Kathmandu Press

मीनाको प्रगति : ‘कुखुरा, बट्टाई, बंगुर र बाख्रापालनले श्रीमानलाई कतार जानबाट रोकेको छ’ 

‘सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड’ले उनलाई सुरुमा एक लाख रूपैयाँ ऋण दियो। पछिल्लोपटक त्यहीँबाट तीन लाख ऋण लिएर आफूले व्यवस्थित रूपमा कुखुरा, बट्टाई, बाख्रा, बंगुर पाल्दै आएको उनी बताउँछिन्।
मीनाको प्रगति : ‘कुखुरा, बट्टाई, बंगुर र बाख्रापालनले श्रीमानलाई कतार जानबाट रोकेको छ’ 

काठमाडौं, वैशाख ५ : तनहुँको व्यास नगरपालिका– १२ की ४६ वर्षीया मीना पन्थ आइतबार कुखुरा र बंगुरलाई दाना खुवाउन व्यस्त थिइन्। पछिल्लो एक वर्षदेखि उनले घरमै कुखुरा, बट्टाई, बाख्रा र बंगुरपालन गर्दै आएकी छन्। उनको फर्ममा अहिले एक हजार दुई सय कुखुरा, सयवटा बट्टाई, चारवटा बंगुर र ६ वटा बाख्रा छन्। 

सुरुमा उनले ३० हजार रूपैयाँ लगानी गरी सयवटा कुखुरा हालेकी थिइन्। ४५ दिनमै कुखुरा बेच्दा आठ हजार रूपैयाँ नाफा भयो। नाफालाई उनले लगानीका रूपमा पढाउँदै थिइन्, उनले एकैचोटि अलि बढी लगानी गरी बढी नै नाफा कमाउने सोचिन्। ‘सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड’ले उनलाई सुरुमा एक लाख रूपैयाँ ऋण दियो। पछिल्लोपटक त्यहीँबाट तीन लाख ऋण लिएर आफूले व्यवस्थित रूपमा कुखुरा, बट्टाई, बाख्रा, बंगुर पाल्दै आएको उनी बताउँछिन्। 

Hardik ivf

‘कुखुरामा मात्र पाँच लाख लगानी पुगेको छ, यसबाट एकपटकमा एक लाख २० हजार जति नाफा आउँछ। अरु व्यवसाय भर्खरै सुरु गरेकी हुँ। एक जोडी बंगुर १४ हजारमा किनेँ, यसलाई बेच्दा कम्तीमा ६० हजार आउँछ,’ उनले भनिन् ‘अहिले आफ्नै बारीमा खोरहरू बढाउँदै छु।’

सबैको लघुवित्तमा उनले १५ प्रतिशत ब्याजमा ऋण लिएकी हुन्। समयमै ऋण चुक्ता गर्नेहरूलाई पुनः ऋण लिन समस्या नहुने उनी बताउँछिन्। ‘अहिले भएको तीन लाख ऋण समयमै तिरेर फेरि पाँच लाख ऋण लिने सोचेकी छु,’ उनले भनिन्। 

मीनालाई व्यवसायमा श्रीमान रामचन्द्र पन्थले सघाएका छन्। उनका श्रीमान् पछिल्लाले १० वर्ष कतारमा काम गरे। कोरोना महामारीका कारण रोजगारी गुमेपछि उनी नेपाल फर्किएका थिए। श्रीमान् फर्किएपछि आफूहरु पशुपालनमा लागेको मीना बताउँछिन्। अहिले यही व्यवसायबाट उनीहरुको जीविका राम्रोसँग चलेको छ। 

वडा सदस्य समेत रहेकी मीना सबैको लघुवित्तको युनिट (समूह)की अध्यक्ष पनि हुन्। 

समस्या

करिब एक वर्षअगाडि व्यवसाय सञ्चालन गर्दा मीनाले कुनै तालिम लिएकी थिइनन्। सुरुमा कुखुरा पालन गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने ज्ञान समेत आफूलाई नभएको मीना बताउँछिन्। ‘सुरुसुरुमा प्लेटमा भरी पानी राखेर कुखुरालाई दिन्थेँ। त्यहीँ डुबेर कति मरे, कति विभिन्न रोगका कारण मरे,’ उनले हाँस्दै भनिन्, ‘बिस्तारै सिक्दै लगानी र कुखुराको संख्या बढाउँदै गरेँ। अहिले भेटेरेनरी डाक्टरसँग सल्लाह लिएर समय–समयमा औषधि पनि दिने गरेकी छु।’

मीनाले पालेका कुखुरा लगायत पशुपन्छी अहिलेसम्म घरबाटै बिक्री भइरहेका छन्। तर मीनालाई बजारको अनुभव खासै छैन। बजारको व्यवस्था भइदिए आफूलाई सहज हुने उनी बताउँछिन्।  

