‘गाउँमा केटाहरूले बक्सिङ सिकेको हेर्न जान्थेँ’
६० केजी तौल समूहकी नेपालको नम्बर एक महिला बक्सर पुनमले नेपालमै भएको १३औं सागमा रजत पदक जितेकी थिइन्। त्यस्तै २०१८ मा जकार्तामा भएको एसियन गेम्समा पनि भाग लिएकी थिइन्। अहिलेसम्म उनी राष्ट्रिय स्तरमा करिब १२ पटक च्याम्पिएन भएकी छन् ।काठमाडौं, वैशाख १६ : ‘अहिले बाजुरा जाँदा सबैले माया र सम्मान गर्नुहुन्छ। बक्सिङ खेल्न चाहने आफ्ना छोराछोरीलाई अभिभावकले प्रोत्साहित गरेको पनि देखेकी छु। खुसी लाग्छ,’ बक्सिङ खेलाडी पूनम रावलले फोनमा भनिन्।
बडिकालिका नगरपालिका– ८ बाजुराकी पूनमले थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० सम्म भएको ‘अन्तर्राष्ट्रिय खुला बक्सिङ’मा महिला ६० केजी तौल समूहमा कास्य पदक जितिन्। अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले जितेको यो दशकपछिको पदक हो। १२ वर्षअघि दीपक महर्जनले कास्य जितेका थिए।
यो सफलताले पूनमलाई हौसला मिलेको छ। यही सफलताले उनलाई विश्व महिला बक्सिङ च्याम्पियनसिपसम्म पु¥याएको छ। नेपाल बक्सिङ संघले प्रतियोगितामा ४ खेलाडी पठाउनेछ, जसमध्ये एक हुन् पूनम। टर्कीको इस्तानबुलमा मे ६ देखि २१ सम्म हुने प्रतियोगितामा पूनमसँगै सुष्मा तामाङ, मिनु गुरुङ र चन्द्रकला थापाले नेपालको प्रतिनिधित्व गर्नेछन्।
सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा पूनम प्रतियोगिताका लागि आफूलाई तयार गरिरेकी छिन्। उनलाई दीपक महर्जनले प्रशिक्षण दिइरहेका छन्। नेपाली सेनामा आबद्ध २५ वर्षीया पूनमलाई यतिखेर प्रेरणा र हौसलाको कमी छैन।
अन्तर्राष्ट्रिय स्तरको यो उनको तेस्रो खेल हो। पहिलोपटक उनले सन् २०१७ मा भियतनाम भएको ‘अन्तर्राष्ट्रिय महिला बक्सिङ’ प्रतियोगितामा सहभागी भएकी थिइन्, त्यतिबेला कुनै उपाधि जितिनन्। सन् २०१७ मा भारतको दिल्लीमा भएको ‘अन्तर्राष्ट्रिय बक्सिङ’ मा उनले कास्य जितेकी थिइन्।
६० केजी तौल समूहकी नेपालको नम्बर एक महिला बक्सर पुनमले नेपालमै भएको १३औं सागमा रजत पदक जितेकी थिइन्। त्यस्तै २०१८ मा जकार्तामा भएको एसियन गेम्समा पनि भाग लिएकी थिइन्। अहिलेसम्म उनी राष्ट्रिय स्तरमा करिब १२ पटक च्याम्पिएन भएकी छन्।
गाउँमै तालिम
कुनै बेलाका राष्ट्रिय स्तरका बक्सिङ खेलाडी योगेन्द्र थापाले अवकाश जीवनमा इच्छुकलाई बक्सिङ सिकाउँदै थिए, पूनमको घरनजिकै। पूनम सधैँ केटाहरूले बक्सिङ सिकेको हेर्न जान्थिन्। यसरी नै यस खेलप्रति उनको रुचि बढ्न थाल्यो। ‘म सानैदेखि निडर र साहसी थिएँ। यो कुराको हेक्का गुरु (योगेन्द्र)ले राख्नुभएको रहेछ,’ पूनम भन्छिन्, ‘उहाँले मलाई बक्सिङ सिक्न प्रेरित गर्नुभयो। मैले घरमा सल्लाह गरेँ। सुरुमा परिवारले मान्नुभएन, पछि मेरो घरमै गएर गुरुले सम्झाइबुझाइ गर्नुभयो र १४ वर्षको उमेरदेखि मैले सिक्न पाएँ।’
बाजुरामा छोरी मान्छेले बक्सिङ सिक्नु ठूलो कुरा थियो। बक्सिङ सिकेर के गर्ने, यसले के फाइदा हुन्छ, छोरीले बक्सिङ सिकेर लड्दै हिँड्ने ? भन्नेजस्ता सवाल र सोच गाउँमा व्याप्त थियो। परिवारको सहमतिमा उनले बक्सिङ सिक्न थालेसँगै गाउँ–समाजमा कुरा काट्न थालियो। ‘मैले बक्सिङ सिक्न सुरु गर्दा मानिसले कुरा काट्न थाले– काम नपाएकी, छोरी भएर बिहानबिहान दौडिने गर्छे, कताकता खेल्न जान्छे,’ पूनम भन्छिन्, ‘मैले त्यो समयमा कसैको कुरा सुनिनँ।’
