कान्छा उम्मेदवार विद्यानन्द, जसले उम्मेदवारी दिनुअघि दलित बस्तीको अनुसन्धान गरे
विद्यानन्दका बुवा कृषक तथा सामाजिक कार्यकर्ता हुन्। बुवाकै प्रेरणाले विद्यानन्द १४ वर्षको उमेरदेखि राजनीतिमा आएका हुन्।
काठमाडाैं, वैशाख १८ : २६ वर्षका विद्यानन्द चौधरीले सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। लोकतन्त्र समाजवादी पार्टी (लोसपा), सप्तरीका जिल्ला सहसचिव समेत रहेका उनी १४ वर्षको उमेरदेखि राजनीतिमा लागेका थिए।
निर्वाचन आयोगका अनुसार, अध्यक्ष पदमा उम्मेदवारी दिएकामध्ये विद्यानन्द सबैभन्दा कान्छा उम्मेदवार हुन्। विद्यानन्द २०७४ को चुनावमा राजपा पार्टीबाट वडाध्यक्षमा लडेका थिए। त्यतिबेला उनी मात्र १२ मतले पराजित भए। योपटक आफू विजयी हुनेमा उनी विश्वस्त छन्।
‘यसपालि यहाँका जनताले मेरो इच्छाशक्ति र क्षमतालाई पहिचान गरी अध्यक्षमा उम्मेदवारी दिन आग्रह गरेका हुन्,’ उनी भन्छन्, ‘मैले उम्मेदवारी दिएपछि यहाँका जनता निकै उत्साहित भएका छन्। त्यसैले मैले जित्ने निश्चित भइसकेको छ।
राजनीतिक यात्रा
विद्यानन्दका बुवा कृषक तथा सामाजिक कार्यकर्ता हुन्। बुवाकै प्रेरणाले विद्यानन्द १४ वर्षको उमेरदेखि राजनीतिमा आएका हुन्।
‘बुबा सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ, उहाँबाटै समाजका लागि केही गर्ने प्रेरणा पाएको हुँ,’ उनले टेलिफोनमा भने, ‘साथै बच्चैदेखि हाम्रो समाजमा भइरहेको कुरीति र यहाँका जनताले पाएको दुःख देख्दै आएको भएर पनि उनीहरूका लागि केही गर्छु भन्ने सोच आएको हो। १४ वर्षको उमेरदेखि नै म सक्रिय रूपमा राजनीतिमा लागेको छु।’
विद्यानन्दले कक्षा ८ सम्मको अध्ययन छिन्नमस्तामै गरेका हुन्। कक्षा ९ देखि पढ्न उनी काठमाडौं आएका थिए, कारणवश तीन महिनामै गाउँ फर्कनुप¥यो। त्यसपछि उनले गाउँबाटै स्नातक गरे, राजनीतिक विषय लिएर।
काठमाडौंको तीनमहिने (२०६८ मा) बसाइले आफ्नो जीवनमा ठूलो मोड ल्याएको उनी सम्झन्छन्। तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले मधेसका १० हजार युवालाई सेनामा प्रवेश गराउने मुद्दालाई अगाडि बढाएका थिए। यो अभिव्यक्तिलाई राष्ट्रिय राजनीतिमा विवाद बढेको थियो।
यसले विद्यानन्दलाई राजनीतिको ठूलो पाठ सिकायो। शरतसिंह भण्डारीको कुरा सही लागेर आफू तत्कालै राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)मा लागेको उनी बताउँछन्। उनी राजनीतिक पार्टीमा आबद्ध भएको यो नै पहिलोपटक थियो।
‘रामसपामा आबद्ध भएको केही समयमै मलाई पार्टीले विद्यार्थीको केन्द्रीय सदस्य बनायो। त्यसलगत्तै पूर्वाञ्चल विद्यार्थीको सहइन्चार्जको पनि जिम्मेवारी थियो,’ उनले भने, ‘रामसपापछि हामी राजपा, जसपा हुँदै अहिले लोसपा भएका छौँ।’ राजनीतिमा आउनका लागि परिवारको पनि साथ र सहयोग पाएको उनी बताउँछन्।
