नेपाली समाज महिलाका लागि निकै परिर्वतन भएको छ : मन्त्री थापा
काठमाडौं, असोज ३० : महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री थममाया थापाले चौथो बेइजिङ सम्मेलनको २५ वर्षपछि नेपालमा महिलाको क्षेत्रमा धेरै परिर्वतन आए....

काठमाडौं, असोज ३० : महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री थममाया थापाले चौथो बेइजिङ सम्मेलनको २५ वर्षपछि नेपालमा महिलाको क्षेत्रमा धेरै परिर्वतन आएको बताएकी छन्।
महिला, कानुन र विकास मञ्चले बेइजिङ सम्मेलन भएको २५ वर्षको अवसरमा आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री थापाले यो अवधिमा नेपाली समाजमा महिलाका लागि निकै परिर्वतन भएको बताएकी हुन्। ‘आज सामाजिक, आर्थिक, राजनीतिकलगायत हरेक क्षेत्रमा महिला सहभागिता बढ्दो छ। महिला सशक्तीकरण, समानताका कुरा भइरहेका छन्,’ मन्त्री थापाले भनिन्।
मन्त्री थापाले २०६२÷६३ को आन्दोलन महिलाका लागि सबैभन्दा ठुलो परिर्वतन भएको बताइन्। यो आन्दोलनपछि अहिले स्थानीयदेखि केन्द्रसम्म राजनीतिक क्षेत्रमा महिलाको सहभागी निकै बढेको बताइन्। सरकारले २०७६ वर्षलाई महिला हिंसाविरुद्धको अभियान घोषणा गरेको बताउँदै थापाले सरकारले जेठ १७ गते राष्ट्रिय महिला अधिकार दिवस मनाएको बताइन्।
महिला अधिकारका विषयलाई संविधानमै समेटेर विभिन्न नीति, नियम, ऐन बनिरहेको उनको भनाइ थियो। ‘यो २५ वर्षको अवधिमा सरसर्ती हेर्दा धेरै परिवर्तन भएपनि मान्छेको सोच, चिन्तन र व्यवहारमा भने अझै परिर्वतन भएको छैन,’ उनले भनिन्।
कार्यक्रममा बोल्दै अधिबक्ता सविन श्रेष्ठले करिब ८० हजार नागरिकका अगुवा, सरकारवालाको सहभागितामा भएको चौथो बेइजिङ सम्मेलन नेपाली महिलाका लागि मात्रै नभइ एक सय ८५ राष्ट्रका महिलाका लागि उपलब्धिमूल भएको बताए।
चौथो सम्मेलनमा महिला शिक्षा, महिला र गरिबी, महिला र स्वास्थ्य, महिला हिंसा, महिला र शस्त्रद्वन्द्व, महिला र अर्थतन्त्र, महिला र वातावरणलगायतका १२ विषयमा प्रतिवद्धता जनाइएको थियो। यो प्रतिवद्धतामा अहिलेसम्म के कति काम भयो भन्नेबारे समीक्षा कार्यक्रम राखिएको हो। दुई दिनसम्म समीक्षा गरिने जनाएको छ।











