Kathmandu Press

पाँच वर्षमा के गर्‍यो पाँचखाल नगरपालिकाले ?

देश संघीय संरचनामा गएपछि स्थानीय तहमा जनप्रतिनिधिको पहिलो पाँच वर्षे कार्यकाल सकिँदैछ । स्थानीय चुनाव घोषणा भएसँगै स्थानीय सरकारको काम–कारबाहीलाई अहिले महत्वका साथ हेरिँदै छ । यही सिलसिलामा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलसँग गरिएको कुराकानी ।
पाँच वर्षमा के गर्‍यो पाँचखाल नगरपालिकाले ?

देश संघीय संरचनामा गएपछि स्थानीय तहमा जनप्रतिनिधिको पहिलो पाँच वर्षे कार्यकाल सकिँदैछ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिसकेको छ । 
ऐन–नियमको अभाव, भूकम्प, कोराना आदिका कारण कतिपय स्थानीय सरकारले काम गर्न नपाएको गुनासो गरिरहेको अवस्था एकातिर छ, अर्कोतिर स्थानीय सरकारको काम–कारबाहीलाई अहिले बढी महत्वका साथ हेरिएको छ ।

यही सिलसिलामा हामीले पाँचखाल नगरपालिका प्रमुख महेश खरेलसँग कुराकानी गरेका थियौँ । उनले आफ्नो कार्यकालमा ‘नगरभित्र ४२.५० किलोमिटर सडक कालोपत्रे तथा ढलान, सुनकोसी–पाँचखाल बृहत् खानेपानी आयोजना द्रूत गति अगाडि बढेको, करिब ४० वटा उद्योग स्थापनाको तयारी भएको, कृषि र भौतिक पूर्वाधारलाई जोड दिएर काम भएको’ बताउँछन् । 

‘भूकम्पले भत्किएका घर वा संरचना बनायौँ, उज्यालो पाँचखाल योजना अन्तर्गत एक हजार बत्ती सडकमा जडान गर्‍यौँ,’ प्रमुख खरेल भन्छन्, ‘नगरभित्रको स्रोतको पहिचान गरी विभिन्न नयाँ योजना ल्याएका छौँ । भौतिक पूर्वाधार, शिक्षा र कृषिलाई बढी प्राथमिकतामा राखेर काम गर्‍यौँ ।’ 

Hardik ivf

‘तीन हजार कृषकको माटो परीक्षण’ 

पाँच वर्षमा नगरपालिकाको कृषि विकास शाखाले यहाँका तीन हजार कृषकको माटो परीक्षण गरेको प्रमुख खरेलका प्रेस सल्लाहकार कपिल कोइराला बताउँछन् । ‘प्रदेश सरकारको सहयोगमा ‘लभ ग्रिन नेपाल’ संस्था र कृषि शाखाबाट १३ वटै वडाको माटो परीक्षण गरिएको छ । माटोको गुणस्तर सुधार्नका लागि दुई लाख २५ हजार केजी कृषि चुन वितरण गर्‍यौँ,’ उनले भने । 

कृषि शाखा र ‘लभ ग्रिन नेपाल’को सहयोगमा नगरपालिकाले प्रत्येक वडामा फलफूल बिरुवा वितरण गरेको छ । नगरपालिाकाको तथ्यांक अनुसार, कागती, आँप, लिची, अनार, केरा र अन्य प्रजातिका गरी २५ हजार बोट वितरण गरिएको थियो । कफीको बोट १५ हजार पाँच सय वितरण गरिएको नगरपालिकाको तथ्यांक छ । 

त्यस्तै, १० हजार पाँच सय ५० तरकारी मिनी किट वितरण गरिएको नगरपालिकाले जनाएको छ । जसमा गोलभेडा, भेडेखुर्सानी, प्याज, तरकारी बीउ आदि छन् ।  

गरिबसँग विश्वेश्वर कार्यक्रमसँग मिलेर तीन सय ७० मौरी घार (गोलासहित) वितरण गरिएको प्रेस सल्लाहकार कोइरालाले बताए ।  

कृषकका लागि तीन हजार ६ सय ५० किलो धान, मकै र भटमास बीउ, चार सय ८९ वटा प्लास्टिक टनेल, एक सय ४५ वटा जेनेरेटर, पानी तान्ने पम्प, ईपम्प, कर्नसेलर र स्प्रेयर वितरण गरिएको नगरपालिकाले तथ्यांक छ । 

त्यस्तै, नगरपालिकाले कृषकलाई एक सय १९ पटक कृषि तालिम दिएको छ । ‘४० कृषकलाई बाख्रा वितरण, १६ कृषकलाई बंगुर वितरण र नौ कृषकलाई कुखुरा वितरण गरेका थियौँ,’ उनले भने ।

पशुपक्षी विकास शाखा

पाँच वर्षमा नगरपालिकाको पशुपक्षी विकास शाखाले एक करोड ५० लाखवटा पशुपक्षीलाई उपचार भ्याक्सिनेसन दिएको छ । २२ हजार ७ सय २० वटा गाई–भैंसीलाई कृत्रिम गर्भाधान गराइएको प्रेस सल्लाहकार कोइराला बताउँछन् । ‘पाँच हजार ६ सय केजी हिउँद र बर्खे घाँस, २१ वटा उन्नत नश्लको बोका, एक सय ५४ वटा पाडी र ९८ बाख्रा वितरण गरेको छ,’ उनले भने, ‘दुई सय ८० वटा सामुदायिक कुकुर बन्ध्याकरण, दुई लाख रुपैयाँ पशु बिमा प्रिमियम अनुदान (५० प्रतिशत), १४ वटा भुसा काट्ने मेसिन, पशुपालनसम्बन्धी ११ पटक तालिम दिएका छौँ ।’ 