युनिटबाट आत्मनिर्भरको पहल 

सबैको लघुवित्तका प्रतिनिधिहरू विभिन्न क्षेत्रमा गई सदस्य बनाउने गर्दछन्। ती सदस्यलाई महिनाको एकपटक घरदैलोमै व्यवसायसँग सम्बन्धित विभिन्न तालिम दिने गरिन्छ। सबै सदस्यले केही निश्चित रकम जम्मा गर्दै ज्ञान साटासाट गर्नुलाई नै युनिट भनिने यस लघुवित्तका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठ बताउँछन्। 

लघुवित्तकी प्रतिनिधि रक्षा थापा मीनाको क्षेत्रमा खटिएकी थिइन्, रक्षाकै आग्रहमा मीना युनिट अध्यक्ष भएकी हुन्। समाजका महिलालाई विश्वासमा लिएर युनिट बनाउन कठिन हुने मीनाको अनुभव छ। ‘लघुवित्तमा जम्मा गरेको पैसा खाएर भाग्ने, संस्था डुब्ने, आफूलाई पैसा फिर्ता नआउने लगायत त्रासले उनीहरूमा यसप्रति विश्वास जगाउन निकै कठिन भएको’ मीना बताउँछिन्।

‘रक्षा म्यामले मलाई सबै कुरा बुझाउनुभएको थियो। त्यही कुरा साथीहरूलाई बुझाउन मलाई धेरै समस्या भयो। हामीले १३ सदस्यसहितको एउटा युनिट बनायौँ,’ मीना भन्छिन्, ‘पछि मलाई नै युनिटको अध्यक्ष बनाइयो। अहिले मसँगै अन्य आठजनाले यसबाट ऋण लिएर व्यवसायमा लगानी गरेका छन्।’ आफ्नो व्यवसाय हेरेर गाउँका अन्य साथीहरू प्रोत्साहित भएको उनको अनुभव छ। 

लघुवित्तका नायब महाप्रबन्धक श्रेष्ठका अनुसार, युनिटको सदस्यले प्रतिमहिना कम्तीमा पाँच सय रूपैयाँ जम्मा गर्नुपर्ने हुन्छ। त्यसबापत उनीहरूलाई पाँचदेखि नौ प्रतिशतसम्म ब्याज दिने व्यवस्था छ। ‘हामीले साना तथा मझौला व्यवसायी एवं लागनीकर्तालाई बिना ब्याज बिनाधितो ऋण समेत दिने गरेका छौँ। जसका लागि युनिट सदस्यहरूको सहमति आवश्यक हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘युनिटका सदस्यको रकमलाई नै धितोका रूपमा राखिने र युनिटका सबै सदस्यले ताली बजाएर स्वीकृति दिएपछि मात्र ऋण दिइन्छ।’

ऋण कहाँ, कसरी प्रयोग भइरहेको छ भन्ने सम्बन्धमा अनुगमन भइरहने श्रेष्ठ बताउँछन्।

सबैको लघुवित्त 

सबैको लघुवित्त वित्तिय संस्थान लिमिटेड २०७४ असारदेखि सञ्चालनमा आएको हो। स्वरोजगारी र सामाजिक जागरणका माध्यमबाट देशका पिछडिएको वर्गलाई आत्मनिर्भर बनाउनु नै यस संस्थाको मूल उद्देश्य रहेको यस लघुवित्तका नायब महाप्रबन्धक श्रेष्ठ बताउँछन्।

‘सीपमूलक तालिम दिने, ग्राहकलाई आय अभिवृद्धि गराउने, कृषि, उद्योग, व्यापार तथा अन्य व्यावसायिक सम्भावना पहिचान गराएर उत्पादनशील व्यवसाय स्थापना गराउने लगायत हाम्रो मूल उद्देश्य हो,’ उनले भने, ‘देशको समग्र वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नेतर्फ पनि हामी काम गरिरहेका छौँ।’

राष्ट्रिय स्तरको यस लघुवित्तमा हाल ४३ हजार ४ सय ६६ सदस्यले कर्जा उपभोग गरिरहेका छन्। त्यस्तै, कुल ७३ हजार घरघुरीले सेवा लिइरहेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार, संस्थाले अहिलेसम्म १४ अर्ब २० करोड ७१ लाख ९२ हजार दुई सय कुल कर्जा वितरण गरेको छ।

सात प्रदेशको ४४ वटा जिल्लामा सेवा दिइरहेको यस लघुवित्तमा तीन सय ५५ कर्मचारी ( पुरुष : २४१ र महिला : ११४) कार्यरत छन्। यस्तै, यसको ९० वटा शाखा कार्यालय संख्या छन्। 
 

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्