Kathmandu Press

धादिङका तीन स्थानीय तहमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा, को कति बलियो ?

एकीकृत समाजवादीका उच्च तहका तीन नेता (राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर र गुरुप्रसाद बुर्लाकोटी) धादिङबाटै प्रतिनिधित्व गर्छन् । त्यसकारण अन्य जिल्लाको तुलनामा धादिङमा एकीकृत समाजवादीको प्रभाव राम्रो देखिन्छ ।
धादिङका तीन स्थानीय तहमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा, को कति बलियो ?

काठमाडाैं, वैशाख १४ : आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङमा तीन दलीय गठबन्धनले एमालेविरुद्ध प्रतिस्पर्धा गर्दै छ । जिल्लाका १३ वटै स्थानीय तहमा तालमेल गरी अगाडि बढ्ने गठबन्धन दल (कांग्रेस, माओवादी र एकीकृत समाजवादी) को निर्णय अनुसार मनोनयन दर्ता सम्पन्न भइसकेको छ । 

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ८ स्थानीय तह, माओवादी केन्द्र र एकीकृत समाजवादीले क्रमशः तीन र दुई स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारीको भागबन्डा लगाइएको थियो । 

त्यस्तै, माओवादी केन्द्रलाई पाँच गाउँपालिका, कांग्रेस र एकीकृत समाजवादीलाई तीन–तीन स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षको उम्मेदवारीमा सहमति भएको थियो । तर, कांग्रेस र माओवादी केन्द्रले अधिकांश स्थानीय तहमा भागबन्डाविपरीत उम्मेदवार दर्ता गराएपछि जिल्लामा गठबन्धन भाँडिएजस्तै भएको छ । 

Hardik ivf

यद्यपि सहमतिविपरीतका उम्मेदवारी फिर्ता हुनेमा जिल्ला नेतृत्वमा रहेका नेता आशावादी छन् । बुधबार गठबन्धनको केन्द्रीय संयन्त्रले सहमति विपरीतका उम्मेदवारी फिर्ता गराउने निर्णय समेत गरिसकेको छ । 

एकीकृत समाजवादीका तीन नेताको प्रभाव 

गठबन्धन भाँडिएको अवस्थामा पनि जिल्लाका तीन स्थानीय तहको नेतृत्वका लागि एमाले र पूर्वएमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले एक नगरपालिकाको प्रमुख, दुई गाउँपालिकाको अध्यक्ष र चार गाउँपालिकामा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराइसकेको छ । एमालेले पनि सोमबारसम्म जिल्लाका सबै स्थानीय तहमा मनोनयन दर्ता गराइसकेको छ । 

एकीकृत समाजवादीका उच्च तहका तीन नेता (राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर र गुरुप्रसाद बुर्लाकोटी) धादिङबाटै प्रतिनिधित्व गर्छन् । त्यसकारण अन्य जिल्लाको तुलनामा धादिङमा एकीकृत समाजवादीको प्रभाव राम्रो देखिन्छ । एमाले फुट्दा धादिङका ८५ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गराएका थिए । 

गठबन्धनमा भागबन्डा हुँदा पार्टीको पकड भएका दुई स्थानीय तह (धुनीवेशी नगरपालिका र गल्छी गाउँपालिका) को नेतृत्वका लागि एकीकृत समाजवादीले उम्मेदवारी पाएको छ । यसमाथि उसले यसअघिको निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिलाई नै उम्मेदवार बनाएको छ । 

यसअघिको निर्वाचनमा एमालेले जिल्लाका १३ मध्ये आठ स्थानीय तहको प्रमुख जितेको थियो ।  त्यस्तै, कांग्रेसले तीन र माओवादी केन्द्रले एक मात्रै स्थानीय तहमा प्रमुख जितेको थियो । यसकारण गठबन्धन रहेकै अवस्थामा पनि एकीकृत समाजवादीलाई एमालेविरुद्ध चुनाव लड्न त्यति सहज छैन । त्यसमाथि गठबन्धन भित्रबाटै सहमतिविपरीत उम्मेदवारी परेपछि एकीकृत समाजवादी संकटमा देखिन्छ । 

धुनीवेशी नगरपालिका

अघिल्लो निर्वाचनमा धुनीवेशी नगरपालिकामा एमालेबाट निर्वाचित मेयर बालकृष्ण आचार्यले यसपटक एकीकृत समाजवादीबाट मेयरको टिकट पाएका छन् । अघिल्लो निर्वाचनमा उनी ६ हजार ६४४ मत पाएर विजयी भएका थिए । त्यसबेला माओवादी केन्द्रले ४ हजार ३३५ र कांग्रेसले ३ हजार ९२३ मत ल्याएको थियो । 

