Kathmandu Press

‘छोरीले पढ्नुपर्दैन भनी कक्षा २ देखि पढ्न छाडेकी थिएँ, पछि पढ्दै–बुझ्दै राजनीतिमा आएँ’ 

महिलाको आयआर्जन बढाउन विभिन्न सीपमूलक तालिमको व्यवस्थापन गर्ने, महिलाहिंसा न्यूनीकरणका लागि न्यायिक समितिलाई सुदृढ बनाउने र सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान अघि बढाउने योजना रहेको उनी बताउँछिन् । 
‘छोरीले पढ्नुपर्दैन भनी कक्षा २ देखि पढ्न छाडेकी थिएँ, पछि पढ्दै–बुझ्दै राजनीतिमा आएँ’ 

काठमाडाैं, वैशाख २६ : अछामको साँफेबगर नगरपालिकाको प्रमुख पदका लागि नेकपा एमालेबाट पशुपति कुँवर चुनावी दौडधुपमा छन् । यहाँ एमाले र माओवादीबीच गठबन्धन रहेको छ । उपप्रमुखको उम्मेदवारमा नेकपा माओवादी केन्द्रका तर्फबाट साँफेबगर नगर कमिटी अध्यक्ष रंगबहादुर ठकुल्ला छन् । 

साँफेबगर नगरपालिका– ४ मा जन्मे–हुर्केकी पशुपति कुँवरले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । नेपालका दुर्गम जिल्लामध्ये एक हो अछाम, जहाँ पशुपति केटाकेटी छँदा छोरीलाई पढाउनुपर्छ भन्ने चेतना व्याप्त भइसकेको थिएन । पराईको घर जाने जात हो भनी छोरीलाई पढाइँदैनथ्यो । ‘गाउँघरका अन्य छोरीले नपढेको देखेर मैले पनि कक्षा २ बाट पढाइ छोडी घरमै बसेकी थिएँ,’ ३९ वर्षीया कुँवर आफ्नो बाल्यकाल सम्झन्छिन्, ‘आफूसँगका साथीसंगी घरमै बसी मेलापात, गोठालो गएको देख्दा म पनि विद्यालय नगई साथीसंगीसँग जान थालेँ । पछि परिवारका सदस्यले कर गरेपछि फेरि पढ्न सुरु गरेकी हुँ ।’

कक्षा ७ देखि विद्यार्थी राजनीतिमा 

Hardik ivf

पशुपतिको राजनीतिक यात्रा अनेरास्ववियबाट सुरु भएको हो । उनको परिवारले एमालेप्रति आस्था राख्थ्यो । उनले पनि कक्षा ७ पढ्दादेखि अनेरास्ववियुको सदस्यता लिइन् र अग्रज विद्यार्थी नेतासँग वरपरका अन्य विद्यालयमा विद्यार्थी संगठन बनाउन अग्रसर भइन् । ‘विद्यार्थी संगठनमा आबद्ध भइसकेपछि विभिन्न राजनीतिक कार्यक्रम, समारोहमा जानुपथ्र्यो,’ उनी भन्छिन्, ‘संगठन बनाउन जाँदा मानिसले सुनाउँथे– छोरी मान्छे भएर बाहिर–बाहिर डुलिहिँड्नु हुँदैन, राजनीति छोरी मानिसका लागि होइन । यस्तो सुन्नुपर्दा म घर–परिवार र समाजका मानिसबाट लुकेर कार्यक्रममा जाने गर्थें ।’ 

कक्षा १० मा पढ्दै गर्दा उनले स्थानीय गैरसरकारी संस्थामा काम गर्न थालिन् । त्यस संस्थाले राजनीतिमा महिलाको सहभागिता बढाउने सम्बन्धमा कार्यक्रम गथ्र्यो । उनी पनि करिब १० वर्ष सहजकर्ताका रूपमा त्यहाँ काम गरिन् । सामाजिक संस्थामा काम गर्दा गाउँ समाजमा गएर महिलालाई राजनीतिबारे चेतना अभिवृद्धि गर्दै गएकाले गत निर्वाचनमा धेरै महिला वडासदस्य भई राजनीतिमा लाग्न प्रेरित भएको उनी बताउँछिन् । 

कक्षा ७ मा पढ्दादेखि विद्यार्थी संगठनमा सक्रिय भई सुरुवात भएको पशुपतिका राजनीतिक यात्रा पार्टीका अग्रज व्यक्तित्वलाई सहयोग गर्दै अघि बढ्यो । २०६१ मा नेकपा एमाले पार्टीको सदस्यता लिएकी उनी २०६५ मा पार्टीको जिल्ला सदस्य भएकी थिइन् । अहिले उनी नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य समेत हुन् । 

अछाम लगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा छाउपडी प्रथा कायमै छ । उनी पनि महिनावारी हुँदा छाउपडी गोठमा बसिन् । पछिल्लो समय छाउपडी गोठ भत्काउने अभियानमा उनी सक्रिय भएकी थिइन् । 

उम्मेदवारी किन ? 

महिलाको उत्थानसँगै समग्र समाज रूपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछिन् । स्थानीय तहका दुई प्रमुख पदमध्ये एकमा महिला हुनुपर्ने व्यवस्था रहे पनि अघिल्लोपटक महिलाले उपप्रमुख र उपाध्यक्षको पद बढी पाए, प्रमुखको पद कमैले पाए । पशुपति आत्मविश्वासपूर्वक भन्छिन्, ‘अवसर पाए महिलाले नगर हाँक्न सक्छन् ।’ 

उनका अनुसार, अछाममा अहिले पनि महिलाहिंसा र बालबालिकामा कुपोषणको समस्या छ । पहाडबाट तराई बसाइँसराइ गर्ने क्रम बढ्दै गएकाले खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । कृषकलाई सिँचाइका समस्या छन् । भएका स्थानीय उत्पादनले बजार नपाउने समस्या छ । यहाँको धार्मिक पर्यटन क्षेत्र बैजनाथलाई व्यवस्थित बनाउन सकिएको छैन । केही स्थानका सडक वर्षायाममा बन्द हुन्छन् । बाह्रै महिना चल्ने बाटो पनि उन्नत छैनन् । 

आफू विजयी भई यिनै समस्यामा केन्द्रित रही काम गर्ने उनले बताइन् । ‘सबैभन्दा पहिले नगरपालिकामा रहेका विद्यालयमा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिनेछौँ । खानेपानी नपुगेका वडामा खानेपानीको व्यवस्था गर्छौं,’ पशुपति भन्छिन्, ‘यहाँ कृषिजन्य उत्पादन राम्रै हुने गरेको छ, तर बजारको अभाव छ । बजारका लागि विशेष जोड दिनेछौँ । अहिले पढेलेखेका युवा कृषितिर त्यति आकर्षित छैनन् । युवा वर्गलाई आधुनिक कृषि प्रणालीमा प्रोत्साहन गर्ने योजना छ ।’ 

महिलाको आयआर्जन बढाउन विभिन्न सीपमूलक तालिमको व्यवस्थापन गर्ने, महिलाहिंसा न्यूनीकरणका लागि न्यायिक समितिलाई सुदृढ बनाउने र सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान अघि बढाउने योजना रहेको उनी बताउँछिन् । 
 

प्रकाशित मिति: ११:२० बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्