Kathmandu Press

‘नीलकण्ठलाई समृद्ध बनाउने भिजनसहित उम्मेदवारी दिएको हुँ’ 

विश्वकर्माले नीलकण्ठ नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गरी किसान र गरिबका छोराछोरीलाई जिल्लामै न्यून शुल्कमा प्राविधिक विषय पढ्न पाउने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘नीलकण्ठलाई समृद्ध बनाउने भिजनसहित उम्मेदवारी दिएको हुँ’ 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २६ : धादिङको नीलकण्ठ नगरपालिकाको उपप्रमुखका लागि नेकपा माओवादी केन्द्रका युवा नेता दीपक विश्वकर्मा चुनावी मैदानमा छन्। जिल्लाको १३ वटै स्थानीय तहमध्ये प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षमध्ये विश्वकर्मा एक मात्र दलित उम्मेदवार हुन्।

पाँच दलीय गठबन्धनका तर्फबाट परेको आफ्नो उम्मेदवारीले नगरपालिकामा बुद्धिजीवीदेखि युवा जमात मतदाता समेत उत्साहित भएको उनले बताए। ३८ वर्षीय विश्वकर्मा भन्छन्, ‘नगरपालिकाका १४ वटै वडामा घरदैलो अभियान गर्दा गठबन्धन र मेरो उम्मेदवारीको पक्षमा सकारात्मक माहोल देखिएको छ।’ 

राजनीतिक सक्रियता 

विश्वकर्मा हाल नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश सचिवालय सदस्य र नेपाल दलित मुक्ति मोर्चा बाग्मती प्रदेशको संयोजक छन्। उनीसँग पार्टीको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ। 

नीलकण्ठ नगरपालिका– ७ का उनी ०५४ सालमा स्थानीय कर्णेश्वर निमाविमा अखिल क्रान्तिकारीका सदस्य थिए। ०५७/५८ सालमा नीलकण्ठ माविमा सहसचिव र कोषाध्यक्ष भएर काम गरे। २०५९ देखि काठमाडौंस्थित आरआर क्याम्पसबाट उच्च शिक्षा सुरु गरेका उनी अखिल क्रान्तिकारी क्याम्पस कमिटीको सदस्य भएर विद्यार्थी राजनीतिमा सक्रिय रहे। ०६१ मा तत्कालीन माओवादीको भ्रातृ संगठन ‘नेपाल स्वतन्त्र दलित विद्यार्थी संघ’को केन्द्रीय सदस्यसँगै पार्टीको पूर्णकालीन सदस्य भई क्रियाशील रहे। यसबीच पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै १९ दिने जनआन्दोलनमा फ्रन्टलाइनमा रहेर जिम्मेवारी निभाए। 

२०६४ देखि पार्टीको जिल्ला कमिटी सदस्य, नेपाल दलित मुक्ति मोर्चाको धादिङ जिल्ला अध्यक्ष लगायत जिम्मेवारीमा रहे। राजनीतिमा मात्र नभई उनी सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। २०६४ देखि उनले नीलकण्ठमा ‘उज्यालो बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालन गरे। हाल उक्त सहकारी कृषिजन्य उत्पादनमा जिल्लाकै नमुना सहकारीको रूपमा परिचित छ। 

उम्मेदवारी किन ? 

आफू निर्वाचित भए नगरपालिकाभित्र कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन र सामाजिक न्यायलाई विशेष जोड दिएर काम गर्ने उनको योजना छ। ‘नीलकण्ठ नगरपालिकालाई समृद्ध बनाउने भिजनसहित उम्मेदवारी दिएको हुँ,’ उनले भने। 

सदरमुकाम धादिङबेसीमा जिल्लाबाहिरका तरकारीले बजार पाएका छन्। आगामी दिनमा जिल्लाभित्रै तरकारी उत्पादन र बजार व्यवस्थापनका लागि जोड दिने उनको योजना छ। ‘प्रत्येक वडामा एउटा तरकारी संकलन केन्द्र र दूध संकलन केन्द्र स्थापना गर्न सकिन्छ। हरेक वडामा व्यावसायिक कृषि उत्पादन तथा पशुपालनसम्बन्धी तालिम सञ्चालन गरी कृषि उत्पादन बढाउने कार्यक्रम ल्याउनेछौँ,’ उनले भने, ‘बाख्रापालन, कुखुरापालन लगायत उद्यमशीलताको तालिम सञ्चालन गरी नगरवासीको आयआर्जन बढाउने कार्यक्रम ल्याउने छौँ।’ 

