सेवायात्रामा पाँच दशक : रोटरी क्लब अफ विराटनगरको स्वर्णिम पदचाप

विराटनगर, भदाै७ : पूर्वी नेपालको सामाजिक सेवाको इतिहासमा पाँच दशकदेखि निरन्तर सक्रिय रोटरी क्लब अफ विराटनगरले आज आफ्नो ५०औँ स्थापना दिवस तथा स्वर्णजयन्ती मनाएको छ। सन् १९७७ अगस्ट २२ मा स्थापित क्लबले शिक्षा, स्वास्थ्य, मानवीय सेवा, पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, कृषि तथा जीविकोपार्जन र सामाजिक समावेशिताका क्षेत्रमा पाँच दशक लामो सेवायात्रा पूरा गरेको हो।
रोटरी क्लब अफ विराटनगर नेपालमा स्थापना भएको दोस्रो रोटरी क्लब हो। सन् १९७७ मा रोटरी क्लब अफ काठमाडौंको प्रायोजनमा चार्टर्ड भएको क्लबले पूर्वी नेपालमा रोटरीको सेवा र सामाजिक उत्तरदायित्वको अभियानलाई संस्थागत रूपमा अघि बढाएको थियो। क्लबको आधिकारिक अभिलेखअनुसार २२ अगस्ट १९७७ मा स्थापना भएको रोटरी क्लब अफ विराटनगरले पाँच दशकभन्दा बढी समयदेखि सेवा, सदाचार, सद्भाव तथा विश्वशान्तिको रोटरी मूल्यमान्यतालाई स्थानीय समुदायसँग जोड्दै आएको छ।
स्थापनाका क्रममा विभिन्न पेशा र व्यवसायमा सक्रिय २८ जना चार्टर सदस्य एउटै सेवाभावमा आबद्ध भएका थिए। सामाजिक सेवा, प्रहरी, उद्योग–व्यवसाय, कृषि तथा खाद्यान्न, कपडा, शिक्षा, चिकित्सा, यातायात, कानुन र व्यापारलगायत विविध क्षेत्रका व्यक्तिहरूको सहभागिताले क्लबको प्रारम्भिक स्वरूपलाई नै बहुआयामिक बनाएको थियो।
क्लबको पहिलो कार्यसमितिको अध्यक्षमा नगेन्द्रप्रसाद रिजाल चयन भएका थिए। जगत बन्धु कार्की र हंस राज गोल्छा उपाध्यक्ष, गणेशबहादुर ढुंगाना सचिव, किशोर लमिछाने सह–सचिव तथा किशोर धनावत कोषाध्यक्ष बनेका थिए। प्रारम्भिक नेतृत्वले नियमित रोटरी गतिविधिसँगै समुदायका तत्कालीन आवश्यकता पहिचान गरी सेवा परियोजनालाई प्राथमिकता दिएको थियो।
रोटरी क्लब अफ विराटनगरका पूर्वअध्यक्ष तथा रोटरी इन्टरनेशनलका २०२७/२९ का डाइरेक्टर वासुदेव गोल्यानले रोटरी क्लब अफ विराटनगरको पाँच दशकको यात्रालाई अग्रजहरूले निर्माण गरेको सेवाको बलियो आधारका रूपमा स्मरण गर्दै क्लबले समयअनुसार सेवा परियोजना रूपान्तरण गर्दै स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रभाव विस्तार गरेको बताए। उनले आगामी दिनमा प्रभावकारी सेवा, युवा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरी क्लब अफ विराटनगरको पाँच दशक लामो सेवायात्रालाई केवल संस्थागत इतिहास नभई समाज रूपान्तरणको निरन्तर अभियानका रूपमा चित्रण गर्दै अग्रज रोटरियनहरूको योगदानबाट प्रेरणा लिएर आगामी दिनमा सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए।
कार्यक्रममा दिवंगत पूर्वअध्यक्ष तथा पूर्वडिस्ट्रिक्ट गभर्नर पीडीजी रोटेरियन सन्तोष रिजालको स्मृतिमा 'पीडीजी आरटीएन सन्तोष रिजाल मेमोरियल क्रिकेट कप' आयोजना गर्ने घोषणा गरेको छ। स्वर्गीय रिजालको सेवा, नेतृत्व र सामाजिक योगदानलाई दीर्घकालीन रूपमा सम्मान गर्दै क्रिकेटमार्फत नयाँ पुस्तामा रोटरीको सेवाभाव, सहकार्य, मैत्री र नेतृत्वको भावना प्रवर्द्धन गर्ने उद्देश्यले कप आयोजना गर्न लागिएको हो।
'सेलिब्रेटिङ फेलोसिप, सर्भिस एन्ड लिडरसिप' मूल भाव रहेको यस प्रतियोगिताले खेलकुद, युवा सहभागिता र सामाजिक सेवाबीचको सम्बन्ध सुदृढ गर्दै रिजालको सेवामूलक विरासतलाई निरन्तरता दिने विश्वास गरिएको छ।
