Kathmandu Press

‘महिलासँग उपप्रमुख कार्यक्रमले महिलाको सशक्तीकरण भएको छ’

अञ्चला जनप्रतिनिधि भई आउनु अगाडि गौरीगंगा नगरपालिकाभित्र दुईवटा स्वास्थ्य चौकी थिए। अहिले नगरपालिकाका ११ वटै वडामा स्वास्थ्य चौकी पुगेको उनी बताउँछिन्।
‘महिलासँग उपप्रमुख कार्यक्रमले महिलाको सशक्तीकरण भएको छ’

गौरीगंगा नगरपालिकामा ०७६ देखि ‘महिलासँग उपप्रमुख’ कार्यक्रम ल्याइयो। महिला स्वास्थ्य र महिला सशक्तीकरणलाई जोड दिएर कार्यक्रम ल्याइएको उपप्रमुख अञ्चला चौधरी बताउँछिन्।

‘उद्यम गर्न चाहने महिलालाई ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ। उपभोक्ता समितिमा ५० प्रतिशत महिला सहभागिताका लागि जोड दिँदै आएका छौँ,’ उपप्रमुख चौधरी भन्छिन्, ‘उपभोक्ता समितिको मेजर टिममा एक महिला अनिवार्य आउनुपर्ने नीति लिएका छौँ।’ 

महिलालाई आयआर्जन तथा उद्यममा जोड्न सीपमूलक तालिम दिइएको उनको भनाइ छ। ‘अहिले महिलाले विशेषगरी सिलाइकटाइ, तरकारीखेती जस्ता सीपको तालिम चाहेका छन्, सोहीअनुरूप तालिम सञ्चालन गर्दै आएका छौँ,’ उनले भनिन्।  

Hardik ivf

महिला स्वास्थ्यलाई ध्यान दिँदै हस्पिटलमै सुरक्षित प्रसूति सेवा दिनका लागि सुत्केरी व्यथा लागेकालाई निःशुल्क एम्बुलेन्स सेवा दिइएको उपप्रमुख चौधरी बताउँछिन्। ‘प्रत्येक सुत्केरी महिलालाई एक किलो घिउ पनि दिँदै आएका छौँ,’ उनले भनिन्। 

उपप्रमुख चौधरीका अनुसार, यो कार्यक्रम ल्याउनुअघि नगरपालिकामा विवाहितमध्ये ३१ प्रतिशतले बालविवाह गरेका थिए। यसलाई न्यूनीकरण गर्न ‘महिलासँग उपप्रमुख’ कार्यक्रम ल्याएको उनको भनाइ छ।

यस कार्यक्रमले अहिले मातृशिशु मृत्युदर पहिलेको तुलनामा न्यून रहेको अञ्चला बताउँछिन्। ‘कार्यक्रम ल्याएपछि पहिलेको तुलनामा अहिले बालविवाह समेत घटेको छ,’ उनले भनिन्।

राजनीतिक पृष्ठभूमि

अञ्चलाको जन्म २०४८ पुस २५ गते, साबिकको गेटा गाविस– ४ मा भएको हो। उनी तीन वर्षकी हुँदा उनका बुवा गुन्गुनुवा चौधरीको निधन भयो। आमा रुक्मिणीले आफूहरू (दुई छोरा, तीनछोरी)लाई दुःखले हुर्काएको अञ्चला बताउँछिन्। 

‘बुवाको निधनपछि दाजुले ५ कक्षाबाटै पढाइ छाड्नुभयो, मभन्दा अगाडि दुई दिदी हुनुहुन्छ, उहाँहरूले पढ्नै पाउनुभएन,’ अञ्चला भन्छिन्, ‘बिस्तारै दिदीदाजुले पनि आमालाई काममा सघाउन थाल्नुभयो। कान्छी छोरी भएकाले मैले भने पढ्न पाएँ।’ 

