Kathmandu Press

‘अघिल्लोपटक उमेर र अनुभव नहुँदा प्रमुख पाइनँ, अहिले अनुभव र योजनासहित प्रमुखमा लड्दै छु’

क्षमता र योग्यताका आधारमा अगाडि भए पनि महिलाहरूले महिला भएकै कारण हरेक अवसरबाट पन्छिनुपरेको उनको अनुभव छ। 
‘अघिल्लोपटक उमेर र अनुभव नहुँदा प्रमुख पाइनँ, अहिले अनुभव र योजनासहित प्रमुखमा लड्दै छु’

काठमाडौं, वैशाख २७ : अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुख पदका लागि कांग्रेसबाट अम्बिका चलाउने चुनावी प्रतिस्पर्धामा छन्। २०७४ को निर्वाचनमै उनले नगर प्रमुखका लागि उम्मेदवारी दिन खोजेकी थिइन् तर उपप्रमुखको टिकट पाइन्।

‘विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय भई अनेक चुनौतीका बीच राजनीतिक अनुभव बटुलेँ, शैक्षिक योग्यता हासिल गरेँ, अझै पार्टीले नै महिला भएकै कारण नपत्याएको अवस्था छ,’ ३२ वर्षीया अम्बिका भन्छिन्, ‘२०७४ को स्थानीय निर्वाचनमा प्रमुखको टिकट माग गर्दा यो अपरिपक्व छ, यसले सक्दिनँ। महिला, त्यसमाथि उमेर पुगेको छैन भन्ने जस्ता टिप्पणी सुन्नुप¥यो र उपप्रमुखमै लड्नुपर्ने बाध्यता भयो। यो वर्ष पनि टिकट पाउन निकै संघर्ष गर्नुप¥यो।’

अघिल्लोपटक उपप्रमुखमा राम्रै मत ल्याई उनी विजयी भएकी थिइन्। उपप्रमुखको अनुभवसहित यसपालि उनी प्रमुखका लागि भिड्दै छन्। ‘समुन्नत नगरपालिका निर्माणका लागि प्रमुख पदमा रहेरै काम गर्नुपर्छ, त्यसैले यसपालि प्रमुखमा उम्मेदवारी दिएकी हुँ,’ उनी भन्छिन्। 

Hardik ivf

अंग्रेजी साहित्य, समाजशास्त्रसँगै कानुनसम्मको अध्ययन 

अम्बिकाको जन्म पञ्चदेवल विनायक नगरपालिका– ४ भएको हो। १० दिदीबहिनीमध्ये अम्बिका माइली हुन्। त्यतिबेला उनका बुवाले गाउँमै व्यापार पनि गर्थे। परिवारमा धेरै दिदीबहिनीका माझमा हुर्केकी अम्बिकाले विद्यामन्दिर नमुना मावि अछामबाट २०६२ मा एलएलसी, पञ्चदेवल क्याम्पसबाट अंग्रेजीमा स्नातक, २०७० मा त्रिचन्द्र कलेज काठमाडौंबाट समाजशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। हाल उनी एलएलबी अध्ययनरत छन्।

राजनीतिक पृष्ठभूमि 

अम्बिकाका बुवा कांग्रेसका प्रतिबद्ध कार्यकर्ता तथा समाजसेवी हुन्। राजनीतिमा लाग्न आफूले बुवाबाटै पे्ररणा पाएको अम्बिका बताउँछिन्। 

कक्षा ८ पढ्दै गर्दा कक्षाका अन्य साथीले अनेरास्ववियुको सदस्यता लिएको अम्बिकाले देखेकी थिइन्, त्यो देखेर उनलाई पनि राजनीतिमा रुचि बढ्यो। उनले घरमा बुवासँग सल्लाह गरिन्। ‘अखिलको सदस्यता लिन्छु भन्दा बुवा साह्रै रिसाउनुभएको थियो,’ अम्बिका भन्छिन्, ‘बुवाले भन्नुभयो– हामी कांग्रेस हो, तिमी सदस्यता लिन चाहन्छ्यौ भने नेपाल विद्यार्थी संघको सदस्यता लिन सक्छ्यौ। मैले कक्षा ८ देखि नै नेवि संघको सदस्यता लिएँ।’ 

