Kathmandu Press

‘मैले ३० वर्षसम्म प्रश्न गरेँ, अब जवाफ दिने ठाउँमा जान्छु’

तीन दशक पत्रकारितामा बिताएका गिरीश गिरी आफ्ना स्वर्गीय बुवा गोपाल गिरीको सपना बोकेर निर्वाचनको मैदानमा आएको बताउँछन्।
‘मैले ३० वर्षसम्म प्रश्न गरेँ, अब जवाफ दिने ठाउँमा जान्छु’

काठमाडाैं, वैशाख २४ : पत्रकार तथा लेखक गिरीश गिरी वीरगन्ज महानगरपालिकाको मेयरका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का तर्फबाट चुनावी मैदानमा छन्।

वीरगन्जमा जन्मिएका गिरी काठमाडौंमै बसेर पत्रकारिता गरिरहेका थिए। तीन दशक पत्रकारितामा बिताएका गिरी आफ्ना स्वर्गीय बुवा गोपाल गिरीको सपना बोकेर निर्वाचनको मैदानमा आएको बताउँछन्। ‘म यसअघि कुनै पार्टीमा आबद्ध थिइनँ। बुवा र हजुरबुवाले राजनीति गर्नुभएको थियो,’ उनले काठमाडौं प्रेससँग भने, ‘२०६० सालमा बुवा वीरगन्जको मेयर हुनुहुन्थ्यो। त्यो समयमा माओवादीले उहाँसँग पाँच लाख रुपैयाँ मागेको थियो। नदिएपछि माओवादीले गोली हानी उहाँको हत्या ग¥यो।’ बुवाको मृत्युपछि उनले काठमाडौंमा आई पत्रकारिता गर्न थालेका थिए।

तत्कालीन मेयर गोपाल गिरीले वीरगन्जलाई व्यवस्थित बनाउने कार्य थालेका थिए। २०६० पुसमा उनले बिपी उद्यान निर्माणका लागि घन्टाघरस्थित नेपाल रेल्वे कम्पनीको १० बिघा जग्गा महानगरपालिकाको तर्फबाट किनेका थिए। त्यहाँ आजसम्म उद्यान बन्न सकेको छैन। गोपालको २०६० माघमा हत्या भएको थियो। ‘नवीन वीरगन्ज’ निर्माण गर्न अर्थात् आफ्नो बुवाले देखेका भौतिक विकासका कैयौँ परिकल्पनालाई पूरा गर्नका लागि पहिलोपटक स्थानीय निर्वाचनमा उम्मेदवारी दिएको गिरी बताउँछन्।

Hardik ivf

‘वीरगन्ज शिक्षाको केन्द्र हो। अहिले शिक्षा, स्वास्थ्य, रोजगारी र मानवीय विकासका अन्य सूचकांक जुन स्थानमा पुग्नुपर्ने हो, त्यहाँ पुग्न सकेको छैन,’ उनले भने, ‘उम्मेदवारी दिनुको मुख्य उद्देश्य भनेकै ती सूचकांकको विकास गर्नु र वीरगन्जलाई फेरि शिक्षाको केन्द्रको रूपमा स्थापित गर्नु हो।’

यसका साथै यहाँ जिपिएस र जिपिआई लगायत प्रणालीको व्यवस्था गर्ने समेत उनको योजना छ। अन्य पार्टीका उम्मेदवारभन्दा आफ्नो एजेन्डा भिन्न रहेको दाबी गर्दै आएका उनी पत्रकारिता र राजनीति दुवै समाजसेवा अन्तर्गत पर्ने बताउँछन्।

‘मेरो बुवा पहिला पत्रकारितामा हुनुहुन्थ्यो, त्यसपछि राजनीतिमा लाग्नुभएको हो। म पनि पत्रकारिताबाट राजनीतिमा आउँदा मेरा लागि यो धेरै नै नयाँ फड्को होइन,’ उनी भन्छन्, ‘पत्रकारिताले प्रश्न उठाउने काम मात्र गर्छ। तर, राजनीतिले प्रत्यक्ष रूपमा जनताको दुःखमा सरिक भएर समस्या समाधान नै गर्नुपर्ने हुन्छ। मैले ३० वर्षसम्म प्रश्न उठाउने काम गरेँ। अब जवाफ दिने ठाउँमा आफूलाई राख्छु। प्रश्न उठाउने मान्छे जवाफ दिने ठाउँसम्म पुग्यो भने कति जिम्मेवारीपूर्वक जवाफ दिने काम गर्छ भन्ने साबित गरेर देखाउँछु।’

चुनावमा विजयी नभए आफ्नै सञ्चारमाध्यम सुरु गर्ने वा कुनै पुस्तक प्रकाशन संस्थामा आबद्ध हुने सम्भावना समेत रहेको उनी बताउँछन्।

 

प्रकाशित मिति: ११:०० बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्