‘महिलाका लागि बजेट छुट्ट्याउन केही वडाध्यक्षले मान्नुभएन’
महिलाका लागि विभिन्न शीर्षकमा बजेट छुट्ट्याइएको तर महिला उत्थानका लागि बजेट छुट्ट्याउँदा विरोध खेप्नुपरेको उनको अनुभव छ। ‘मानिसहरू बाटोघाटो, कालोपत्रे आदिलाई मात्र विकास भनेर बुझेका छन्। महिलाको उत्थानमा बजेट छुट्ट्याउन हामीलाई संघर्षै गर्नैपर्याे,’ उनी भन्छिन्।काठमाडौं, वैशाख १० : सुशीला सिंहका श्रीमान् (वीरेन्द्र सिंह) २०५४ सालमा नेकपा एमालेबाट वडाध्यक्ष भएका थिए। त्यतिबेला वडाका समस्या सम्बन्धमा श्रीमानसँग सुशीलाको छलफल हुने गर्थ्याे। उनको घरमा राजनीतिक भेटघाट पनि भइरहन्थ्यो, यही वातावरणले उनलाई राजनीतिमा लाग्न प्रेरित गर्याे र श्रीमानकै सहयोगमा ०५७ देखि सुशीला एमालेको संगठित सदस्य भई पार्टीमा काम गर्न थालिन्। ‘पार्टीको वडा कमिटी सदस्य, गाउँ कमिटी अध्यक्ष, जिल्ला प्रतिनिधि भएर काम गरेँ,’ सुशीला भन्छिन्, ‘जिल्ला अधिवेशनमा पुरुषसँग प्रतिस्पर्धा गरी विजयी भएकी थिएँ।’
यसरी पार्टीभित्र सक्रिय रहँदै र प्रतिस्पर्धा गर्दै उनी अगाडि बढिन्। ०७४ को स्थानीय तह निर्वाचनमा उनलाई पार्टीले बेदकोट नगरपालिकाको उपप्रमुखका लागि टिकट दियो र विजयी भइन्। वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ। उनको कार्यकाल सकिँदै गर्दा हामीले उनलाई टेलिफोनमार्फत सोधेका थियौँ– तपाईं कसरी राजनीतिमा आउनुभयो, पारिवारिक पृष्ठभूमि कस्तो थियो, उपप्रमुख भइसकेपछि के कति काम गर्नुभयो ?
राजनीतिक पृष्ठभूमि
सुशीलाको पुर्ख्याैली थलो डोटी हो। उनको जन्म भने धनगढी उपमहानगरपालिका– ५ हसनपुरमा भएको हो, २०३३, माघमा। उनका बुवा इन्द्रबहादुर शाही धनगढी खाद्य संस्थानमा सुब्बाको जागिर थिए, पछि जागिरबाट राजीनामा दिएर आफ्नो जन्मथलो डोटीमा प्रधानपञ्च भए।
‘मेरो बाबुबाजेले समाजसेवा गर्नुहुन्थ्यो। उहाँहरूले गाउँ समाजमा विद्यालय, धर्मशाला खोल्नुभएको छ। सानैदेखि माइतीघरमा सुन्दै आएकी थिएँ– समाजसेवा गर्नुपर्छ, जसबाट पुण्य कमाउन सकिन्छ,’ सुशीला भन्छिन्, ‘विवाहपछि श्रीमानबाट राजनीतिका बारेमा जान्ने–बुझ्ने अवसर पाएँ। मलाई राजनीतिमा आउन परिवार र श्रीमान्ले सहयोग गर्नुभएको छ।’
सुशीलाले भारतको उत्तराखण्डस्थित शारदा माविबाट एसएलसीसम्मको अध्ययन गरेकी छन्। उनको विवाह वेदकोट नगरपालिका– ७ का वीरेन्द्र सिंहसँग भयो, २०५१ फागुनमा। विवाहपछि आयआर्जनका लागि सुशीलाले घरमै कुखुरापालन गरेकी थिइन्। तर, घरमा हुने राजनीतिक भेटघाट र श्रीमानको प्रेरणाले पछि उनी राजनीतिमा लागेकी हुन्।
