Kathmandu Press

‘पानी छैन बाटो छैन, दुःखसुख सुन्तलाले घर धानेको छ’ 

मीराले घरनजिकैको करिब ६ रोपनी जग्गामा एक सय २० सुन्तलाका बेर्ना लगाएकी छन् । उनको परिवारले २२ वर्ष अगाडिदेखि सुन्तलाखेती गर्दै आएको छ ।
‘पानी छैन बाटो छैन, दुःखसुख सुन्तलाले घर धानेको छ’ 

काठमाडौं, वैशाख १४ : स्याङ्जाको वालिङ नगरपालिका– २ स्थित स्यालेगाउँ पुग्न पहाडैपहाडबीच कच्ची सडक भएर गुज्रनुपर्छ । मंगलबार साँझ करिब ४ बजे हामी त्यहाँ पुग्दा मीरा सार्की हामीलाई कुरिरहेकी थिइन् । दैनिक रूपमा यो उनको घाँस काट्ने वा मेलापात गर्ने समय हो । 

हामी आउँछौँ भनी उनलाई बिहानै फोनमार्फत खबर गरेका थियौँ । सुन्तलाखेती गर्दै आएकी उनीसँग सोही सम्बन्धमा कुरा गर्नु थियो । हामीसँगको भेटमा उनले खेती वा पशुपालनका लागि पानीको अभाव रहेको दुखेसो पोखिन् । ‘मलाई त सुन्तलाखेतीसँगै पशुपालन र तरकारीखेती गर्न मन छ, तर यहाँ पानीकै समस्या छ । सुन्तलाबाहेक अरु केही उब्जनी हुँदैन,’ उनले भनिन्, ‘पशुपालनका लागि पनि पानी अभाव हुन्छ । अर्कोतिर बाघले खाइदिने डर । त्यसमाथि यहाँ बिक्रीका लागि बजार पनि छैन ।’

मीरा सार्की

Hardik ivf

१२० बेर्ना

मीराले घरनजिकैको करिब ६ रोपनी जग्गामा एक सय २० सुन्तलाका बेर्ना लगाएकी छन् । उनको परिवारले २२ वर्ष अगाडिदेखि सुन्तलाखेती गर्दै आएको छ । ‘मेरो विवाह भएको १८ वर्ष भयो । पहिला सासुससुराले थोरै मात्र रूख रोपेर सुन्तलाखेती गर्दै आउनुभएको थियो । विवाहपछि मैले नै सम्हालिरहेकी छु,’ उनी भन्छिन्, ‘सुरुमा व्यवस्थित रुपमा सुन्तलाखेती गर्न बयरघारीस्थित मेरो माइक्रो फाइनान्सबाट ५० हजार कर्जा लिएकी थिएँ ।’

 महिला समूह

अहिलेसम्म करिब चारपटक ऋण लिएर बेर्ना थपेको उनी बताउँछिन् । व्यवसायलाई विस्तार गर्न आगामी दिनमा पनि ऋण लिने उनको योजना छ । ‘ऋण लिएर खेती गर्न खासै फाइदा छैन । तर, बिनाधितो एकैपटक ठूलो रकम आउँदा काम गर्न सजिलो हुन्छ,’ उनले भनिन्, ‘यही व्यवसायले दुई छोरी, एक छोराको पढाइसँगै घरखर्च धानिरहेको छ ।’ 

भारतको गुवाहाटीमा जन्मेर हुर्केकी मीरा १६ वर्षको उमेरमा नेपाल आएकी थिइन् । यहाँ उनका हजुरबुवा थिए । पछि उनको विवाह यहीँका नीलबहादुर सार्कीसँग भयो, त्यसयता उनी यतै बस्न थालिन् । नीलबहादुर अहिले ग्रिल उद्योगमा काम गर्छन् । ‘म यहाँ आउँदा सुन्तलाका साना बोट मात्रै थिए । अरुले गरेको देखेर मलाई पनि आँट आयो । अहिले यसैबाट मात्रै वार्षिक दुई लाखसम्मको आम्दानी हुन्छ,’ उनले भनिन्, ‘सुरुमा कुनै तालिमबिना अरुले गरेको देखेको भरमा काम थालियो । अहिले हामीलाई सुन्तला खेतीका लागि तालिम दिने कुरा छ । तालिमपछि बजार व्यवस्थापनमा पनि मद्दत पुग्ने आशा गरेकी छु ।’ अहिले उनले उत्पादित सुन्तला बुटवल पु¥याउने गरेकी छन् । 

