‘मरेको भए आनन्द हुन्थ्यो, अब ३५ लाख कहाँबाट खोज्नु?’
काठमाडाैं, कात्तिक ३ : कीर्तिपुरको पागादोबाटो नजिकै रहेको घरको दोस्रोतलामा २५ वर्षीय युवक पल्टिरहेका छन्। अनुहारमा अल्लारे उमेरको झल्को छ, बोलीमा उस्त....
काठमाडाैं, कात्तिक ३ : कीर्तिपुरको पागादोबाटो नजिकै रहेको घरको दोस्रोतलामा २५ वर्षीय युवक पल्टिरहेका छन्। अनुहारमा अल्लारे उमेरको झल्को छ, बोलीमा उस्तै जोस र जागर छ। तर, उनको कम्मरमूनिको भाग भने कच्याककुचुक्क छ।
‘त्यहिवेला मरेको भए आनन्द हुन्थ्यो। डाक्टरले निको हुन ३५ लाख रुपैयाँ लाग्छ भनेका छन्। अब यत्रो पैसा कहाँबाट खोज्नु?,’ उनी आफैसँग प्रश्न गर्छन्।
उनी अर्थात वासुदेव जोशी नौ महिनादेखि साथीभाइकै सहरामा बसिरहेका छन्। कम्मरमूनिको भाग चल्दैन। हात र टाउको चोट पनि निको भएको छैन। ‘न उठ्न सक्छु, न त हिंड्न नै। साथीहरूको सहयोगमा बल्लतल्ल अलि बस्नसक्ने भएको छु,’ वासुदेव भन्छन्।
साथीहरूकै सहयोगमा उनी काठमाडौं पुगेका हुन्। उनको घर त बैतडीको डिलाशैनी हो। कीर्तिपुर पुगेको नौ महिना भयो । उनको यो अवस्था भएको चाहिँ तीन वर्ष पुग्यो।
उनी गाडी चलाउँथे। बैतडीमा गाडी चलाउन सिकेका उनी पाँच वर्ष अघि भारतको हरियाणा गएका थिए। दुई वर्ष सहचालक भएका उनले त्यसपछि चालकको लाइसेन्स निकाले।
त्यसपछि चालक भएर र्यापटन कम्पनीको मालबाहक गाडी चलाउन थाले। उनले भारतको सबै शहरमा गाडी कुदाउथे। ‘राम्रै थियो। कहिले गुजरात, कहिले दिल्ली, कहिले मुम्बई पुग्थेँ,’ वासुदेव सम्झिन्छन्।
सबै दिन एकनासका हुँदैनन्। २०७४ वैशाख १५ बिहान ५ बजेतिर हो, मुम्बईनजिकै खण्डला घाटमा दुर्घटना भयो। ‘आफ्नै साइडमा थिएँ। अगाडिबाट आएको गाडीले ठोक्यो,’ उनी भन्छन्।
त्यसपछि हो उनको कम्मरमूनिको सबै भाग चल्न छोडेको। हात र टाउको पनि ठूलो चोट लागेको थियो।
उनको ६ महिना भारतमै उपचार भयो। अर्थचेत नै थिए। ‘जब होसमा आएँ, अस्पतालको बेडमा भेटेँ,’ वासुदेव सम्झिन्छन्, ‘म त निद्राबाट उठेजस्तै भएँ। जब आँखा खोलेँ, कोठाभरी ट्याँट्याँ र टुँटुँ मेसिनको आवाज थियो। उठ्न खोजेँ, नर्स आएर रोक्यो।’
होसमा आएपछि निको हुने आस थियो। राम्रो उपचार पाइएला भन्ने लागेको थियो। तर, त्यस्तो भएन। ‘मसँग भारतकै पेनकार्ड, आईडि कार्ड थियो। भारतीय सोचेर उपचार गरेका थिए। नेपालको भन्ने थाहा पाएपछि वास्ता गरेनन्,’ उनी भन्छन्।
कम्पनीका मालिक सेकु सिंह र जोराउत सिंहले ६ महिनापछि फेरि उपचारका लागि बोलाउने भन्दै एम्बुलेन्समा राखेर नेपाल पठाएको उनी बताउँछन्। बनबासा हुँदै महेन्द्रनगर पुगे। त्यहाँ आएका आफन्तले बैतडी लगे।
केही दिन त आफन्तले हेरचाह गरे तर, सँधै एकनासको भएन। घरमा बृद्ध बुवामात्रै थिए। आमाको सानै छँदा मृत्यु भएको थियो। अनि साथीभाइको सहयोगमा काठमाडौं आए। ‘दुई महिना वीर अस्पताल र ट्रमा सेन्टरमा बसेँ तर, उपचार सम्भव नभएको भन्दै फिर्ता पठाए,’ उनी भन्छन्।
त्यसपछि उनका साथीभाइले मेडिसिटी अस्पताल पुर्याए। अस्पतालले उपचार निकै खर्चिलो रहेको र पैसा भए हिडडुल गर्न सकिने हुने बताएको उनी सुनाउँछन्। ‘विदेशबाट कृत्रिम जोर्नी ल्याउनु पर्छ। त्यसैले उपचारमा ३५ लाख रुपैयाँसम्म लाग्छ भनेका छन्,’ वासुदेव भन्छन्, ‘निको हुँदैन भनेको भएपनि मन बुझाउन हुन्थ्यो तर, पैसा नहुँदा उपचार गर्न सकेको छैन।’
घरको आर्थिक अवस्थाले उपचार गर्न सम्भव छैन। आफन्तजनको पनि उपचार गर्न सक्ने आर्थिक अवस्था नभएको उनी बताउँछन्। ‘छटपटी हुन्छ, दुःख लाग्छ। पैसाको कमिले उपचार गर्न नपाउँदा जिउंदै मरिरहेको छु,’ वासुदेव पीडा पोख्छन्, ‘बरु उहिल्यै मरेको भए हुन्थ्यो। अब ३५ लाख कहाँबाट ल्याउनु?’
उनले उपचार सहयोगका लागि आग्रह गरेका छन्।