राजनीतिमा लागेपछि सुरुमा गाउँसमाजका मानिसले आफूलाई विभिन्न नकारात्मक टीकाटिप्पणी गरेको उनी बताउँछिन्। उनका अनुसार, सुुदूरपश्चिम प्रदेशमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ। समाजमा पितृ सत्तात्मक सोच र प्रवृत्ति हाबी भएकाले राजनीतिमा लागेका महिलालाई नराम्रो दृष्टिले हेरिन्छ।
‘मलाई पनि सुरुसुरुमा मानिसहरू भन्थे– आज पनि घरमा छैन, हिजो पनि थिइनँ, कहाँ गएकी हो ? हिँडेको हिँड्यै छ,’ उनी भन्छिन्, ‘अहिले म नगपालिकाको उपप्रमुख भएर काम गरिरहेकी छु, यो अवस्थामा भने टीकाटिप्पणी हुन सकेको छैन।’
कुनै कार्यकारी पदमा नपुग्दासम्म महिलालाई समाजले नपत्याउने उनको अनुभव छ।
महिलालाई सीपमूलक तालिम
उपप्रमुख सिंहका अनुसार, बेदकोटलाई हिंसामुक्त नगरपालिका बनाउन युएनडिपी र बेदकोट नगरपालिकाको आर्थिक सहयोग, सीप नेपालको सहजीकरणमा नगर सञ्जालमार्फत महिलाको समूह गठन गरिएको छ। ‘हिंसामुक्त नगरपालिका घोषणा गर्न महिलालाई क्षमता अभिवृद्धिदेखि विभिन्न किसिमका तालिम दिँदै आएका छौँ,’ उनी भन्छिन्, ‘महिला भएर सबै कुरा सहेर बस्नुपर्छ भन्ने मान्यता अहिले बिस्तारै हटेको छ। हिंसाबारे खुलेर बोल्न सक्ने अवस्था छ। अझै पनि रुढीवादी परम्पराले जरो गाडेकै छ, अस्ति भर्खरै बोक्सी धपाउने भन्दै एक महिलाको हत्या हुन पुग्यो।’समाज र राष्ट्रबाटै अन्धविश्वास हटाउन तालिम तथा अभियान आवश्यक रहेको उनको बुझाइ छ।
न्यायिक समितिमा अहिलेसम्म एक सय ६५ मुद्दा दर्ता भएका छन्। यी मुद्दा जमिनको विवाद, घरेलुहिंसा, पारिवारिक विवादसँग सम्बन्धित रहेको उनी बताउँछिन्। ‘न्यायिक समितिमा दर्ता भएका सबै मुद्दा छलफल भइसकेका छन्,’ उनले भनिन्, ‘नगरपालिकाभित्र ३९ मेलमिलापकर्ता छन्। उनीहरूलाई तालिम दिएर काम गराएका छौँ।’
महिलाको आयस्तर बढाउन ‘महिला विकास शाखा’मार्फत विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको सुशीला बताउँछिन्। उनका अनुसार, आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाभित्रका एकल तथा विपन्न महिलाको आर्यआर्जन बढाउन एउटा वडाबाट एक महिला छनोट गरी ठेलागाडा वितरण गरिएको थियो। अहिले उनीहरूले ठेलागाडाबाट विभिन्न व्यापार गरी घरखर्च जुटाउन सकेका छन्।