यी लगायत पशुपालन सम्बन्धी अन्य काम गरिएको उनी बताउँछन् । 

शिक्षा 

शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि नगरपालिकाले अंग्रेजी तथा कम्प्युटर शिक्षक १० वटा विद्यालयमा व्यवस्था गरेको छ । सेवानिवृत्त हुन चाहेका ५० वर्ष उमेर कटेका ११ शिक्षकलाई सुनौलो अवकाश योजनाबाट प्रोत्साहन रकम व्यवस्था गरिएकोे सल्लाकार कोइराला बताउँछन् । ‘बालविकास सहजकर्ताको पारिश्रमिक १५ हजार पुर्‍याइएको छ । विद्यालयको कर्मचारी तथा कार्यालय सहयोगीको तलबमा दुई हजार थप गर्ने काम भएको छ,’ उनले भने, ‘एक विद्यालय एक पार्क (बाल उद्यान निर्माण) गर्न साझेदारी कार्यक्रम गरिएको छ । जसमा तीन विद्यालय छनोट गरेका छौँ ।’ 

त्यस्तै, नगरस्तरीय मेयर कप खेलकुद, नगरबाट ६ वटा विद्यालयमा प्रारम्भिक बालविकास कक्षा सञ्चालन, दुई विद्यालय (आजात मावि र महांकाल मावि) लाई बसको व्यवस्था गरिदिएको बताउँछन् । ‘शिक्षामा मिलेको पहिलो सफलता पाँचखाल नगरलाई साक्षर नगर घोषणा गर्नु पनि हो,’ उनले भने । 

भत्तामा अनलाइन सेवा

नगरपालिकाले चार सय ४७ जनालाई अपांगता कार्ड वितरण गरेको छ । त्यस्तै, तीनवटा क्रिस्टल माला सेट बुनाइका तीन केन्द्र स्थापना गरी वडा २, ९, ५ का ९५ महिलालाई रोजगारी दिइएको प्रेस सल्लाहकार कोइराला बताउँछन् । ‘बौद्धिक अपांगताका लागि ऊनीको स्वइटर, टोपी, पन्जा बुनाई केन्द्र दुईवटा स्थापना गरिएको छ,’ उनले भने, ‘जसमा ४० जनालाई सहभागी गराएका छौँ ।’ 

वडा ११ मा सुस्त मनस्थिति भएकाका लागि  टोपी, स्वेटर, मैनबत्ती, खाम अचार, क्रिस्टलको माला, पापड लगायत तालिम दिइएको छ । 

लैंगिक हिसा न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रम (लोकगीत प्रतियोगिता, महिला, अपांगता लगायत दिवस) गरिएको उनको भनाइ छ । 

भौतिक पूर्वाधार

पाँच वर्षमा २१ किलोमिटर नयाँ ट्र्याक निर्माण, १०१.५० किलोमिटर सडक चौडा, ४२.५० किलोमिटर सडक कालोपत्रे/ढलान (केही निर्माणाधीन), ६७.६० किलोमिटर सडकमा नाली निर्माण भएको (केही निर्माणाधीन), ३१.५ किलोमिटर सडकमा ग्राबेल भएको (केही निर्माणाधीन), पाँचवटा बाँध निर्माण तथा मर्मत, ३.५ किलोमिटर सिँचाई कुलो नहर निर्माण, चार हजार तीन सय ७० घरधुरीलाई खानेपानी योजनाबाट लाभान्वित गरिएको नगरपालिकाको तथ्यांक छ । 

सामाजिक सुरक्षा 

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले पूर्ण अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणको सेवा दिएको छ । ‘सेवाग्राहीलाई सरल सेवाका लागि सामाजिक सुरक्षाभत्ता कार्यक्रमको निवेदन अनलाइबाट लिने गरेका छौँ, भत्ता दुरुपयोग नहोस् भन्ने उद्देश्यले लाभग्राहीलाई बैंक खातामा रकम जम्मा गर्ने गर्छौं,’ प्रेस सल्लाहकार कोइरालाले भने, ‘भत्ता वितरण कार्यलाई अझ सहज र पारदर्शी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट उपलब्ध गराइएको छ ।’

त्यस्तै, चालू चौमासिक तथा त्रैमासिकको बीचमा सेवाग्राहीको मृत्यु भएमा संरक्षक वा हकवालाले पाउने गरी नगरपालिकाले बैंकलाई पत्राचार गर्ने गरेको छ । 

राजस्वमा छुट

सम्पत्ति करमा पौष मसान्तसम्म १० प्रतिशत छुट, नयाँ व्यवसाय दर्ता गर्दा पौष मसान्तसम्म १० प्रतिशत छुट, एकपटक दर्ता भइसकेको व्यवसाय नवीकरण गर्दा वर्षभरि नै १० प्रतिशत छुट, अशक्त असहाय व्यक्तिको नाममा व्यवसाय दर्ता गरेमा ५० प्रतिशत छुट दिइएको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा २ करोड ९७ लाख ५४ हजार ९०७ रुपैयाँ, ०७६/७७ मा २ करोड २६ लाख ३० हजार ६८१,  ०७७/७८ मा ४ करोड १९ लाख ७९ हजार २७६ र २०७८/७९ मा २ करोड ६१ लाख ६६ हजार ९०६ रुपैयाँ राजस्व संकलन गरेको छ । 

प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्