Kathmandu Press

लघुवित्तबाट बिनाधितो ऋण लिएर व्यवसाय चलाउने मुना

मुनाले जस्तै करिब दुई लाख ५५ हजार एक सय ३७ जनाले छिमेक लघुवित्तबाट बिनाधितो ऋण लिएर विभिन्न व्यवसायमा लगानी गर्दै आएको यस लघुवित्तका वरिष्ठ शाखा प्रबन्धक ज्ञानेन्द्रराज पन्थले जानकारी दिए। 
लघुवित्तबाट बिनाधितो ऋण लिएर व्यवसाय चलाउने मुना

काठमाडौं, वैशाख २८ : पोखरा महानगरपालिका– ३१ की मुना गुरुङ अहिले किराना पसल चलाइरहेकी छन्। उनले आफ्नो पसलबाट चामल, दाल, मरमसलासँगै बिस्कुट, चकलेट, साबुनजस्ता खुद्रा सामान पनि बिक्री गर्दै आएकी छन्। 

सुरुमा खुद्रा सामानबाट व्यवसाय सुरु गरे पनि अहिले उनले चामल र ग्यासको छुट्टै गोदाम चलाउन थालेकी छन्। चामल लगायत सामान घरघर पु¥याउन उनले दुईवटा गाडी समेत खरिद गरिसकेकी छन्। ‘चामल तथा ग्यास पु¥याउन श्रीमान् जानुहुन्छ। उहाँले पसल चलाउन पनि सहयोग गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘सुरुमा सानो लगानीबाट सुरु गरेका थियौँ, अहिले मासिक एक लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ।’

मुनाका श्रीमानले गाडीलाई अन्य कामका लागि भाडामा पनि दिने गरेका छन्। गाडीसम्बन्धी सम्पूर्ण काम श्रीमानले हेर्ने गरेको मुना बताउँछिन्। 

Hardik ivf

मुनाले पसल चलाउन थालेको नौ वर्ष भयो। यो व्यवसाय विस्तार गर्न उनले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ऋण लिएकी थिइन्। अहिले पनि उनले पाँच लाख रुपैयाँ छिमेक लघुवित्तबाट लिएर चलाइरहेकी छन्। मुना भन्छिन्, ‘अहिलेसम्म उनले करिब पाँचपटक छिमेक लघुवित्तबाट बिनाधितो ऋण लिएका छौँ।’ 

मुनाले जस्तै करिब दुई लाख ५५ हजार एक सय ३७ जनाले छिमेक लघुवित्तबाट बिनाधितो ऋण लिएर विभिन्न व्यवसायमा लगानी गर्दै आएको यस लघुवित्तका वरिष्ठ शाखा प्रबन्धक ज्ञानेन्द्रराज पन्थले जानकारी दिए। 

वरिष्ठ शाखा प्रबन्धक पन्थका अनुसार, २०५८ मा स्थापना भई अहिलेसम्म ६९ जिल्लामा एक सय ९२ शाखाबाट सेवा प्रवाह गरिरहेको यस लघुवित्तमा चार लाख १४ हजार दुई सय ८४ सदस्य छन्। यस संस्थामा एक हजार दुई सय २० कर्मचारी कार्यरत छन्। ‘हाम्रो मुख्य टार्गेट भनेको ग्रामीण क्षेत्रमा बस्ने महिलाको जीवनस्तर उकास्नु हो। त्यसैले अन्य लघुवित्तले ऋण नदिएका महिलालाई पनि हामीले बिनाधितो ऋण प्रवाह गरिरहेका छौँ,’ वरिष्ठ शाखा प्रबन्धक पन्थले भने। 

छिमेक लघुवित्तजस्तै अन्य लघुवित्तीय कारोबार गर्न नेपाल सरकारबाट ‘घ’ वर्गको मान्यता प्राप्त संस्थाले महिलालाई बिनाधितो ऋण प्रवाह गरिरहेको छ। ग्रामीण क्षेत्रमा रहेका महिलाको जीवनस्तर उकास्ने मुख्य उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको लघुवित्तमा आबद्ध कर्मचारीको भनाइ छ। 

लघुवित्तहरुले महिलाका लागि बाख्रापालन, भैँसीपालन, तरकारीखेती, फलफूलखेती, कुखुरा पालन, बंगुरपालन लगायत तालिम दिँदै आएका छन्।

‘सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामक संस्थाबाट ऋण लिएर पशुपालन गर्दै आएकी तनहुँकी मीना पन्थ भन्छिन्, ‘पहिला श्रीमान्ले विदेशबाट पैसा पठाऊलान् र यहाँको काम टारौँला भन्ने सोचेर बस्नुपथ्र्यो। अहिले श्रीमान् र म मिलेर नै पशुपालन व्यवसायलाई अगाडि बढाएका छौँ। परिवार सँगै बस्न पाएका छौँ। आम्दानी पनि राम्रो छ। व्यवसाय अनुसारको तालिमको अभावमा भने केही समस्या आउने गरेको छ।’

(पोखराबाट फर्केपछि।)
 

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्