Kathmandu Press

सानै उमेरदेखि संघर्षले खारिएकी संगीता, २५ वर्षमा उपप्रमुख भइन्, अहिले प्रमुखमा भिड्दै

पार्टी विभाजनपछि उनले एकीकृत समाजवादी रोजिन् । यसअघि उपप्रमुख हुँदा केही राम्रा काम गरेकाले अहिले जनताले आफूलाई जिताउनेमा उनी आशावादी छन्।
सानै उमेरदेखि संघर्षले खारिएकी संगीता, २५ वर्षमा उपप्रमुख भइन्, अहिले प्रमुखमा भिड्दै

काठमाडाैं, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनमा डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखका लागि एकीकृत समाजवादीका तर्फबाट संगीता भण्डारीले उम्मेदवारी दिएकी छन् । सानै उमेरदेखि जागिर र पत्रकारिता गरेकी भण्डारी यसअघि २५ वर्षको उमेरमा अमरगढीको उपप्रमुख भएकी थिइन् । हामीले उनलाई टेलिफोनमा सोध्यौँ, ‘तपाईं राजनीतिमा कसरी आउनुभयो र उपप्रमुख भइसकेपछि के के गर्नुभयो ?  

एक किसिमको संघर्षले खारिएकी संगीता भन्छिन्, ‘जिल्लामा पत्रकार रहँदा विभिन्न तालिम, गोष्ठी र क्षमता विकासका कार्यक्रममा सहभागी हुने अवसर पाएकी थिएँ । बुवालाई सघाउन सानैदेखि जागिर गरेँ । मानिस अनुभवबाट खारिन्छ । केही अनुभव बटुलिसकेपछि इमानदारीपूर्वक केही काम गर्छु भनी अठोट लिए, त्यो पूरा हुन सक्छ ।’

संघर्ष

Hardik ivf

संगीताको जन्म १८ पुस २०४९ मा अमरगढी नगरपालिका– २ साबिकको घटाल गाविस डबरबाटामा भएको हो । मध्यम वर्गीय कृषक परिवारमा जन्मेकी संगीताले ६ वर्षको उमेरमा आमालाई गुमाइन् । जेठी छोरी भएकाले आमाको निधनपछि उनको काँधमा भाइबहिनी हेर्नेदेखि बुवालाई सघाउने जिम्मेवारी आइलाग्यो । 

कक्षा १० मा पढ्दै गर्दा खर्चको जोहो गर्न उनले गाउँका महिलालाई प्रौढ शिक्षा पढाउन थालिन् । सँगसँगै सदरमुकामस्थित ‘आफ्नो एफएम’ रेडियोको कार्यालयमा कार्यालय सहयोगीको जागिर सुरु गरिन् । पछि सोही एफएम रेडियोको कार्यालयमा अकान्टेन्टको पार्टटाइम जागिर पाइन् । ०६५ सालदेखि उनले सोही एफएमबाट पत्रकारिता पनि सुरु गरिन्, कार्यक्रम सञ्चालिका तथा संवाददाताका रूपमा ।

पछि डडेल्धुराकै ‘अमरगढी’ र ‘युनिटी’ एफएममा समेत उनले पत्रकारिता गरिन् । २०६९ देखि ०७३ सम्म ‘अपांग कल्याण सेवा समिति डडेल्धुरा’मा कम्प्युटर अपरेटरका रूपमा काम गरिन् । संघर्षका बीच संगीताले सोसल वर्क विषय लिएर स्नातक गरेकी छन् ।

‘जागिर, पत्रकारिता र अध्ययनले मेरो आत्मविश्वास बढ्दै थियो,’ संगीता भन्छिन्, ‘अर्कोतिर समाजका समस्याबारे प्रत्यक्ष रूपमा जान्ने र बुझ्ने अवसर पाएँ । पत्रकारिताबाट समाजलाई नियाल्दै जाँदा महिलाको क्षेत्रमा केही गर्नुपर्छ, आवाजविहीन दिदीबहिनीको आवाज म बन्नुपर्छ भनी महसुस गरी राजनीतिमा लागेकी हुँ ।’ 

संगीताको परिवारले नेकपा एमालेमा आस्था राख्दै आएको थियो । उनका ठूलोबुवा ०५४ सालमा नेकपा एमालेबाट वडा सदस्य भएका थिए । यही पृष्ठभूमिका कारण संगीताले ०७१ मा एमालेको सदस्यता लिएकी थिइन् । पत्रकारिता गर्दै गर्दा प्रेस चौतारी डडेल्धुरामा विभिन्न जिम्मेवारी लिएर काम गरिन् । ०७४ को स्थानीय निर्वाचनमा पार्टीले टिकट दिनुअघि उनी प्रेस चौतारी नेपालको सातौँ महाधिवेशनमा डडेल्धुराबाट प्रतिनिधि थिइन् ।