अञ्चलाको परिवारले पहिलेलदेखि एमालेप्रति आस्था राख्थ्यो। उनका दाजु मोहन चौधरी २०५४ को निर्वाचनमा साबिकको गेटा गाविस अध्यक्ष भएका थिए। दाजु गाविस अध्यक्ष भएका बेला घरमा सबैभन्दा पढेलेखेकी अञ्चलाले राजनीतिबारे जान्ने र बुझ्ने अवसर पाएकी थिइन्।

०६८ मा गौरीगंगा नगरपालिका– ८ का हरिनारायण चौधरीसँग अञ्चलाको मागी विवाह भयो। हरिनारायण पेसाले शिक्षक हुन्। शिक्षित श्रीमान् भएकाले विवाहपछि राजनीतिमा लाग्न र पढ्न झनै सहज भएको उनी बताउँछिन्।

यही पृष्ठभूमिका कारण उनले २२ वर्षको उमेरमा नेकपा एमालेको सदस्यता लिएर राजनीतिमा लागिन्। नगर कमिटी, जिल्ला कमिटी सदस्य हुँदै उनको राजनीतिक यात्रा अघि बढ्यो। ‘सदस्यता लिनुअघि विभिन्न क्लब तथा समितिमा रहेर पार्टीलाई सहयोग गर्दै आएकी थिएँ,’ उनी भन्छिन्, ‘२०७० मा सदस्यता लिएपछि खुलेर राजनीतिमा लागेकी हुँ।’

२०७४ को स्थानीय निर्वाचनमा उनले पार्टीबाट गौरीगंगा नगरपालिकाको उपप्रमुख पदका लागि टिकट पाइन् र सर्वाधिक मत ल्याएर विजयी भइन्। यहाँ प्रमुखमा पनि एमालेकै भीमबहादुर देउवा प्रमुखमा विजयी भएका छन्। 

धेरैजसो स्थानीय तहमा पुरुष प्रमुखले महिला उपप्रमुखलाई कतिपय निर्णयमा सहभागी नगराउने गरेको गुनासो सुनिन्छ। आफूले त्यस्तो गुनासो गर्न नपरेको अञ्चला बताउँछिन्। ‘मेरो अधिकार क्षेत्रमा रहेको काम मैले गर्ने हो। प्रमुखले आफ्नो अधिकार क्षेत्रको काम गर्ने हो,’ उनी भन्छिन्, ‘आफ्नो अधिकार क्षेत्रको पहिचान गर्न नसकेर त्यो समस्या अन्य नगरपालिकामा आएको हुन सक्छ।’ 

शिक्षिकाको जागिर छाडी राजनीतिमा

विवाहअघि (०६८ मा) कैलालीको अत्तरियास्थित दुर्गा लक्ष्मी उच्च माविबाट प्रवीणता तह उत्तीर्ण गरेकी अञ्चलाले विवाहपछि सोही विद्यालयबाट स्नातक गरिन्, जहाँ क्याम्पस तहको पनि अध्ययन गराइन्छ। 

अहिले उनी धनगढी उपमहानगरपालिकामा रहेको कैलाली मल्टिपल क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छन्। 

राजनीतिमा आउनुअघि अञ्चलाले गौरीगंगा नगरपालिका– ४ मा रहेको कालीका माविमा तीन वर्षजति अध्यापन गरिन्। 

शिक्षिका हुँदा स्थानीय स्तरमा उनको परिचय बनेको थियो। त्यसमाथि उनले समाजमा हुने अन्याय अत्याचारका विरुद्ध आवाज उठाइरहिन्थन्। पार्टीले उपप्रमुखको टिकट दिने भएपछि शिक्षिकाबाट राजीनामा दिएर पूर्ण रूपमा स्थानीयको सेवामा खटिने निर्णय गरेको उनी बताउँछिन्।

‘घर परिवार र श्रीमान्ले मलाई शिक्षामा मात्र नभई राजनीतिक पाटोमा उत्तिकै सहयोग गर्नुभयो,’ अञ्चला भन्छिन्, ‘सबैको साथ र सहयोगले गौरीगंगा नगरपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा पुग्न सफल भएकी हुँ।’ 

