Kathmandu Press

‘मेरो योगदानलाई नजरअन्दाज गरी विरासतलाई मात्र जोड्नु राजनीतिमा महिलाको अवमूल्यन हो’ 

मैले सुशासनलाई विशेष प्राथमिकता दिएकी छु । पृष्ठभूमि हेर्नुभयो भने मेरो परिवारले अहिलेसम्म भ्रष्टाचार गरेको छैन । भ्रष्टाचारलाई नियन्त्रण गर्ने र सुशासन कायम गर्नु नै मेरो प्राथमिकतामा छ । सुशासन कायम भयो भने विकास निर्माण र अन्य काममा चाँडै सफलता पाउन सकिन्छ । 
Hardik ivfHardik ivf

देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरका लागि गठबन्धन दलका तर्फबाट सिर्जना सिंहको उम्मेदवारी परेको छ। कला–संस्कृतिसँगै आयस्रोतले धनी काठमाडौं महानगर हाँक्न यसपालि दुई ‘हाइप्रोफाइल’ लगायत उम्मेदवार मैदानमा छन्। 

यसपालि गठबन्धनका कारण स्थानीय तहमा महिला उम्मेदवार घटेको विश्लेषण भइरहेको छ। पुरानो दल कांग्रेस र गठबन्धनकै तर्फबाट महानगरका लागि महिला उम्मेदवार खडा गर्नुलाई विशेष महत्व र अर्थका साथ हेरिएको छ। गणेशमानकी बुहारी र प्रकाशमानकी श्रीमतीको विरासत बोकेर उम्मेदवार सिंह मैदानमा आएको भन्ने चर्चा एकातिर छँदै छ, अर्कोतिर काठमाडौं महानगरका यावत् समस्या समाधानमा महिलाको नेतृत्व आवश्यक ठानिएको पनि छ।

यसै सन्दर्भमा सात ‘स’को संकल्पसहित काठमाडौं महानगरको नेतृत्वका लागि चुनावी घरदैलोमा रहेकी सिर्जना सिंहसँग काठमाडौं प्रेसकर्मी विष्णु विश्वकर्माले गरेको वार्ताको सम्पादित अंश : 

स्थानीय तह निर्वाचनको संघारमा छौं, दलहरू तीव्र प्रचारप्रसारमा छन्। पछिल्लो समय यहाँको दौडधुप कस्तो छ ? 

दौडधुप भइरहेकै छ। महानगरपालिकामा ३२ वडा छन्। समय कम छ, त्यसहिसाबमा दौडधुप अलि बढि नै छ। 

केही समय निष्क्रियजस्तै रहेर फेरि राजनीतिमा फर्कनुभएको छ, कस्तो अनुभव भइरहेको छ ? 

पार्टी र गठबन्धनले सर्वसम्मत रूपमा काठमाडौंजस्तो ठूलो महानगरपालिकामा महिलालाई अघि सारेको छ। मलाई गौरवको महसुस भइरहेको छ। राजनीतिमा पदीय जिम्मेवारीमा नआएसम्म मानिसले नचिन्ने रहेछन्। लामो समय गृहिणी भएर बसे पनि राजनीतिबाट निष्क्रिय थिइनँ। २०३३ सालमा नेपाली कांग्रेसको सदस्यता लिएँ। ०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा होमिएँ। विवाहपछि राजनीतिक सक्रियतामा केही कमी भएको हो। ससुरा (गणेशमान सिंह), सासु (मंगलादेवी सिंह), श्रीमान् (प्रकाशमान सिंह), जेठाजु (पिएल सिंह) सबै राजनीतिमा हुनुहुन्थ्यो। म केही समय गृहिणी भएर घर सम्हालेँ, तर राजनीति छाडेकी थिइनँ।  

काठमाडौं महानगरको मेयर बन्ने सोच कसरी आयो ? 