जनुका नेपाली

मीराजस्तै सोही गाउँकी जनुका नेपालीले पनि आफ्नो करिब १० रोपनी जग्गामा ६ सय ५० भन्दा बढी सुन्तला रोपेकी छन् । उनका अनुसार, सुन्तलाको बेर्ना लगाएको पाँच वर्षपछि मात्रै फल्न थाल्छ । वार्षिक साढे तीन लाख रुपैयाँ बराबरको सुन्तला बेच्ने गरेको ३३ वर्षीया जनुका बताउँछिन् । 

‘सुन्तला बिक्री गरेको रकम फेरि सुन्तलाको बेर्ना किन्न तथा हेरचाह गर्नमा खर्च गर्छौं,’ उनी भन्छिन्, ‘यहाँ सुन्तला बेच्नै समस्या छ । अरुलाई दिएर पठाउने गरेका छौँ, पैसा कम आउँछ । फेरि यहाँ गाडी नआउने भएकाले गाडी पुग्ने ठाउँसम्म हामीले बोकेर लैजानुपर्छ ।’जनुकाले सासुससुराले सुरु गरेको व्यवसायलाई निरन्तरता दिएकी हुन् । सुन्तलाका बोट थप्न उनले पनि केही वर्षअघि मीराले जस्तै ‘मेरो माइक्रो फाइनान्स’बाट ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । अहिले त्यो चुक्ता भइसकेको छ ।

 जनुका नेपालीकाे सुन्तलाखेती

‘बोट थप्नका लागि पैसा पुगेको थिएन । मेरो माइक्रो फाइनान्सबाट एकमुष्ट ५० पैसा बिना धितो ऋण लिएर व्यवसाय अघि बढाउन धेरै सहयोग भयो,’ उनले भनिन्, ‘यो व्यवसाय फेरि थप गर्नुका साथै सम्भव भए पशुपालनमा पनि लगानी गर्ने सोचमा छु ।’

मेरो माइक्रो फाइनान्सको स्याङ्जास्थित शाखाले महिला उद्यमीका लागि बिनाधितो तीन लाख रुपैयाँसम्मको ऋण दिँदै आएको छ । यस फाइनान्सका शाखा प्रबन्धक प्रकाश पंगेनीका अनुसार, २०६९ सालदेखि नेपाल सरकारबाट लघुवित्त कार्यक्रम गर्न लाइसेन्स पाएको मेरो माइक्रोले २०७० सालदेखि औपचारिक रूपमा कारोबार गर्न थालेको हो । अहिलेसम्म यस संस्थाले एक सय ५० शाखा विस्तार गरिसकेको छ । ६८ वटा जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको शाखा प्रबन्धक पंगेनीले जानकारी दिए । उनका अनुसार, यस फाइनान्सबाट  देशभरि कुल १३ हजार ६ सय केन्द्र (समूह)ले सेवा लिइरहेका छन् । 

महिला समूह

‘कुल ६ सय ५९ कर्मचारी कार्यरत हाम्रो संस्थाको मूल उद्देश्य भनेकै लघुवित्तको माध्यमबाट महिलाको जीवनस्तर उकास्नु हो । जसका लागि हामीले विभिन्न सीपमूलक तालिम समेत दिइरहेका छौँ । हाम्रो अधिकतम कार्यक्रम ग्रामीण क्षेत्रमै छ,’ उनले भने, ‘महिलाले उद्यम वा आफ्नै व्यवसाय गर्न चाहेको खण्डमा हामीले बिनाधितो तीन लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने गरेका छौँ ।’

मेराे माइक्राेफाइनान्सका स्याङ्जा शाखा प्रवन्धक प्रकाश पंगेनी

शाखा प्रबन्धक पंगेनीका अनुसार, यस संस्थामा करिब एक लाख २७ हजार सदस्य आबद्ध छन् । जसमध्ये एक लाख चार हजारले कर्जा लिएका छन् । संस्थाको कुल लगानी १६ अर्ब २५ करोड रहेको छ । 
 

प्रकाशित मिति: ११:२० बजे, बुधबार, वैशाख १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्