दृष्टि फाउन्डेसन : मानसिक सन्तुलन गुमाएका महिलाकाे आश्रयस्थल
फाउन्डेसनमा रहेका १३ बालिकामध्ये पाँचजना सानै छन् भने आठजना विद्यालय जाने गरेका छन्।काठमाडौं, चैत ३० : धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा रहेको दृष्टि फाउन्डेसनले करिब डेढ वर्षअघि भागा नाम गरेकी अन्दाजी ३५/३६ वर्षीया गर्भवतीलाई उद्धार गर्यो। भागाले आफ्नो घर डडेल्धुरा भएको बताएकी छन्।
‘तर उनको परिवारसँग सम्पर्क हुन सकेको छैन,’ फाउन्डेसनकी सञ्चालक कल्पना भट्ट भन्छिन्, ‘हामीले उनलाई मानसिक सन्तुलन बिग्रेको अवस्थामा उद्धार गरेका हौँ। उनले छोरीलाई जन्म दिइन्। उनका आमाछोरी दुवैलाई दृष्टि फाउन्डेसनले आश्रय दिएको छ।’
फाउन्डेसनले करिब तीन महिनाअघि लक्ष्मी नाम गरेकी अन्दाजी ४० वर्षीया महिलालाई उद्धार गर्यो। गौरीफन्टा नाकाबाट मानसिक सन्तुलन गुमाएको अवस्थामा नेपाल प्रहरीको सहयोगमा लक्ष्मीको उद्धार गरिएको थियो।
त्यस्तै, ४० वर्षीया ताराले एक वर्षदेखि दृष्टि फाउन्डेसनमा आश्रय लिएकी छन्। दुई छोराकी आमा ताराले मानसिक सन्तुलन गुमाएपछि आफ्नो भाइले फाउन्डेसनमा ल्याएर छाडेको तारा बताउँछिन्।
फाउन्डेसनमा अहिले ५५ (४२ महिला, १३ बालिका) जनाले आश्रय पाएका छन्। कल्पनाले २०७३ सालमा नौ महिलालाई सहारा दिन तीनकोठा भाडामा लिई दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएकी थिइन्, अहिले अढाई तले सात कोठाको घरमा फाउन्डेसन सञ्चालित छ। यहाँ तीन वर्षका बालिकादेखि ८६ वर्षीया वृद्धासम्म छन्।
फाउन्डेसन सञ्चालनको पाँच वर्षको अवधिमा कल्पनाले १४ महिलालाई दागबत्ती दिनुप¥यो। कल्पना भन्छिन्, ‘हामीले धेरैजसो वृद्धालाई यहाँ आश्रय दिन्छौँ। वृद्धाको निधन हुँदा हामीले नै दाहसंस्कार गर्ने गरेका छौँ।’
विवाह नै नगरी सेवामा
धनगढी उपमहानगरपालिका– १३, कैलाली गाउँकी कल्पनाले त्रिभुवन मावि बोराडाँडी धनगढीबाट २०५८ सालमा एसएलसी गरेकी हुन्। त्यसपछिको स्नातकसम्मको अध्ययन उनले काठमाडौंको पद्मकन्या क्याम्पसबाट गरिन्। त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
काठमाडौं रहँदा उनले पढाइसँगै विभिन्न संघ–संस्थामा काम गरेकी थिइन्। मानव सेवा गर्ने विभिन्न संस्थामा काम गर्दागर्दै कल्पनामा असहायहरूको रेखदेख गर्ने सोच आएको थियो।
पढाइ सकेपछि केही वर्ष जागिर गरेर उनी घर (धनगढी) फर्किन्। धनगढी उपमहानगरपालिकाका सडकमा उनले मानसिक सन्तुलन गुमाएका थुप्रै असहाय महिला देखिन्। ती महिलाले कसैले दिए खान्थे भने नदिए भोकै रहनुपथ्र्यो। महिलाहरूलाई यस्तो अवस्थामा देखेपछि अन्ततः विवाह नै नगरी कल्पनाले २०७३ असारदेखि दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएकी हुन्।