२०४६ पछि महिलाहरू पनि राजनीतिमा सशक्त रूपमा अगाडि बढेका छन्। महिलाहरू नेतृत्वमा आउनुपर्छ भनेर चर्को बहस हुँदै आइरहेको छ। मैले लामो समयदेखि नेपाल महिला संघको सल्लाहकारका रूपमा  काम गर्दै आएकी छु। व्यक्तिगत रूपमा मेयरको उम्मेदवार नै बन्नुपर्छ भन्ने सोच ममा थिएन। महिला संघमा छलफलका क्रममा आवाज उठ्थे– महिलाले उपमेयर मात्रै पाएका छन्, अब नेतृत्व लिने ठाउँमा पनि जानुपर्छ। छलफलकै क्रममा महानगरको प्रमुखमा महिला उम्मेदवार बन्नुपर्छ भन्ने निष्कर्ष निस्कियो र महिला संघले मलाई नै मेयरको उम्मेदवारको रूपमा अघि सा¥यो।

कुनै पद नलिई पार्टीको काम पनि गरिरहेकै थिएँ। महिलाका क्षेत्रमा काम गरिरहेकै थिएँ। सँगसँगै भूकम्प र कोभिडको समयमा सामाजिक अभियन्ता बनेर काम गरेँ। यस हिसाबमा संघले मलाई काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दियो। पार्टीले पनि त्यसलाई सकारात्मक रूपमा लिएपछि उम्मेदवार बनेँ। 

तपाईंको उम्मेदवारीपछि गणेशमान र प्रकाशमानको विरासतसँग जोडेर टीकाटिप्पणी भए, यसमा यहाँको भनाइ ? 

गणेशमान सिंह र मंगलादेवीको बुहारी हुन पाउँदा गर्व महसुस गर्छु। रैतीलाई नागरिक बनाउन गणेशमान र महिलालाई अधिकारसम्पन्न बनाउन मंगलादेवीको योगदान अविस्मरणीय छ। 

गणेशमान र मंगलादेवीकी बुहारी र प्रकाशमान सिंहकी श्रीमतीसँगै म व्यक्तिगत रूपमा सामाजिक अभियन्ता र राजनीतिकर्मी हुँ। राजनीतिक घरानामा विवाह गर्नुपूर्व विद्यार्थी नेता भइसकेकी थिएँ। सम्पूर्ण युवावस्था लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि खर्चिएकी छु। पटकपटक पुलिसको लाठी खाएकी छु, आन्दोलनकै क्रममा हनुमानढोकाको चिसो छिँडीमा पटक–पटक बसेँ। पारिवारिक विरासतका आधारमा टिकट पाएको भन्ने सत्य होइन। महिलाको योगदानको पनि कदर हुनुपर्छ। योगदानलाई नजरअन्दाज गरेर विरासतलाई मात्र जोड्नु राजनीतिमा महिलाको अवमूल्यन गरिनु हो। 

कांग्रेससँगै गठबन्धनबाट अन्य आकांक्षी पनि थिए, पार्टीभित्र र बाहिरबाट अन्तर्घात हुने सम्भावनालाई कसरी लिनुभएको छ ? 

महानगरको मेयरका लागि पाँच–सात जनालाई प्रस्ताव गरिएको थियो। प्रस्तावित सबै योग्य, सक्षम र महानगरको मेयर बन्न लायक हुनुहुन्छ। 

कुनै न कुनै रूपमा निरन्तर पार्टीलाई योगदान गर्नेमा म पनि पर्छु। मैले अहिलेसम्म पार्टीबाट कुनै पद लिएकी छैन, ‘लो प्रोफाइल’मा बसेर काम गर्दै आइरहेकी थिएँ। अहिले पार्टीले मेरो कामको मूल्यांकन गरी योग्य ठानेरै टिकट दिएको हो भन्ने लाग्छ। महानगरमा पटकपटक पुरुष मेयर बने। पिएल दाइका पालामा महानगर केही राम्रो बनेको थियो। त्यसपछि जो आए पनि राम्रो काम गर्न नसकेको देखिन्छ। २५ वर्षअघिको काठमाडौं र अहिलेको काठमाडौंलाई तुलना गर्दा अवस्था झनै बिग्रँदै गएको देखिन्छ। एक योग्य महिलालाई उम्मेदवार बनाउँदा जित्न सकिने भएकाले मलाई अघि सारेको भन्ने लाग्छ। मेरो उम्मेदवारीप्रति सबै खुसी हुनुहुन्छ। अन्तर्घात हुने सम्भावना देख्दिनँ। 

तपाईंको विपक्षी उम्मेदवार पनि ‘हाइप्रोफाइल’ हुनुहुन्छ। अन्य राजनीतिक दलका उम्मेदवारलाई कसरी मूल्यांकन गर्नुभएको छ ? 