जब गुरुले पूनमलाई काठमाडौं ल्याए
सन् २०१४ मा काठमाडौंमा ‘महिला बक्सिङ प्रतियोगिता’ आयोजना हँुदै छ भन्ने बेहोराको चिठी जिल्ला प्रशासन कार्यालय (बाजुरा)लाई गयो। जिल्लाले उक्त चिठीबारे पूनमका गुरु योगेन्द्रलाई जानकारी गराएको थियो। आफूले सिकाइरहेका खेलाडीलाई त्यस प्रतियोगितामा सहभागी गराउन पूनम लगायत केही खेलाडी लिएर योगेन्द्र काठमाडौं आए।
काठमाडौंमा पहिलो गेममा पूनमले रुकुमकी खेलाडीलाई पराजित गरेकी थिइन्। त्यतिबेला फाइनल खेल उनले आर्मीकी खेलाडीसँग खेल्नुपरेको थियो, जुन खेलमा उनी पराजित भइन्। ‘पहिलोपटक नेसनल लेभलको बक्सिङ खेल्दै थिएँ, तर मलाई डर थिएन,’ उनी भन्छिन्, त्यसैले पहिलोपटकमै मैले दोस्रो स्थान हासिल गरेँ।’
दोस्रो स्थानको मेडल लिएर फर्कंदा उनलाई जिल्लामा सम्मान गरिएको थियो। यसपछि कुरा काट्नेहरूले पनि प्रशंसा गर्न थालेको उनी बताउँछिन्।
आर्मीबाट अगाडि
२०७१ मा पूनम नेपाली सेनामा भर्ती भइन्। यसपछि आफूले खेल क्षेत्रमा नयाँ फड्को मार्न पुगेको उनी बताउँछिन्। ‘खेलप्रतिको मेरो जोस र जाँगर देखेर मेजर सागर शमसेर थापा सरले मलाई बक्सिङमै करिअर बनाउन हौसला दिनुभयो। त्यसपछि मैले अझ मेहनत गर्न थालेँ,’ पूनम भन्छिन्, ‘बक्सिङ खेल्न पहिलेदेखि सुरु गरे पनि आर्मीमा आइसकेपछि थप हौसला र अवसर मिल्यो।’
आर्मी क्लबभित्र प्रधानसेनापति ट्रफी लगायत बक्सिङ खेल आयोजना भइरहन्छ, त्यस्ता प्रतियोेगितामार्फत सेनाका इच्छुक खेलाडीले प्रतिभा प्रदर्शन गर्न सक्ने पूनम बताउँछिन्।
‘महिला कमजोर हुँदैनन्’
अहिले बक्सिङ क्षेत्रमा लाग्न चाहने महिलाका लागि राम्रो अवसर रहेको पूनम बताउँछिन्। ‘पहिले बक्सिङ लगायत खेल पुरुषले मात्र खेल्ने मानिन्थ्यो। पिट्ने, कुट्ने जस्ता खेलमा महिला कमजोर हुन्छन्, खेल्न सक्दैनन् भन्ने मान्यता राखिन्थ्यो,’ पूनम भन्छिन्, ‘अहिले त्यस्ता मान्यता विपरीत महिलाले बक्सिङ लगायत खेलमा दिन प्रतिदिन राम्रो गर्दै गइरहेका छन्।’
हामीकहाँ परिवार, समाज र राज्यबाट साथ र सहयोग नहुँदा महिलाहरू बक्सिङ जस्ता खेलमा खुलेर नआएको पूनम बताउँछिन्। ‘अझै पनि धेरै खेलाडीले परिवारबाट सपोर्ट पाउँदैनन्,’ उनी भन्छिन्, ‘महिला खेलाडीलाई प्रोत्साहित गर्न सरकारले नै पहल गर्नुपर्छ। खेलाडीलाई खेलबाटै जीविकोपार्जन गर्न सक्ने वातावरण सिर्जना गरिदिनुपर्छ।’
पूनमले २०७७ वैशाखमा हिमाली गाउँपालिका बाजुराकै मदनराज पाण्डेसँग प्रेम विवाह गरेकी छन्। मदन पेसाले इन्जिनियर हुन्। विवाहपछि परिवार र श्रीमान्को भरपूर साथ र सहयोग रहेकाले जागिरसँगै खेल क्षेत्रमा अगाडि बढ्न सहज भएको पूनम बताउँछिन्।
बक्सिङ क्षेत्रमा अगाडि बढ्न वा निरन्तरता दिन पाएकामा उनी परिवार, गुरुहरू र नेपाली सेनाप्रति आभार व्यक्त गर्छिन्। ‘यीमध्ये कुनै एक पक्षले मलाई बक्सिङ खेलमा रोकतोक गरेको भए म आज यो स्थानसम्म आउन सक्ने थिइनँ,’ पूनमले भनिन्।