पार्टीले टिकट दिए पनि आफूले जितौँला भन्ने उनलाई लागेको थिएन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला भएकाले आफूले चुनाव जित्नेमा उनलाई शंका रहेछ । ‘पार्टीले मेरो योगदान र क्षमता हेरेर टिकट दियो । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा नेकपा एमालेबाट उपप्रमुख जितौँला भन्ने सोचेकै थिइनँ,’ संगीता भन्छिन्, ‘प्रमुख र उपप्रमुख दुवै पद र ६ वडाको वडाध्यक्ष लगायत हामीले जित्यौँ ।’

पार्टी विभाजनपछि उनले एकीकृत समाजवादी रोजिन् । यसअघि उपप्रमुख हुँदा केही राम्रा काम गरेकाले अहिले जनताले आफूलाई जिताउनेमा उनी आशावादी छन् । उपप्रमुख हुँदा के गरिन् त ?

महिलालाई सीपमूलक तालिम 

आफू जनप्रतिनिधि भएपछि नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको उनी बताउँछिन् । ‘क्रिस्टल चुरापोते बनाउने, सेनिटेरी प्याड बनाउने, सिलाइकटाइ, मेसिनबाट स्विटर र मफलर बुन्ने जस्ता बजारमा माग भए अनुरूपका तालिम हामीले यहाँका महिलालाई प्रदान गरेका छौँ,’ उनी भन्छिन्, ‘नगरपालिकाभित्र तीन महिनाअघि मात्रै स्वयंसेविकाको एउटा क्लब गठन गरेका छौँ । त्यो क्लबले आमा समूहमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, स्थानीय खानाको संरक्षण गर्नेसम्बन्धी जनचेतना जगाउँदै आइरहेको छ ।’

आर्थिक वर्ष ०७७/७८ देखि नगरपालिकाले कुपोषण अन्त्य गर्न स्थानीय स्तरमा सहकारी संस्थासँग सहकार्य गरेर लिटो उत्पादन तथा कुपोषण भएका बालबालिकामा वितरण गर्दै आएको छ । २०७८ देखि नगरपालिकाले महिलालाई ‘लघु उद्योग स्थापना’मा सहयोग गर्दै आएको छ । ‘अहिले करिब ३० जति लघु उद्योग दर्ता भइसकेका छन्,’ संगीता भन्छिन्, ‘स्थानीय स्तरमा लघु उद्योग स्थापना गर्नका लागि पहिलो चरणमा उद्यमशीलताको तालिम र दोस्रो चरणमा सीप विकासको तालिम दिइन्छ । तेस्रो चरणमा प्रविधि हस्तान्तरण गरिन्छ । उद्यमी महिलालाई कुन कुन ठाउँबाट सहुलियत रूपमा कर्जा लिन सकिन्छ भनी ओरिन्टेसन कक्षा पनि गरेका थियौँ ।’ 

सेनिटेरी प्याड बनाउने तालिम 

नगरपालिकाले २०७७ देखि महिलालाई सेनिटेरी प्याड बनाउने तालिम दिँदै आएको छ । यसका लागि तीन वर्षअघि योजना बनाए पनि कोभिडले सम्भव नभएको उनी बताउँछिन् । ‘नगरभित्रका करिब दुई सय महिलालाई तालिम दिने योजना थियो । कोभिडले गर्दा सय महिलालाई मात्र तालिम दिन सफल भयौँ,’ संगीता भन्छिन्, ‘तालिम लिएका महिलाले पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन गरिरहेका छन् ।’

प्याड बनाउने तालिम लिने महिलालाई नगरपालिकाले मेसिन पनि उपलब्ध गराएको थियो । यो वर्ष एक सय ५० जनालाई तालिममा सहभागी गराउने नगरपालिकाको लक्ष्य छ । संगीताका अनुसार, प्याडका लागि आवश्यक कच्चा पदार्थ स्थानीय व्यापारीबाटै लिन सकिन्छ । तालिमप्राप्त महिलाले उत्पादन गरेको प्याड नगरपालिकाले खरिद गरी नगरपालिकाका विद्यालयमा वितरण गर्दै आएको संगीता बताउँछिन् । 

