युवराज नयाँघरेकोे निवन्ध संग्रह ‘याकजी’ विमोचन
काठमाडौं, वैशाख १० : निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन सम्पन्न भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन...काठमाडौं, वैशाख १० : निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन सम्पन्न भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । विमोचनपछि नाटककार मल्लले निवन्धमा डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण रहेकाे बताए।'यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो,’ उनले भने।
कार्यक्रममा समालोचक महेश पौडेलले याकजी उपल्लो उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको बताए। उनले भने– ‘नयाँघरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं।’
नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको बताए । निवन्धमा कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार भेट्न सकिने र नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न बताए। ‘डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन्,’ उनले भने।
समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले नयाँघरेको लेखनबाट आपूm प्रभावित भएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्न एवं अनुभव गर्न ठूलो सहयोग पुग्ने धारणा राखिन्। उनले भनिन्, ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउनु हो । यो कृति आगामी दिनका लागि पनि भौगोलिक, सांस्कृतिक, प्राकृतिक एवं धार्मिक चरित्रहरुको थप बिस्तारपूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्न पुगेको छ।’

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आपूmले जीवनकै गहिरो दर्शन प्राप्त गरेको धारणा प्रस्तुत गरे। नयाँघरेले भने, ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ ।’
नियात्राकार नयाँघरेका यो १८औं कृति हो। रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौं नियात्राका कृतिहरु प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् । नियात्रा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो।