एलएलसीपछि अम्बिका नेवि संघको क्षेत्रीय कोषाध्यक्ष भइन्। २०६३ मा उनले नेपाली कांग्रेस पार्टीको सदस्यता लिइन्। ०६५ मा पञ्चदेवल क्याम्पसमा स्नातक पढ्दै गर्दा उनी स्वतन्त्र विद्यार्थी युनियन सभापति भएकी थिइन्। २० वर्षकै उमेर (२०६७)मा उनी कांग्रेस महासमिति सदस्यमा निर्वाचित भइन्। कांग्रेसको १४औँ महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित उनी अहिले कांग्रेस सुदूरपश्चिम प्रदेशको सहमहामन्त्री पदकी निर्वाचित हुन्।

क्षमता र योग्यताका आधारमा अगाडि भए पनि महिलाहरूले महिला भएकै कारण हरेक अवसरबाट पन्छिनुपरेको उनको अनुभव छ। 

उपप्रमुख हुँदा के गरिन् ?

साबिकका कुइका, विनायक, लयाँटी, तोली, पुल्लेतोला, बारला र कालेकाँडा गरी आठ गाविस मिलाएर २०७३ फाल्गुनमा पञ्चदेवल विनायक नपा घोषणा भएको हो।

आफूहरू जनप्रतिनिधि हुँदा वडा कार्यालयदेखि नगरपालिकासम्म जाने सडकको अभाव रहेको उनी बताउँछिन्। सुरुकै वर्षदेखि सडक निर्माण सुरु गरियो, अहिले गाउँबस्तीका थुप्रै वडामा सडक पुगेका छन्। 

उनका अनुसार, भौतिक निर्माणमा नगरपालिकाका नौवटै वडा कार्यालयका भवन, स्वास्थ्य संस्था भवन र बहुप्राविधिक विद्यालय भवनदेखि प्रशासनिक भवन निर्माण गरिएको छ। कोरोना महामारीले गर्दा सुरुका दुई वर्ष सोचे अनुरूपको विकास नगरपालिकाभित्र गर्न नसकेको अम्बिका बताउँछिन्। 

‘महिलाको क्षमता अभिवृद्धिका लागि सुरुकै वर्षदेखि महिलाले चाहे अनुसारका सिलाइकटाइ, बुनाइ, कृषिसम्बन्धी, अचार बनाउने लगायत सीपमूलक तालिम सञ्चालन ग¥यौँ,’ अम्बिका भन्छिन्, ‘कोरोनाका बेला एक महिलालाई तीन हजार बराबरको पोषणयुक्त खाद्यान्नका दरले सुनौला हजार दिनका १७ सय आमालाई उपलब्ध गराएका थियौँ। दोस्रो वर्षबाट ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत उपप्रमुख कोसेलीका रूपमा हरेक सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा उपलब्ध गराउँदै आएका छौँ।’ 

अम्बिकाका अनुसार, स्वास्थ्य संस्था टाढा भएका सुत्केरीको हकमा सुत्केरी भएको तीन दिन र १५ दिनमा स्वास्थ्यकर्मी नै उनीहरूको घर गई स्वास्थ्य अवस्था बुझ्ने गरेका छन्। नगरपालिकाभित्रका बालबालिकामा कुपोषण समस्या छ। यसलाई मध्यनजर गरी नगरपालिकाले समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। अम्बिका भन्छिन्, ‘नगरपालिकाका दीर्घरोगी महिलाले नगरपालिकामा निवेदन दिए उनीहरूको उपचारका लागि रोगको अवस्था हेरेर पाँच हजारदेखि ५० हजारसम्म सहयोग गर्ने गरेका छाँै।’

उनका अनुसार, नगरपालिकामा छाउपडी प्रथा र बालविवाहले जरो गाडेको छ। केही हदसम्म भए पनि छाउपडी प्रथा र बालविवाह न्यूनीकरण गरेको उनी बताउँछिन्। ‘छाउगोठ भत्काउनुभन्दा पनि मानिसको चेतना स्तर भत्काउनु जरुरी छ भनेर यहाँका आमा समूह, पण्डित, महिला स्वयंसेविका, महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला अगुवा, शिक्षिकासँग बालविवाह र छाउपडी प्रथाविरुद्ध कार्यक्रम गरेका थियाँै,’ उनी भन्छिन्, ‘वर्षौंदेखि मान्दै आएको रुढीवादी परम्परालाई एकैचोटि पूर्णरूपमा निराकरण गर्न सकिँदैन, तर पहिलेको तुलनामा अहिले एकदमै परिवर्तन ल्याउन सकिएको छ।’

