Kathmandu Press

‘कलाकारिता मेरा पेसा हो, समाजसेवा गर्न राजनीतिमा आएको हुँ’ 

‘काठमाडौंका मठमन्दिर, पाटीपौवा, डबली, पौराणिक र पुरातात्विक सम्पदाको संरक्षण र संवर्धन गर्ने उनकाे याेजना छ।
‘कलाकारिता मेरा पेसा हो, समाजसेवा गर्न राजनीतिमा आएको हुँ’ 

काठमाडाैं, वैशाख २३ : वरिष्ठ कलाकार मदनदास श्रेष्ठ अहिले चुनावी प्रचारमा व्यस्त छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका उनी यतिखेर घरदैलो कार्यक्रममा व्यस्त छन् । 

कलाकारिता क्षेत्रमा पाँच दशकभन्दा बढी समय बिताएका उनले समाजसेवाका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । ‘म राजनीतिमा आएकै भर्खरै मात्र हो । यसअघि कुनै पनि राजनीतिक क्रियाकलापमा थिइनँ,’ उनले काठमाडौं प्रससँग भने, ‘पहिलेदेखि नै कलाकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय थिएँ । सोही सामाजिक कार्यलाई बृहत् रूपमा अघि बढाउन राजनीतिमा आएको हुँ ।’

Hardik ivf

कलाकारिता र राजनीति नितान्त फरक क्षेत्र रहेको उनको बुझाइ छ । उनका अनुसार, अभिनय क्षेत्रमा अरुले बनाएको चरित्र एवं पात्रलाई आत्मसात गरेर दर्शकमाझ प्रस्तुत गर्नुपर्ने हुन्छ । राजनीतिमा जनताको हितमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ । ‘पाँच दशकदेखि सामाजिक अभियन्ता भएर विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गरेको छु,’ उनी भन्छन्, ‘राजनीति पनि एउटा समाजसेवा नै हो । राजनीतिमा भर्खरै प्रवेश गरेको छु, अनुभव बटुल्दै छु ।’

काठमाडौं महानगरपालिकाभित्रका धेरै समस्यामध्ये फोहोरमैला व्यवस्थापन मुख्य रहेको उनी बताउँछन् । यसबाहेक खानेपानी, ढल, बाटो भत्काउँदै, बनाउँदै गर्ने परिपाटीले समस्या उत्पन्न भएको छ, यस्ता समस्या समाधानकै लागि आफू राजनीतिमा आएको उनको भनाइ छ । ‘काठमाडौंका मठमन्दिर, पाटीपौवा, डबली, पौराणिक र पुरातात्विक सम्पदाको संरक्षण र संवद्र्धन गर्ने मेरो योजना छ,’ उनले भने, ‘काठमाडौंलाई हराभरा बनाउँछु, स्वर्ग बनाउँछु भन्नेहरू धेरै आए ।

तर कसैले भनेजस्तो र जनताले चाहेजस्तो काम गरेको पाइएन । हामीले सपना देखाउने र कल्पनामा उड्न सिकाउने होइन । आफूले सक्ने काम मात्रै जनतालाई भन्ने र गर्ने हो ।’ काठमाडौंका बासिन्दालाई गाँस, बास, स्वास्थ्य, शिक्षा, रोजगारी लगायत प्राथमिक सेवाको पहुँचमा सहज गर्नु नै प्रमुख एजेन्डा रहेको उनी बताउँछन् ।

आफू विजयी हुनेमा उनी विश्वस्त छन् । ‘कसैबाट प्रेरित भएर म राजनीतिमा आएको होइन । मेयरको रूपमा उठ्छु भन्ने सोच पनि थिएन । राजनीतिक रुपमा जिम्मेवार पदमा रहेर सामाजिक काम गर्नका लागि राजनीतिमा प्रवेश गरेको हुँ,’ उनले भने । 

२००५ असार १५ गते दोलखामा जन्मेका उनले नेपाली कलाकारिता क्षेत्रमा छुट्टै छाप छाडेका छन् । रंगमञ्च, रेडियो नाटक, चलचित्रदेखि टेलिचलचित्रसम्म उनको योगदान छ । ‘कलाकारिता क्षेत्रबाट मैले कमाएर खाने हो । राजनीतिक क्षेत्रमा मैले समाजसेवा गर्ने हो । त्यहाँबाट कमाएर खाने भन्ने हुँदैन,’ उनी भन्छन्, ‘कसैका लागि राजनीति पेसा होला, व्यापार होला । मैले राजनीतिलाई समाजसेवा र कलाकारितालाई पेसाका रूपमा हेरेको छु । तसर्थ यी दुवैलाई सँगसँगै लैजाने नै योजना छ ।’
 

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्