नगरपालिकाभित्र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उनको योजना छ। उनले प्राविधिक शिक्षालाई विशेष जोड दिएर कार्यक्रमहरु ल्याउने बताए। । ‘व्यावहारिक शिक्षालाई जोड दिन नगरपालिकामै बहुप्राविधिक शिक्षालय स्थापना गर्न सकिन्छ। जिल्लाका हजारौँ विद्यार्थीलाई जिल्लाभित्रै प्राविधिक विषय पढ्न सक्ने वातावरण बनाउने मेरो योजना छ,’ उनी भन्छन्, ‘किसान, दलित र गरिबका छोराछोरी जिल्लाबाहिर चर्को शुल्क तिरेर प्राविधिक शिक्षा पढ्न जानुपर्ने बाध्यता छ। नगरपालिकामै अत्यन्त न्यून शुल्कमा प्राविधिक शिक्षा पढ्ने वातावरण बनाउन सकिन्छ।’

प्राविधिक शिक्षालय स्थापनाका लागि केही वर्षदेखि अध्ययन समेत गरिरहेको उनले बताए। ‘शिक्षालय स्थापनाको माध्यम र विधि थाहा छ,’ उनले भने, ‘स्थानीय सरकारको प्रमुख–उपप्रमुख भइसकेपछि त्यसलाई पूरा गर्न सक्ने प्रशस्त सम्भावना रहन्छ। नगरपालिकामा पुस्तकालय स्थापना गर्ने योजना छ।’

नगरपालिकाभित्रका कतिपय गरिब, दलित, जनजाति र उत्पीडित समुदायका विद्यार्थी प्राथमिक तहदेखि उच्च शिक्षाबाट वञ्चित छन्। उनीहरुका लागि निःशुुल्क शिक्षा, छात्रवृत्ति र पेसाजन्य सीपमूलक तालिमको व्यवस्था गर्ने योजना समेत रहेको उनले सुनाए।

नीलकण्ठ नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। जिल्ला अस्पताल धादिङ बाग्मती प्रदेशभरिमै बिरामीको अत्यधिक चाप हुने अस्पतालमा पर्छ। ५० शय्या क्षमताको यस अस्पतालमा जनशक्ति अभावका कारण सिटी–स्क्यान र भिडियो एक्स–रे लगायत सेवा प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। आफू निर्वाचित भए जिल्ला अस्पताललाई सिटी–स्क्यान, भिडियो एक्स–रे, एमआरआई लगायत सेवासहित सय शय्या क्षमतामा विस्तार गर्ने उनले बताए। 

त्यस्तै, १४ वटै वडाका स्वास्थ्य चौकीमा सुत्केरी, गर्भवती लगायत विपन्न वर्गका बिरामीलाई निःशुल्क सेवा दिने गरी एम्बुलेन्सको व्यवस्था गर्ने उनको योजना छ। भौतिक पूर्वाधारतर्फ नगरपालिकाका सबै सडकलाई कालोपत्रे गर्ने, वडाका सडकको स्तरोन्नति गर्ने लगायत योजना उनीसँग छन्। 

संस्कृति र पर्यटकीय हिसाबमा सम्भावना बोकेको जिल्ला हो धादिङ। नीलकण्ठ नगरपालिकाभित्रका सांस्कृतिक र प्राकृतिक सम्पदालाई धरोहरका रूपमा विकास गरी आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न सकिने उनको धारणा छ। ‘धादिङबेसीदेखि सुनौलाबजारको भैरवी मन्दिरसम्म पदमार्ग निर्माण गरी आन्तरिक पर्यटनलाई बढावा दिन सकिन्छ,’ उनी भन्छन्, ‘बागेश्वरी मन्दिर, भ्युटावर वरिपरिका गुरुङबस्तीलाई रोधीघरसहितको सांस्कृतिक पर्यटनका रूपमा विकास गर्ने कार्यक्रम ल्याइनुपर्छ।’ 

लामो समयदेखि दलित आन्दोलनमा सक्रिय रहँदै आएका विश्वकर्मा समाजमा अझै पनि जातीय विभेद तथा छुवाछुत, लैंगिक हिंसा आदि अझै विद्यमान रहेको बताउँछन्। आफू निर्वाचित भए सामाजिक न्याय स्थापनाका लागि जोडबलले पहल गर्ने उनको योजना छ। उनले दलितहरूको परम्परागत पेसालाई आधुनिकीकरण गर्ने र सम्मानजनक बाँच्न पाउने अवस्थाको सुनिश्चितता गर्दै समाजलाई छिटोभन्दा छिटो सामाजिक रूपान्तरणको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गरे। 
 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्