कृषि पकेट क्षेत्र घोषणा गरी नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन जोड दिइएको अम्बिका बताउँछिन्। ‘पशुपालन क्षेत्रमा भैँसी र बाख्रा पाल्ने कृषकलाई अनुदान र खोर व्यवस्थापनको तालिम दियौँ,’ उनी भन्छिन्।

उनका अनुसार, अछामभरि सबैभन्दा बढी ६२ वटा विद्यालय पञ्चदेवल नगरपालिकामा छन्। निजी स्रोतबाट विद्यालयको अनुमति लिएका विद्यालयका शिक्षकले सरकारबाट दरबन्दी पाएका थिएनन्। कार्यविधि बनाएर नगर शिक्षक र करार शिक्षकका रूपमा व्यवस्थापन गरियो। 

चेतना अभावले सुरुसुरुमा स्थानीयवासीले न्यायिक समितिको कार्य क्षेत्रमा पर्ने मुद्दा लिएर प्रहरी चौकीमा जान्थे। वडामा मेलमिलाप केन्द्र स्थापना गरेर जनचेतना जगाएपछि मात्रै न्यायिक समितिमा मुद्दा दर्ता हुन थालेको उनी बताउँछिन्। उनका अनुसार, पाँच वर्षको कार्यकालमा ३० मुद्दा दर्ता भए। जसमा विशेषगरी घरेलु झैझगडा, जग्गा सिमाना, पानी मुहानका विवाद, गालीबेइज्जती आदि थिए। 

उम्मेदवारी किन ?

‘हिजो उपप्रमुख हुँदा कार्यपालिकामा हुने हरेक कुरामा मेरो सहभागिता भए पनि निर्णायक तहमा उपप्रमुखको निर्णय नचल्ने रहेछ। हिजो अनुभव नभएकै आधारमा प्रमुखको टिकट पाइनँ, यसपालि पाँच वर्षको अनुभवसहित प्रमुखमा उम्मेदवारी दिएकी हुँ,’ अम्बिका भन्छिन्, ‘विद्यालयलाई राम्रो बनाउन साइड मास्टर नभई हेडमास्टर नै राम्रो चाहिँदो रैछ। त्यसैले म हिजो साइड मास्टरजस्तै उपप्रमुख थिएँ, अहिले हेडमास्टर अथवा प्रमुख बन्न चाहेकी हुँ।’ 

No description available.

सुशासन, शून्य भ्रष्टाचार र तीव्र गतिमा विकास निर्माण गरी नमुना नगरपालिका बनाउने भिजन आफूसँग भएको उनी बताउँछिन्।
कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र उद्यमशीलतालाई जोड दिएर काम गर्ने उनको योजना छ। ‘तरकारीमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारीको योजना बनाएका छौँ। कुखुरापालनबाहेक अन्य तरकारी र मासुको आयात नगर्ने योजना छ, किनभने स्थानीय स्तरमै बाख्रापालनको सम्भावना राम्रो छ। बाहिरी आयातलाई रोक लगाई मासु र तरकारीमा आत्मनिर्भर बन्न सक्छाँै भन्ने सोच बनाएका छौँ,’ उनले भनिन्। 

नगरपालिकाका सडक वडा कार्यालय र बस्तीसम्म जोडिएका छन्। तर बनेका सबै सडक बाह्रै महिना चल्न सक्ने अवस्था छैन। अहिले १५ शय्याको अस्पतालको शिलान्यास गरिएको छ। अझै पनि नगरमा सुविधा सम्पन्न अस्पतालको अभाव छ। नगरपालिकाका धेरै वडामा खानेपानीमो समस्या छ। आफू प्रमुख भए नगरवासीका समस्यामा केन्द्रित रहेर काम गर्ने योजना रहेको अम्बिका बताउँछिन्। 
 

प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्