Kathmandu Press

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

झापा, वैशाख ७ : राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन्।मुलुकमै झापाको मेचीनगर...
बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

झापा, वैशाख ७ : राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन्।

मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने सर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन्।

Hardik ivf

विगतमा गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न सङ्ग्रहालय बनाइदिने, रोजगारी दिने सर्तमा भोट पाएका जनप्रतिनिधि एकपटक पनि उनीहरुको अवस्था बुझ्न गाउँ नआएपछि यसपटक समुदायका अगुवाहरू बसेर यस्तो धारणा बनाएका हुन्। स्थानीय जोगी किसानले भने, ‘हाम्रो सङ्ग्रालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिन्छौं।’

किसान समुदायले मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन सुरु गरेको छ। बजेट अभावमा भने सो काम अधुरै छ। 

२०६० मा किसान समुदाय सङ्गठित भएर ‘किसान समुदाय विकास प्रतिष्ठान’को स्थापना गरेका थिए। सङ्ग्रालय बनाउने सोचका साथ स्थापना गरेको प्रतिष्ठानलाई कहीँकतैबाट पनि सहयोग नभएपछि गत वर्ष आफ्नै समुदायबाट रकम सङ्कलन गरेर उनीहरुले प्रतिष्ठानका लागि एक कठ्ठा जग्गा खरिद गरी भवन बनाउन सुरु गरेका हुन्।

भवन रङरोगन र झ्यालढोकाको काम बजेट अभावले बाँकी नै छ। ‘श्रमदान र सहयोग सङ्कलन गरेर बनाएका हौं,’ स्थानीय सुन्दरलाल किसानले भने। नगरपालिकाले जग्गाको व्यवस्था गरेर भवन बनाइदिने आश्वासन दिएको थियो ।

भवनका लागि आदिवासी जनजाति महासङ्घले रु दुई लाख सहयोग गरेको छ। ‘पार्टीभन्दा पनि राम्रो र हाम्रो काम गर्ने मान्छेलाई मात्र भोट दिन्छौ,’ उनले भने। उक्त समुदायका झन्डै ७ सय मतदाता छन्। किसान समुदायले जातीय संग्रहालय बनाएर लोप हुँदै गएका गरगहना, चाँदुवा (चाँदीका पैसाको माला) सिक्री, तक्री (झुम्का), लोला (टप) बेरा (मोटा चुरा) चुरी, धन्सी, पैरही (चेप्टो कल्ली), झुटिया (विच्छी), खङसो, चौरी (कलापमा लगाउने धागो), बाजागाजा राख्ने तयारी छ। 

मेचीनगर–११ का जुनेश किसान वर्षौंदेखि सुकुम्वासी भएर बसेकाले जग्गाको व्यवस्था गरिदिनेलाई मात्र भोट दिने बताँछन्। ‘ज्यालामजदुरी गरेर पेट पालेका छौं, ओत लाग्न जग्गा छैन,’ उनले भने। किसान समुदायको दैनिकी विगतभन्दा फेरिएको छ। सधैं स्थानीय क्षेत्रमा मात्र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने उनीहरु रोजगारीका लागि कतार, मलेसिया, कुवेतलगायत देशमा जान थालेका छन् । वैदेशिक रोजगारबाट फर्केर आएका अधिकांश किसानले पक्की घर र जग्गा जोडेका छन्। 

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्