महिलाका लागि विभिन्न शीर्षकमा बजेट छुट्ट्याइएको तर महिला उत्थानका लागि बजेट छुट्ट्याउँदा विरोध खेप्नुपरेको उनको अनुभव छ। ‘मानिसहरू बाटोघाटो, कालोपत्रे आदिलाई मात्र विकास भनेर बुझेका छन्। महिलाको उत्थानमा बजेट छुट्ट्याउन हामीलाई संघर्षै गर्नैपर्याे,’ उनी भन्छिन्, ‘महिलाका लागि बजेट छुट्ट्याउन केही वडाध्यक्षले मान्नुभएन। हामीले अन्य योजनाबाट भए पनि महिलाका लागि बजेट छुट्ट्याउँदै आयौँ।’समाजमा विद्यमान कुरीति हटाउन समय समयमा विभिन्न कार्यक्रम तथा अभियान गरेर नगरपालिकाका केही वडालाई छाउपडीमुक्त वडा घोषणा गरिसकेको उनको भनाइ छ।
उनी अपांग समन्वय समितिको संयोजक समेत हुन्। अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण, भौतिक सामग्रीसँगै स्वास्थ्य शिविरको सेवा दिएको उनको भनाइ छ।
कृषि पकेट क्षेत्र
वेदकोट नगरपालिकामा धेरैजसो व्यक्तिको जग्गा ऐलानी थियो, आफूहरू जनप्रतिनिधि भएर आएको सुरुकै बैठकमा लालपुर्जा दिने निर्णय गरेको उनको भनाइ छ।
उनका अनुसार, नगरपालिकाभित्र सिँचाइका लागि बोरिङको व्यवस्था गरिएको छ। त्यस्तै, कृषकलाई आवश्यक बीउबिजनमा ५० प्रतिशत अनुदानसँगै समय समयमा कृषि औजार पनि वितरण गरिएको छ। ‘कृषिलाई आधुनिकीकरण गर्न नगरपालिकाभित्रका १० वटामध्ये हरेक दुई वडालाई एक पकेट क्षेत्र बनाएका छौँ,’ उपप्रमुख सिंह भन्छिन्, ‘च्याउखेती, लसुनखेती, प्याजखेती, आलुखेती लगायत पकेट क्षेत्र छुट्ट्याएका छौँ।’
वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा प्रेरित गर्न पकेट क्षेत्र निर्धारण गरिएको उनको भनाइ छ।
विकास निर्माण
आफूहरू जनप्रतिनिधि भएको सुरुका वर्ष ऐन–कानुन र कार्यालय भवन बनाउनमै बितेको उपप्रमुख बताउँछिन्। स्थानीय एक वृद्ध आमाले जग्गा उपलब्ध गराएपछि नगरपालिकाको भवन निर्माणकार्य प्रारम्भ भएको थियो। अहिले वेदकोट नगरपालिकाका १, २, ८ वडा भवन बनिसकेको छ। वडा ५ मा वडा भवनको शिलान्यास भएर कामअगाडि बढिरहेको छ।
जनप्रतिनिधि आउनुअघि नगरपालिकाभित्र कतै पनि सडक कालोपत्रे थिएन। ‘हामी आएर कालोपत्रे गर्न सुरु ग¥यौँ। खानेपानीका योजना अगाडि बढाएका छौँ। नगरपालिकामा कर्बडहल, पुस्तकालय भवन, महिला तथा बालबाकिकाका लागि सेफ हाउस भवन निर्माण गरेका छौँ,’ उनी भन्छिन्, ‘नगरपालिकाभित्र फन पार्क स्विमिङ पुलदेखि लिएर ठूलो सभाहल र कोभिड अस्पतालसम्मको निर्माण गरेका छौँ।’
आगामी स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा आउने उनको इच्छा छ। जसका लागि नगर कमिटीले पनि उनको नाम सिफारिस गरिसकेको छ। ‘जबसम्म महिला प्रमुख पदमा पुग्दैनन्, तबसम्म महिलाका आवाज र मागको सुनुवाइ हुँदैन, यसको महसुस मैले गरेकी छु,’ उनी भन्छिन्, ‘महिला उत्थानका काम गर्न महिलाहरू नेतृत्व र निर्णय गर्ने स्थानमा आउनुपर्छ।’