Kathmandu Press

मन्त्री बन्ने चर्चामा रहेका नेकपा सांसद् गुरुङलाई अदालतको पक्राउ आदेश

काठमाडौं, असोज २९ : मन्त्रिमण्डल हेरफेर हुनेबित्तिकै मन्त्री बन्ने भनी चर्चा भएका नेकपा केन्द्रीय सदस्य एवम् दोलखाबाट निर्वाचित संघीय सांसद पार्व....

मन्त्री बन्ने चर्चामा रहेका नेकपा सांसद् गुरुङलाई अदालतको पक्राउ आदेश
फाइल फोटो

काठमाडौं, असोज २९ : मन्त्रिमण्डल हेरफेर हुनेबित्तिकै मन्त्री बन्ने भनी चर्चा भएका नेकपा केन्द्रीय सदस्य एवम् दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङलाई काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । 

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद् गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । 

०७६ मा भदौ १२ काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । ज्यान मार्ने उद्योग मुद्दामा दोलखाले ८ असोजमा सांसद् गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।

सांसद् गुरुङका नाममा जारी भएको ३५ दिने पक्राउ पुर्जी दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले गाउँपालिकाको छाप लगाएर ८ असोजमा बुझेको बताइएको छ ।  सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  

०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । 

नेकपा केन्द्रीय सदस्य गुरूङ २०७४ सालको आम चुनावमा सबैभन्दा बढी मत पाएर विजयी हुने नेकपा सांसद् हुन् । 

प्रकाशित मिति: १७:५० बजे, बुधबार, असोज २९, २०७६