उम्मेदवारी दिनुअघि दलित बस्तीको अध्ययन
साबिकका बरही वीरपुर, कोचाबखारी, छिन्नमस्ता र लालापट्टी गाविस मिलेर २०७३ मा छिन्नमस्ता गाउँपालिका बनेको हो। सातवटा वडा रहेको यो गापा ३८.७२ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ। भारतीय सीमा क्षेत्रमा पर्ने यस गाउँपालिकामा छिन्नमस्ता भगवतीको मन्दिर रहेको छ।
विद्यानन्दले ६ महिना लगाएर यस गाउँपालिकाको अवस्थाका सम्बन्धमा अनुसन्धान गरेका थिए।
‘यहाँको वडा ३ मा ठूलो दलित बस्ती छ। हाम्रो अध्ययन अनुसार, यहाँ ६ सय ५३ दलित परिवारको वासस्थान (घर) निकै जोखिममा छ,’ उनी भन्छन्, ‘करिब पाँच हजार व्यक्ति जोखिम मोलेर घरमा बस्न बाध्य छन्। लक्षित कार्यक्रम नभए आउने अझै ५–१० वर्षसम्म उनीहरू त्यो अवस्थाबाट बाहिर निस्कने देखिँदैन।’
बेरोजगारी, जटिल स्वास्थ्य अवस्था, युवाको संख्यामा कमी, भूमिहीनता आदि कारण उनीहरु पछाडि परेको उनको विश्लेषण छ। यिनै समस्याको पहिचान गरी समाधानको उपाय निकाल्नु नै आफ्नो राजनीतिक एजेन्डा रहेको उनी बताउँछन्।
‘सर्वप्रथम उनीहरूलाई पक्की घरको व्यवस्था गर्ने मेरो योजना छ,’ उनी भन्छन्, ‘यसबाहेक यहाँ रहेका ८३ वटा पोखरीलाई माछापालन एवं अन्य आयस्रोतको रूपमा प्रयोग गर्ने, नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक छिन्नमस्तालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराएर पर्टयक संख्या बढाउने, हरेक वर्ग तथा समूहको हकअधिकार सुनिश्चित गर्ने, यहाँको लोक खानाको प्रचार गर्ने, प्राविधिक ज्ञान तथा सीपमूलक कार्यक्रम सञ्चालनमा ल्याउने, अन्य आन्तरिक आयस्रोत बढाउने योजना छ।’
आफ्नो गाउँपालिकाका जनतालाई कृषिमा आकर्षित गराउने, सबै सरकारी विद्यालयमा शिक्षालाई निःशुल्क बनाउने, पूर्वाधार विकास गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विभिन्न कार्यक्रम आफ्नो योजना रहेको उनी बताउँछन्।
‘मैले जितेँ भने हप्तामा तीन दिन कर्मचारीलाई घर वा टोलमा खटाएर विवाहदर्ता, जन्मदर्ता, नागरिकता बनाउने सुविधा दिनेछु,’ उनी भन्छन् ‘मेरो मुख्य उद्देश्य भनेकै यस ठाउँलाई एउटा मोडल सिटीको रूपमा विकास गर्नु हो।’
उनका अनुसार, यो ठाउँमा पहिले एउटा पनि बैंक थिएन। अहिले ‘क’ वर्गको एउटा बैंकको शाखा र करिब आठवटा लघुवित्त आफ्नै पहलमा ल्याएको उनी बताउँछन्।
स्थानीय जनताको आवश्यकता अनुसार योजना तथा कार्यक्रम नल्याउँदा विकास हुन नसकेको उनको बुझाइ छ। स्थानीय तहको विकास र समृद्धिका लागि युवा जनप्रतिनिधि आउन आवश्यक रहेको उनी बताउँछन्। ‘जनताकै बीचमा बसेर काम गरे विकास र समृद्धि सम्भव छ,’ उनी भन्छन्, ‘यी कुरा मैले घोषणापत्रमा उल्लेख गरेको छु। म यसलाई नेपालकै नमुना गाउँपालिका बनाउनेछु।’
-(15)-1746803086.jpeg)