सेफ हाउसबाट सहयोग

नगरपालिकाभित्र पहिलेदेखि नै महिलालाई आश्रय दिने ‘सेफ हाउस’ सञ्चालित थियो । आफूहरु जनप्रतिनिधि भई आइसकेपछि त्यसलाई व्यवस्थित बनाएको उनी बताउँछिन् । 

‘खास गरेर हाम्रो नगरपालिकाभित्र मदिरा पिउने श्रीमानबाट महिलाहरू हिंसामा पर्ने गर्छन् । अहिले महिला हिंसाका केसमध्ये ६० प्रतिशत मदिराकै कारण भएको देखिन्छ,’ संगीता भन्छिन्, ‘मदिरा नियन्त्रण गर्ने प्रयास पनि भएको हो, तर सदरमुकामको नगरपालिका भएकाले व्यापारीको दबाब हुँदो रहेछ । अर्कोतिर लुकिछिपी मदिरा उत्पादन गर्ने क्रम चलिरहेको हुन्छ ।’ 

उनका अनुसार, हिंसामा परी ‘सेफ हाउस’ आएका दिदीबहिनीलाई नगरपालिकाले केही न केही तालिम दिने गरेको छ । अमरगढी नगरपालिका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सेन्टरजस्तै भएकाले अन्य जिल्लाका हिंसापीडित महिला पनि ‘सेफ हाउस’ आउने गरेको भण्डारी बताउँछिन् । ‘अहिले मासिक रूपमा डडेल्धुरा जिल्लाका अन्य पालिकाबाट ४–५ जना हिंसापीडित महिला आइरहेका छन्,’ उनले भनिन्, ‘सेफ हाउस अहिले महिला मुक्ति समाजले हेरिरहेको छ । हिंसापीडित कुनै महिला सेफ हाउस आएमा उनीहरूको समस्या पहिचान गरी सोही बमोजिमको सेवा सुविधामा नगरपालिकाले दिँदै आएको छ ।’ 

पाँच वर्षको कार्यकालमा नगरपालिकाको न्यायिक समितिमा ६५ मुद्दा दर्ता भएको संगीता बताउँछिन् । जसमध्ये जग्गासम्बन्धी मुद्दा बढी थिए । यी मुद्दा न्यायिक समितिको मेलमिलाप केन्द्रमार्फत मिलाएको संगीता बताउँछिन् ।

प्रमुखमा उम्मेदवारी किन ?

यो अवस्थामा महिला र बालबालिकाको क्षेत्रमा काम गर्न महिला नै निर्णायक तहमा पुग्नैपर्ने संगीताको अनुभव र बुझाइ छ । 
भर्खरै निर्वाचन आयोगले राजनीतिक दलका नाममा जारी गरेको निर्देशनको बुँदा नम्बर ६ सच्चायो । जसमा कुनै दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा मात्र उम्मेदवारी दिने भए महिलाकै मनोनयन गर्नुपर्ने उल्लेख थियो । त्यसलाई सच्चाएर दललाई महिलाको मनोनयनमा प्राथमिकता दिनुपर्ने बनाइएको छ । यसले गर्दा यसपालि महिला उम्मेदवारको संख्या घटेको छ । 

‘नेतृत्व गर्ने तहमा महिला जान पाए महिलादेखि घर–परिवारको समस्या बुझेर काम गर्छन्,’ संगीता भन्छिन्, ‘संविधानले सुनिश्चित गरेको समावेशीको व्यवस्थालाई कार्यान्वयन गर्न पनि महिला नेतृत्वमा जानुपर्छ ।’ महिलालाई अगाडि ल्याउन र विगतमा पूरा गर्न नसकेको योजना पूरा गर्न यसपालि नगरप्रमुख पदका लागि उम्मेदवारी दिएको उनको भनाइ छ । 

‘महिला राजनीतिमा लागिरहँदा उसको चरित्रसँग जोडेर कुरा गर्ने परिपाटी छ, जसले महिलालाई राजनीतिमा आउन चुनौती बनेको छ,’ उनी भन्छिन्, ‘यी चुनौतीलाई चिरेर जान सक्यौँ भने सफल भइन्छ, कतिपय महिला सुरुमा अगाडि बढ्छौँ भनी आए पनि यो किसिमका चुनौतीका बाबजुद फेरि फर्कनुभएको देख्दै आएकी छु ।’

२०६९ मा अमरगढी नगरपालिका– ३ का यज्ञराज गिरीसँग प्रेम विवाह गरेकी संगीता राजनीतिमा लाग्न घर–परिवार र श्रीमानबाट आफूले भरपुर साथ–सहयोग पाउँदै आएको बताउँछिन् । 
 

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्