Kathmandu Press

नेपहपको बाटोमा यमबुद्धलाई पछ्याउँदै शशि मण्डल

‘हामीभन्दा अघिल्लो जेनेरेसनले गीतसंगीतलाई अर्कै ढंगले बुझेको छ। त्यहीअनुसार मलाई पनि समाजले र्‍याप नगाउन भनेको थियो तर अहिले मेरो गीत सुनेर परिवारका सदस्य खुसी छन्। गाउँतिरबाट पनि राम्रो प्रतिक्रिया आइरहेको छ।'
नेपहपको बाटोमा यमबुद्धलाई पछ्याउँदै शशि मण्डल

...रहिनसँगै आज 
तल म तर
मेरो सम्झना 
त्यो मनमा छ 
संसारबाट बिदा लेर 
गए पनि निदाएर
बिदा लिने छुइनँ कैले
कहिले तेरो मनबाट...’

शशि मण्डलले र्‍यापर एवं गायक स्वर्गीय यम बुद्धको ट्रिब्युटमा लेखेको ‘बुद्ध लास्ट मेसेज’ र्‍याप गीत अहिले चर्चामा छ। सामाजिक सञ्जालमा पनि उनको यो र्‍याप भाइरल भइरहेको छ। ‘बुद्ध लास्ट मेसेज’ र्‍याप दर्शकमाझ ल्याउन शशिलाई तीन वर्ष लाग्यो। 

यम बुद्धको ‘साथी’ गीतले र्‍याप क्षेत्रमा आउन आफूलाई प्रोत्साहन गरेको शशि बताउँछन्। ‘जतिबेलादेखि मैले जीवनमा केही गर्नुभपर्छ भन्ने सोच आयो, त्यति बेलादेखि नै र्‍यापप्रति आकर्षित भएको थिएँ। यम बुद्ध दाइको गीत सुन्न थालेपछि झन् प्रोत्साहन पाएँ। मेरो प्रेरणा नै यम बुद्ध दाइ हुन्,’ उनले भने ‘सुरुमा सानो कविताहरू लेखेर भविष्यमा केही गर्छु भन्ने सोच थियो। बिस्तारै र्‍याप गीत लेख्न र गाउन थालेँ।’

Hardik ivf

झापाका शशि किसान परिवारमा हुर्केका हुन्। ‘नेपहपको श्रीपेच’ नामक रियालिटी सोमा सहभागी भएपछि उनको चर्चा चुलिएको छ। यसअघि स्टेसनरीमा काम गर्ने उनी वैदेशिक रोजगारीमा जाने तयारीमा पनि थिए। ‘नेपहपको श्रीपेच नआएको भए रोजगारीका लागि विदेश गइसकेको हुन्थेँ। पासपोर्ट लगायत सबै प्रक्रिया पूरा भइसकेको थियो,’ उनी भन्छन्, ‘हाम्रो मनमा जे छ, त्यो सन्देश नै आफ्नो गीतमार्फत समाजमा पुर्‍याउन पाउँदा खुसी लाग्छ।’

‘बुद्ध लास्ट मेसेज’ रचना 

धेरै अगाडिदेखि यम बुद्धलाई पछ्याउँदै, र्‍याप संगीत लेख्दै र गाउँदै आएका थिए शशिले। २०१७ जनवरी १४ लाई उनले कालो दिन रूपमा सम्झन्छन्, जुन दिन यम बुद्धको निधन भएको थियो। अहिले पनि उनी यम बुद्धलाई सम्झँदा निराश हुन्छन्। ‘म यम बुद्धको ठूलो फलोअर हुँ। लन्डनमा उनको मृत्यु भयो भनेर खबर सुन्दा सुरुमा विश्वासै लागेको थिएन,’ उनले भने, ‘खबर फेक भइदिए हुन्थ्यो भन्ने प्रार्थना गरिरहेको थिएँ।’

यम बुद्धको मृत्युपछि शशिले ‘बुद्ध लास्ट मेसेज’ रचना गरेका हुन्। ‘उहाँ भएको भए यो अवस्थामा कस्तो गीत लेख्नु र गाउनुहुन्थ्यो भन्ने महसुस र कल्पना गरेर यो गीत लेखेको थिएँ,’ उनी भन्छन्, ‘तर आर्थिक र अन्य केही कारणले मैले त्यो समयमा यो गीत बजारमा ल्याउन सकिनँ।’

उनले यम बुद्धलाई आफ्नो गुरु मान्छन्। ‘राम्रा शब्दले नै र्‍यापलाई राम्रो बनाउँछ, त्यसका लागि छाडा शब्दको प्रयोग गर्नुपर्दैन भन्ने मैले यम बुद्धबाटै सिकेको हुँ,’ उनी भन्छन्, ‘आज पनि उहाँ हामी माझ हुनुहुन्न जस्तै लाग्दैन।’ 

शशिले विशेषतः र्‍यापको कन्टेन्ट छनोट गर्दा सामाजिक पक्षलाई जोड दिएका हुन्छन्। आफ्नो र्‍यापको माध्यमबाट समाजमा राम्रो सन्देश पुर्‍याउने उनको मूल लक्ष्य हो। यसका साथै आफ्नो जीवनमा भोगेका कुरालाई लिएर पनि उनले र्‍याप लेख्ने गरेका छन्। आगामी दिनमा उनले अरु सामु आफूले भोगेका तर भन्न नसकेका कुरा र्‍यापमार्फत ल्याउने योजनामा रहेको उनी बताउँछन्।

