इतिहास लेखाउनुछ। आफूले गरेका कामको श्रेय लिनुछ। उनीहरूलाई सामाजिक न्यायमा आधारित समृद्धितर्फ कुनै चासो छैन। सामाजिक न्यायमा आधारित समृद्धिका लागि स्वच्छ संवाद आवश्यक हुन्छ। 
 

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्