रोटरी क्लब अफ विराटनगरले सन् १९७७ मा २८ जना चार्टर सदस्यबाट सुरु गरेको पाँच दशक लामो सेवायात्रामा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, पूर्वाधार, जीविकोपार्जन र सामाजिक समावेशिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।
प्रारम्भिक चरणमै विराटनगरको आदर्श पुस्तकालयको व्यवस्थापन, भवन तथा फर्निचर सहयोगमार्फत शिक्षा र बौद्धिक विकासलाई प्राथमिकता दिइएको थियो । स्वास्थ्य क्षेत्रमा निःशुल्क क्लिनिक, प्राकृतिक चिकित्सा तथा विभिन्न स्वास्थ्य शिविर, उपकरण सहयोग, बाल स्वास्थ्य सेवा, आँखा र नाक–कान–घाँटीसम्बन्धी शिविर सञ्चालन गरिएका थिए ।
आदर्श पुस्तकालय परिसरमा निःशुल्क शिशु स्वास्थ्य क्लिनिक स्थापना गर्नुका साथै चिकित्सकलाई तालिमका लागि विदेश पठाउने र क्लिनिक भवन निर्माण गर्ने पहलले स्वास्थ्य सेवामा दीर्घकालीन संस्थागत सोच देखाउँछ।
सन् १९८४–८५ मा अमेरिकी रोटरीको सहयोगमा क्षयरोग निवारण अक्षय कोष स्थापना गरी त्यसको ब्याजबाट नेपाल क्षयरोग निवारण संस्थासँग सहकार्य गर्दै बिरामीलाई निःशुल्क उपचार सहयोग गरिएको थियो ।
विपद्का समयमा पनि क्लबले सक्रिय भूमिका निर्वाह गर्दै भूकम्प, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण, खाद्यान्न र आवश्यक सामग्री वितरण गरेको थियो ।
विराटनगर र धरानमा पुनर्निर्माण परियोजना, सर्लाहीको सीतापुरमा बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण, कोशी अञ्चल अस्पतालमा गरिब तथा सफाइ कर्मचारीका लागि आवास र ढल निकास निर्माण तथा साना किसानलाई ट्युबवेल, पम्प र मर्मतसम्बन्धी तालिम उपलब्ध गराइएको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा रोटरी हल परिसरमा निःशुल्क फिजियोथेरापी सेन्टर स्थापना गर्नु पनि दीर्घकालीन स्वास्थ्य सेवाको महत्वपूर्ण उदाहरण हो।
क्लबले स्थानीय आवश्यकतालाई अन्तर्राष्ट्रिय रोटरी सञ्जालका स्रोत, सीप र अनुभवसँग जोड्दै विभिन्न स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा विपद् व्यवस्थापन परियोजना सञ्चालन गरेको थियो ।
यसको इतिहासमा सन् १९९२ विशेष महत्वको वर्ष हो, जब महिलालाई पूर्ण रोटरी सदस्यता प्रदान गर्ने ऐतिहासिक निर्णय भयो र ग्याल्ब्मी गोल्छा, मधु लोहिया, कुमुद गोल्यान, मञ्जु अग्रवाल र उषा गोयल प्रथम महिला सदस्य बने। यसले संस्थागत समावेशिता र महिला सहभागिताको नयाँ अध्याय सुरु गर्यो ।
पाँच दशकपछि रोटरी क्लब अफ विराटनगरको यात्रा एउटा संस्थाको इतिहास मात्र नभई विराटनगर तथा पूर्वी नेपालको सामाजिक सेवाको महत्वपूर्ण हिस्सा बनेको छ । पुस्तकालय र स्वास्थ्य सेवाबाट सुरु भएको यात्रा क्षयरोग नियन्त्रण, बाल स्वास्थ्य, विपद् राहत, पूर्वाधार निर्माण, किसान सहयोग, फिजियोथेरापी तथा महिला सहभागितासम्म विस्तार भएको छ।
स्वर्णजयन्ती विगतका योगदानको सम्मानसँगै बदलिँदो सामाजिक आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य, युवा नेतृत्व, प्रविधि, सामाजिक समावेशिता, वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा नयाँ दिशा तय गर्ने अवसरका रूपमा प्रस्तुत भएको छ। पाँच दशकको अनुभवले सेवाभाव, सामूहिक इच्छाशक्ति र निरन्तर प्रयासले समाजमा स्थायी परिवर्तन ल्याउन सक्ने विश्वासलाई स्थापित गरेको छ।