नगरपालिकाको मेयर भइसकेका कारण स्थानीय तहमा आचार्यको प्रभाव राम्रो देखिन्छ । गठबन्धनका आधारबाट हेर्दा अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीले मात्रै पाएको मत जोड्न सकिन्छ, यसो गर्दा एकीकृत समाजवादीको पक्षमा करिब ९ हजार मत पुग्छ । यस क्षेत्रमा एकीकृत समाजवादीका राम्रै कार्यकर्ता रहेको आकलन गरिएको छ । धुनीवेशीमा गठबन्धन कायम रहेको अवस्थामा आचार्य निर्वाचित हुने बलियो सम्भावना रहेको नेताहरू बताउँछन् । यद्यपि, एमालेमा भोट हाल्दै आएका पुराना मतदाताले यसपालि के गर्छन्, यसै भन्न सकिँदैन । धुनीवेशीमा एमालेले रामराजा पाण्डेलाई मेयरको उम्मेदवार बनाएको छ । 

गल्छी गाउँपालिका

गल्छीमा कृष्णहरि श्रेष्ठलाई एकीकृत समाजवादीले अध्यक्षको उम्मेदवार बनाएको छ । उनी अघिल्लोपटकको निर्वाचनमा एमालेबाट ६ हजार ५१ मत ल्याएर निर्वाचित भएका थिए । यस हिसाबमा यसपटक गल्छीमा यसपटकको निर्वाचन एमालेलाई चुनौतीपूर्ण हुने जानकार बताउँछन् । 

अघिल्लो निर्वाचनमा कांग्रेसले ५ हजार २०७ र माओवादी केन्द्रले २१० मत ल्याएका थिए । यस हिसाबमा गठबन्धनमा माओवादी र कांग्रेसको मात्रै साढे ५ हजार मत रहेको छ । एकीकृत समाजवादीको सन्तोषजनक संगठन भएकाले कृष्णहरी पनि सहज अवस्थामा छन् । गल्छीमा पनि गठबन्धनबाट अन्यको उम्मेदवारी परेको छैन । गल्छीमा एमालेले केदार खतिवडालाई अध्यक्षको उम्मेदवार बनाएको छ । 

गजुरीमा पनि समाजवादीको उम्मेदवारी

गजुरी गाउँपालिकामा गठबन्धनबीच विवाद भएपछि अध्यक्ष पदमा एकीकृत समाजवादीले पनि मनोनयन दर्ता गराएको छ । जिल्ला कमिटीका सचिव सुवास खतिवडाले सहमति जुटेको अवस्थामा एकीकृत समाजवादीको उम्मेदवार फिर्ता हुने बताएका छन् । 

गजुरीको अध्यक्षमा अघिल्लो निर्वाचनबाट एमालेका राजेन्द्रविक्रम बस्नेत ४ हजार २२६ मतसहित विजयी भएका थिए । यसपटक पनि एमालेले बस्नेतलाई नै निरन्तरता दिएको छ । 

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले कांग्रेससँगको तालमेलमा ४ हजार ६ मत पाएको थियो । यसपटकको निर्वाचनमा गठबन्धनको उम्मेदवार र बस्नेतको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

उपाध्यक्षका लागि समाजवादीका उम्मेदवार 

एकीकृत समाजवादीले उपप्रमुख पदका लागि भने सहमतिअनुसारकै मनोनयन दर्ता गराएको छ । जसअनुसार बेनीघाटमा टापबहादुर श्रेष्ठ, सिद्धलेकमा सविता अर्याल, ज्वालामुखीमा धर्म अर्याल र गंगाजमुनामा नारायणबहादुर कार्की रहेका छन् । 

उपाध्यक्ष पदमा भने गठबन्धन दलभित्रबाट समेत उम्मेदवारी परेको छ । ज्वालामुखीमा माओवादी केन्द्रकी लक्ष्मी थापाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् भने बेनीघाट रोराङमा कांग्रेसकी सुशीला मगरले उम्मेदवारी दिएकी छन् । 

ज्वालामुखी गाउँपालिकाको उपाध्यक्षका लागि एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका धर्म अर्याल गठबन्धनको सहमति अनुसार अघि बढेको अवस्थामा मात्रै सबैको भलो हुने बताउँछन् । सहमति विपरीतका गतिविधि भए नकारात्मक परिणाम आउने कारण अन्तिम समयसम्म सहमति जुटाउने प्रयास हुने उनले बताए । 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्