Kathmandu Press

नेकपाको चियापानमा सहभागीको घुइँचो

काठमाडौं, असोज २९ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको अवसरमा बुधबार काठमाडौंको भृकुटीमण्डपमा चियाप....

नेकपाको चियापानमा सहभागीको घुइँचो

काठमाडौं, असोज २९ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको अवसरमा बुधबार काठमाडौंको भृकुटीमण्डपमा चियापानको आयोजना गर्‍यो।

उक्त चियापानमा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।  चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरु, अन्य राजनीतिक दलका नेता–कार्यकताहरूको पनि उपस्थिति थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सो दलका केन्द्रीय नेताहरू पनि सहभागी भएका थिए। पूर्व प्रधानमन्त्री देउवालाई प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाललगायतले स्वागत गरेका थिए । देउवा मञ्चमा ओली र खनालको बीचमा करिब २० मिनेट बसेर फर्किएका थिए । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, एनपी सावद लगायत नेताहरू पनि सहभागी थिए ।

चियापान तथा शुभकामना आदानप्रदान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज सांस्कृतिक रुपमा समृद्ध रहेको बताए । उनले भने, ’हाम्रो समाज समृद्ध संस्कृति भएको समाज हो। परिवर्तनका गतिहरू अलि कठोर हुने गर्छन्। कहिले कहिले कमजोर भएको हो कि भन्‍ने लाग्छ । बहुजातीय, बहुसांस्कृतिक आस्थाका विविधता र भौगोलिक विविधता छ। एकताबद्ध राष्ट्रका रूपमा देश अगाडि बढेको छ। विविधतालाई खल्बल्याएर राष्ट्रिय एकता बिगार्ने प्रयास पनि भए। साम्प्रदायिक विद्रोह फैलाउने प्रयास भए। विदेशमा पनि त्यस्तो हुन्छ।’

नेकपाका अध्यक्ष समेत रहेका ओलीले राज्य र कानुन बलियो नभएको बेला चाडपर्वले नेपालीलाई बाँधेर राखेको बताए। ’हाम्रा चाडबाड, सांस्कृतिक परम्परा र प्रचलन थितिले समाजलाई बाँधेको थियो । त्यसले एकतालाई मजबुत बनाएको थियो।’

प्रधानमन्त्रीले भने, ’चाडवाडले भाइबहिनी, दाजुभाइलाई एकताबद्ध बनाएको छ। अरुबेला तिक्तता भएको दाजुभाइको सम्बन्ध दशैँमा हार्दिक बन्छ । भाइबहिनी एकअर्कासँग रिसाएको भए पनि वा तिहारमा भाइ लिन नआए बहिनी धुरुधुरू रुन्छिन्। चाडपर्वमा नेपालीले जातभात भन्दैनन्।’

ओलीले नेपाललाई समृद्ध बनाउने अभियान जारी रहेको बताए । ‘हामीले समृद्ध नेपाल बनाउन चाहेका छौँ। विकासको बाटो समातेका छौँ। यो गतिलाई समाऊँ’, प्रधानमन्त्री ओलीले भने, ‘केही पनि भएन भन्‍नेहरूले आँखा चिम्लेर होइन, खोलेर भन्‍नुस्। घर, जागिर, गाडी र छोराछोरी विदेशमा पढाउने  सम्भ्रान्त वर्गलाई फरक नपरेको होला तर बुढाबुढीलाई सोध्नुस्, फरक परेको छ कि छैन? उनीहरु सबैको बैंक खाता खोलिएको छ। सरकारी सुविधा गाउँ गाउँका बैंकमा पुगेको छ।’

प्रधानमन्त्रीओलीले विकासको गति तीव्र भएको बताउँदै भने, ’विमानस्थल बनिरहेका छन्, त्रिभुवन विमानस्थलमा ठूला जहाज बस्ने रातारात बनाएका छौँ। सयौं पुल बनेका छन् । नयाँ चेतनाको लहर चलेको छ। वैदेशिक लगानी ४२ अर्बबाट ७६ अर्ब पुगेको छ। केही पनि छैन भन्‍ने केही पनि नदेख्ने खास उद्धेश्य बोकेकाले हो। राष्ट्रलाई तीव्र विकासको बाटोमा अगाडि बढाउनु पर्छ।’

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले दशैं, तिहारजस्ता चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताए । उनले चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरूबीचको सम्बन्ध नजिक ल्याउने अवसरको रूपमा लिएको बताएका थिए।

देउवाले विपी कोइरालाले दशैंको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरूले पनि आयोजना गर्न लागेकोमा आभार पनि व्यक्त गरे। 

प्रकाशित मिति: १९:३७ बजे, बुधबार, असोज २९, २०७६