लोकतान्त्रिक व्यवस्थामा चुनावमा भाग लिन सबैलाई अधिकार छ। लामो समयदेखि हामी यही व्यवस्थाकै लागि लडेर आएका हौं। चुनावमा गएपछि स्वाभाविक रूपमा चुनौती भइहाल्छ। विपक्षी उम्मेदवारको कुरा गर्न त्यति रुचाउदिनँ। मेरो त्यस्तो स्वभाव छैन। मलाई जित्छु भन्ने विश्वास छ।

अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि स्वतन्त्र व्यक्ति तामझामका साथ चुनावमा होमिएका छन्, सामाजिक सञ्जालदेखि मिडियासम्म उनीहरूको चर्चा देखिन्छ, यसलाई कसरी लिनुभएको छ ?

 

सबैलाई उम्मेदवार बन्न पाउने अधिकार छ। बजारमा स्वतन्त्र उम्मेदवारको तामझाम देखिरहेका छौं, तर यो क्षणिक हो। एक महिनाका लागि आउनुहुन्छ, फेरि चुनाव सकिएपछि हराउनुहुन्छ। उम्मेदवारको पृष्ठभूमि हेर्नुपर्छ। व्यक्ति र व्यक्तिसम्बद्ध राजनीतिक दलले के गरेको छ भनेर हेर्नुपर्छ। व्यक्तिले मात्रै यहाँ केही पनि गर्न सक्दैन। पानीको फोकाजस्तो आउँछन् र एकैछिनमा सुक्छन्। त्यसकारण यसलाई सबैले मूल्यांकन गर्नुपर्छ।

महानगरवासीको प्रमुख समस्या के देख्नुभएको छ ? त्यसको समाधान कसरी गर्नुहुन्छ ? 

महानगरवासी समस्या नै समस्यामा हुनुहुन्छ। फोहोर, धुलो, धुवाँ, खाल्डाखुल्डी सडक लगायत धेरै समस्या छन्। सबैभन्दा ठूलो समस्या सुशासनको अभाव हो। घर सफा भएन भने बाहिर ठूलाठूला कुरा गरेर केही हुँदैन। घर सफाइ भन्नाले महानगरको आन्तरिक सफाइ हो। महानगरलाई भ्रष्टाचारमुक्त बनाउने, चुस्तदुरुस्त सेवा प्रदान गर्ने, विज्ञान प्रविधिको उच्चतम उपयोग गर्दै घरबाटै सेवा लिन सकिने व्यवस्था गर्न सकिन्छ। 

फोहोरमैला व्यवस्थापन र ट्राफिक जामको समाधानका लागि तपाईंसँग के–कस्ता योजना छन् ? 

मैले राजनीतिसँगै घर पनि सम्हाल्दै आएकी छु। फोहोरलाई घरबाटै व्यवस्थापन गर्न सकिन्छ। सँगै महानगरपालिकाले काठमाडौंमा उठेका फोहोरलाई प्रविधिको प्रयोग गरेर काठमाडौंमै व्यवस्थापन गर्न सक्छ। त्यसबाट अर्थोपार्जन समेत हुन्छ। फोहोरलाई मोहरमा रूपान्तरण गर्न योजना बनाएर अगाडि बढ्छौं। ट्राफिक, फुटपाथ लगायत जे–जति समस्या छन्, तिनलाई समाधान गर्ने दृढ अठोटसहित आएकी छु। 

महिलाका लागि विशेष योजना छन् कि ? 

म आफैँ महिला भएको र महिला संघले नै मेयरका लागि प्रस्ताव गरेर उम्मेदवार भएका कारण महिलालाई प्राथमिकतामा राखेर काम गर्छु। महानगरमा न्यून आयआर्जन भएका महिलाले घरपरिवार धानेर बसेका छन्। टेको लगाइएको घर भाडामा बस्ने किसान, मजदुर महिलाका लागि विशेष राहतको प्याकेज ल्याउने योजना छ। 

