Kathmandu Press

बालाजु बाइसधारामा भक्तजनकाे भिड (तस्बिरहरू)

यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास छ।
बालाजु बाइसधारामा भक्तजनकाे भिड (तस्बिरहरू)

काठमाडौं, वैशाख ३ : काठमाडौंको बालाजुस्थित बाइसधारामा आज (शनिबार) भव्य मेला लागेको छ।

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन सो ठाउँमा भव्य मेला लाग्ने गर्छ। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिका रूपमा मनाउने गर्दछन्। हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू स्नान गर्न त्यहाँ जाने गरेका छन्।

यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गरे फलिफाप हुने विश्वास रहिआएको छ।

Hardik ivf

त्यस्तै यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास छ।

काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन्। नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने र ती फलको रस मिसिएर बग्ने पानी बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको भनाइ रहिआएको छ।

राजा जयप्रकाश मल्लले नेपाल संवत् ८७५ मा बालाजुमा २१ धारा बनाउन लगाएका थिए। पछि १८५५ सालमा राजा रणबहादुर शाहले एउटा ठुलो ढुंगेधारा थपेपछि सो ठाउँ बाइसधाराको नामले प्रख्यात हुन पुगेको इतिहासमा उल्लेख छ। 

यसअघि दुई वर्ष कोरोनाका कारण बाइसधारा मेला लाग्न सकेको थिएन। यसपालि कोरोना संक्रमणको प्रभाव कम रहेकाले बालाजु बाइसधारामा भक्तजनको भिड लागेको हो।

प्रकाशित मिति: १३:०५ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्