थारु महिलाको अवस्था

अञ्चलाका अनुसार, राज्यका हरेक क्षेत्रमा थारु महिलाको सहभागिता न्यून छ। थारु समुदायमा पहिले कमैया, हलिया बस्ने प्रचलन थियो। हलिया र कमैया बस्नुपर्दा थारु समुदायका कतिपय मानिस राज्यका सेवा र सुविधाबाट वञ्चित हुनुपरेको उनी बताउँछिन्। 

‘सरकारले कमैया प्रथा र हलिया प्रथा उन्मूलनको घोषणा गरेपछि मात्रै कतिपय थारु समुदायका बालबालिकाले पढ्ने अवसर पाए,’ उनी भन्छिन्, ‘पारिवारिक आर्थिक संकटले गर्दा कतिपय महिलाले ४–५ पढ्दै गर्दा सानै उमेरमा विवाह गर्थे।’

आफू उपप्रमुख भएपछि थारु महिलाको महिलाको मात्रै नभई सबै महिलाको उत्थानका ‘महिलासँग उपप्रमुख’ लगायत विविधि कार्यक्रम ल्याएको उनी बताउँछिन्। 

आयआर्जनका क्षेत्रमा नगरपालिका– १० लाई लघु उद्योग क्षेत्र भनेर साना उद्योग सञ्चालन गरेको उनको भनाइ छ। ‘मसला उद्योगजस्ता साना खालका उद्योग सञ्चालन गरेका छौँ। आयआर्जन गर्न पकेट क्षेत्र छुट्ट्याएर कृषिमा जोड दिँदै आइरहेका छौँ,’ उनी भन्छिन्, ‘बाख्रा पाल्न चाहने व्यक्तिलाई बाख्राको पाठापाठी उपलब्ध गराउँदै आयआर्जनमा जोड दिँदै आएका छौँ।’

यस्ता कार्यक्रममा महिलाहरू सक्रिय हुने उनको भनाइ छ। महिला उत्थान तथा सामाजिक न्याय र विकासका लागि आगामी निर्वाचनमा प्रमुखको उम्मेदवारी दिने उनको योजना छ।

महिलाका लागि सेफ हाउस

अहिलेसम्म न्यायिक समितिमा तीन सय ५० जति मुद्दा दर्ता भएको अञ्चला बताउँछिन्। ‘दर्ता भएका बढीजसो मुद्दा महिलाहिंसा तथा घरेलुहिंसासँग सम्बन्धित हुुन्छन्,’ उनी भन्छिन्, ‘न्यायिक समितिको प्रक्रिया अनुसार नै दर्ता भएका मुद्दामाथि छलफल गर्दै आएका छौँ।’ 

महिला हिंसा न्यूनीकरण गर्नका लागि नगरपालिकाभित्र विगत तीन वर्षदेखि सेफ हाउसको व्यवस्था गरिएको उनी बताउँछिन्। 

विकासका काम 

उनी जनप्रतिनिधि भई आउनुअगाडि गौरीगंगा नगरपालिकाभित्र दुईवटा स्वास्थ्य चौकी थिए। अहिले नगरपालिकाका ११ वटै वडामा स्वास्थ्य चौकी पुगेको अञ्चला बताउँछिन्। 

उनका अनुसार, किसानलाई सिँचाइका लागि १० घरधुरी बराबर एक मोटरको व्यवस्था अगाडि बढाइएको छ। धान र गहुँको बीउमा ५० प्रतिशत अनुदान दिँदै आएको अञ्चला बताउँछिन्। 

सडक निर्माणको क्षेत्रमा एक वडामा करिब २० किलोमिटर जति सडक कालोपत्रे गरेको अञ्चलाको भनाइ छ। 

‘हामीले शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौँ,’ उनी भन्छिन्, ‘पहिले विद्यालयको भौतिक संरचनाको अभाव थियो। विद्यालयको माग अनुसार भौतिक संरचना बनाउँदै गयौँ। २०७८ सम्म आइपुग्दा गौरीगंगा नगरपालिकाभित्र ४३ वटा सरकारी विद्यालय पुगेका छन्।’

प्रकाशित मिति: ११:११ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्