बिहानदेखि बेलुकासम्म घरको काम गरेरै दैनिकी गुजार्ने दिदीबहिनी छन्। हामी श्रमको उचित मूल्यांकन र सम्मान गर्नुपर्छ भन्छौं, श्रमिक दिवस मनाउँछौँ, ठुल्ठूला होटलमा कार्यक्रम गरेर ठूलाठूला कुरा गर्छौं। महिलाले बिहानदेखि बेलुकासम्म गर्ने काम पनि श्रम हो। उहाँहरूको सहज जीवनयापन सुनिश्चित गर्न राहतका प्याकेज ल्याउँछु। समस्त महानगरका दिदीबहिनीका लागि सीपमूलक तालिम दिने, सीपलाई सदुपयोग गर्न प्रत्येक वडामा कोसेली घर सञ्चालन गर्ने र महानगरपालिकाले समन्वय गरेर बजारीकरण गर्ने गरी काम गर्नेछु। महिलालाई थप आत्मनिर्भर बनाउन उनीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विशेष जोड दिनेछु। 

काठमाडौं महानगरपालिका देशकै राजधानी पनि हो। यहाँ देशका विभिन्न भूभागबाट आएका महिलाले श्रम गर्नुहुन्छ। आफू काम गर्ने समयमा बच्चालाई शिशु स्याहार केन्द्रमा लगेर राख्नुहुन्छ, त्यसो हुँदा आफूले कमाएको आधा रकम बच्चाका लागि मात्रै खर्च हुन्छ। त्यस्ता दिदीबहिनीका लागि सामुदायिक विद्यालयसँग समन्वय गरेर शिशु स्याहार केन्द्र खोल्छु। म आफैँ पनि आमा हुँ, आफ्नो बच्चा सुरक्षित छ कि छैन भनेर चिन्ता सबै आमालाई हुन्छ। त्यसकारण त्यस्ता महिलाका लागि सामुदायिक विद्यालयसँग सहकार्य गरी अत्यन्त न्यून शुल्क लिएर उनीहरूका बच्चालाई दिनभर सुरक्षित राख्ने व्यवस्था गर्नेछु। ती बच्चालाई नियमित पौष्टिक आहारको व्यवस्थादेखि सुरक्षासम्मको व्यवस्था महानगरले गर्ने गरी तत्काल अगाडि बढाउँछु। 

महानगरका सबै सडकमा बत्ती र सिसिटिभी छैन। यसो हुँदा ढिलासम्म श्रम गर्ने र रातमा काम गर्ने महिलालाई हिँडडुल गर्न सुरक्षाका दृष्टिले चुनौतीपूर्ण छ। यसको समाधानका लागि नेपाल प्रहरीसँग समन्वय गर्ने, भित्री तथा बाहिरी सडकमा अनिवार्य सडकबत्ती र सिसिटिभी राख्ने लगायत योजना छन्। 

कति मत पाउँछु भन्ने आकलन गर्नुभएको छ ? 

यहाँ तीन लाख बढी मतदाता छन्। हचुवाका भरमा यति नै मत पाउँछु भन्दिनँ। चुनावी अभियानमा हिँड्दा बनावटी र ठूलाठूला आश्वासन देखाएको छैन। जित्छु भन्नेमा पूर्ण विश्वस्त छु।

मैले सुशासनलाई विशेष प्राथमिकता दिएकी छु। पृष्ठभूमि हेर्नुभयो भने मेरो परिवारले अहिलेसम्म भ्रष्टाचार गरेको छैन। भ्रष्टाचारलाई नियन्त्रण गर्ने र सुशासन कायम गर्नु नै मेरो प्राथमिकतामा छ। सुशासन कायम भयो भने विकास निर्माण र अन्य काममा चाँडै सफलता पाउन सकिन्छ। 


चुनावी खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ?

चुनावका लागि मैले व्यक्तिगत रूपमा खर्च गर्नुपरेको छैन। घरदैलो अभियानमा सहभागीमध्ये धेरै स्वतस्फूर्त तरिकाले आउनुहुन्छ। उहाँहरू आफैँ झन्डा बनाउनुहुन्छ, चियानास्ता पनि घरमै खाएर आउनुहुन्छ। उल्टै मलाई ‘भाउजू के खानुहुन्छ’ भनेर सोध्नुहुन्छ। अफिसको बाहेक अन्य खर्च नभएका कारण त्यति ठूलो रकम खर्चिनुपर्ने अवस्था छैन। 

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? 

म काम गर्न आएकी हुँ। म महानगरवासीको सेवा गर्न चाहन्छु। सबैले चाहेको र खोजेको स्वच्छ, सफा र सुरक्षित काठमाडौं बनाएर देखाउने प्रतिबद्धता छ। आफ्नो अमूल्य मत दिएर मलाई जिताउन हुन सम्पूर्ण महानगरवासीसँग अनुरोध गर्छु। 
 

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्