उनको पहिलोे गीत

र्‍याप सुरु गर्नुअघि उनी गीत लेख्ने गर्थे। उनले लेखेका गीत साथीहरूलाई सुनाउँदा राम्रो प्रतिक्रिया आउँथ्यो। सुरुमा उनले प्रेमसँग सम्बन्धित गीत लेखेका थिए :

‘तिमीलाई छाडेको त्यो साल, लागेन मलाई बाल
तिमीलाई पर्खिरहेछु, आज भएर बेहाल
सम्झिरहेको छु त्यो पल, याद गर्दै छु हर क्षण
आज पनि तिम्रो यादमा, किन रोइरहन्छ मन
तिमी नै मेरो जीवन, तिमी नै मेरो यो संसार
तिमीबिनाको यो जीवन, लाग्दछ मलाई बेकार
माया गर्थें म तिमीलाई, अरुलाई गर्ने छैन
हामी मरिगए पनि, हाम्रो माया मर्ने छैन।’

यो उनको पहिलो गीत हो, जसलाई उनले करिब सात वर्षअघि लेखेका थिए। पछि प्रेमका गीत सँगसँगै र्‍याप लगायत अन्य विधामा गीत लेख्न थालेको उनी बताउँछन्। 

‘पहिला र अहिले तुलना गर्दा आफैँमा धेरै फरक पाएको छु। धेरै कुरा सिकेँ। सुरुमा आफ्नै साथीभाइसँग पनि खुलेर बोल्न सक्दिनँथेँ। कतिले मलाई यो बोल्दैन, यसले जीवनमा केही गर्न सक्दैन पनि भने,’ उनी भन्छन्, ‘अहिले म्युजिकबाटै भावना पोख्न सिकेँ। म्युजिकले मलाई एक किसिमको ऊर्जा दिएको छ।’

नेपहपको श्रीपेचसम्म आइपुग्दा उनले परिवारबाट सहयोग पाइरहेकै छन्। उनलाई सुरुमा धेरैले र्‍याप नगाउन सुझाव दिएका थिए। ‘हामीभन्दा अघिल्लो जेनेरेसनले गीत संगीतलाई अर्कै ढंगले बुझेको छ,’ उनी भन्छन्, ‘त्यही अनुसार मलाई पनि समाजले र्‍याप नगाउन भनेको थियो, तर अहिले मेरो गीत सुनेर परिवारका सदस्य खुसी छन्। गाउँतिरबाट पनि राम्रो  प्रतिक्रिया छ, अझै राम्रो गर भन्ने प्रतिक्रिया आइरहेको छ। मेरी हजुरआमाले मैले गाएको गीत सुन्नुहुन्छ, तर एकपटकमा बुझ्न सक्नुहुन्न। काकीहरूले बुझिनँ फेरि गाऊ पनि भन्नुहुन्छ। सुनिदिनुहुन्छ, त्यही खुसी लाग्छ। कहिलेकाहीँ दुईतीनपटक दोहोर्‍याएर पनि सुनाउने गर्छु।’

शशिले र्‍याप क्षेत्रमा आफ्नो भविष्य सुन्दर देखेका छन्। दैनिक बोलीचालीका शब्द नै दर्शकको मन छुने उनको बुझाइ छ। ‘त्यसैले सकेसम्म मैले र्‍यापमा सिम्पल शब्द समावेश गर्छु,’ उनले भने। 

‘यम बुद्धलाई भेट्ने इच्छा अधुरो’

यम बुद्धको र्‍याप बजारमा आउनेताका शशि सानै थिए। सानैदेखि उनले यम बुद्धका गीत रमाइलो मानेर सुन्ने गर्थे। ‘यम बुद्धदाइको गीत आउनेबित्तिकै कण्ठ नहुन्जेलसम्म सुन्थ्यौँ। त्यो सुन्दा आफूलाई पनि आनन्द महसुस हुन्थ्यो,’ उनी भन्छन्, ‘उहाँसँग कम्तीमा एकपटक भेट्ने ठूलो इच्छा थियो, तर अधुरै रह्यो।’

बिर्तामोडमा आयोजित एक कन्सर्टमा उनले उनले एकपटक यम बुद्धलाई प्रत्यक्ष हेर्ने मौका पाए। उनको हरेक गीतमा कुनै न कुनै सन्देश हुने र आफू पनि त्यसैबाट प्रेरित भएको उनी बताउँछन्। यम बुद्धको ‘साथी’ गीतबाट उनी सबैभन्दा बढी प्रभावित छन्। ‘यो गीतले साथीको अर्थ बुझाएको छ। मेरो जीवनमा यो गीतले धेरै महत्व राख्छ,’ उनी भन्छन्, ‘अहिले पनि म हरेक गीत लेख्दा दाइलाई सम्झन्छु।’

र्‍याप अभ्यासमा दिएको निरन्तरता

शशिका अनुसार, नेपालमा अझै पनि र्‍यापलाई छाडा गीतका रूपमा लिइन्छ। ‘तर, त्यस्तो होइन। र्‍यापमा पनि राम्रा शब्द छनोट गर्न सक्यौँ भने यसले समाजमा सन्देश प्रवाह गर्न ठूलो सहयोग मिल्छ,’ उनले भने। 

उनले गाउने अभ्यास घरछेउको बगानमा गर्थे। नेपहपको श्रीपेचमा आउनुअघि आफूले दिनमा कम्तीमा एकपटक चिया बगानमा गएर र्‍याप अभ्यास गर्ने गरेको उनी बताउँछन्। ‘र्‍याप लेख्न, गाउन थालेपछि दिन गएकै थाहा हुन्नथ्यो। आफूले निरन्तर मेहनत गरेको भएर यहाँसम्म आइपुगेँ जस्तो लाग्छ,’ उनले भने। 

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, वैशाख १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्