विवाह नै नगरी मानव सेवामा लागेकामा कल्पनाको परिवार सन्तुष्ट भने छैन। ‘मानव सेवा गर्नु राम्रो हो, तर बिहे नगरी म यसैमा खटिएकी छु, त्यसैले मेरो परिवारका सदस्यको चित्त अलिकति बुझेको छैन,’ ३७ वर्षीया कल्पना भन्छिन्, ‘यहाँ रहेका मानसिक सन्तुलन गुमाएका दिदीआमाको पीडा देख्दा कसैले पनि विवाहका बारेमा सोच्नै सक्दैैन।’
‘मानसिक रोग लागेका महिलालाई परिवारले हेर्दैन’
कल्पनाले सुरुमा उद्धार गरेका महिलामध्ये डडेल्धुराकी ५५ वर्षीया वसन्ती एक हुन्। वसन्ती मानसिक सन्तुलन गुमेको अवस्थामा धनगढीमा भेटिएकी थिइन्। वसन्तीले आफ्नो ठेगाना बताएपछि उनको परिवारलाई खबर गरिएको थियो। तर परिवारले घरमा राख्न नमानेपछि विगत पाँच वर्षदेखि वसन्ती फाउन्डेसनमै बस्दै आएकी छन्।
कल्पनाका अनुसार, फाउन्डेसनमा अधिकांश महिला मानसिक रोगी छन्। उनीहरूलाई न आफ्नो नाम थाहा हुन्छ, न त ठेगाना। ‘महिलालाई मानसिक रोग लागेपछि घरपरिवारका सदस्यले स्याहारसुसार नगर्ने रहेछन्,’ कल्पना भन्छिन्, ‘मानसिक रोग लागेका अधिकांश महिला आफैँ घरबाट निस्कन पुग्छन्। तर परिवारले सोधखोज गर्दैनन्। कतिलाई परिवारका सदस्यले नै घरबाट निकाल्ने गरेको पाइएको छ।’
मानसिक सन्तुलन गुमाएका अधिकांश महिलालाई सम्हाल्न समस्या हुने कल्पना बताउँछिन्। ‘उहाँहरुको होस हुँदैन, सम्हाल्नै मुस्किल हुन्छ,’ कल्पना भन्छिन्, ‘उहाँहरुबाट हामीले गाली र कुटाइ नखाएको त दिनै हुँदैन। जे जस्तो भए पनि म मेरो कामबाट सन्तुष्ट छु।’
सहयोगमा सञ्चालन
फाउन्डेसनमा रहेका १३ बालिकामध्ये पाँचजना सानै छन् भने आठजना विद्यालय जाने गरेका छन्। आठ बालिकालाई फरकफरक निजी विद्यालयमा भर्ना गरिएको छ। एउटा स्कुलले एउटा बच्चालाई निःशुल्क पढाइ दिने गरेकाले फरक फरक विद्यालयमा भर्ना गर्नुपरेको कल्पना बताउँछिन्।
स्थापनाकालदेखि २०७५ सालसम्म फाउन्डेसनको भाडा कल्पनाले विभिन्न व्यक्तिको सहयोगमा तिर्दै आएकी थिइन्। २०७५ सालयता उपमहानगरपालिका धनगढीले घर भाडा तिरिदिन थालेको उनी बताउँछिन्। ‘नगरपालिकाले भवन निर्माणका लागि जग्गा समेत उपलब्ध गराएको छ,’ उनी भन्छिन्, ‘कसैले भवनका लागि पहल गरिदिए आफ्नै भवनमा बस्न सजिलो हुन्थ्यो।’
फाउन्डेसनसँग आयस्रोत नहुँदा यहाँ बस्नेलाई सुरुदेखि नै सुत्नका लागि समस्या छ। कल्पना भन्छिन्, ‘मनकारी व्यक्तिले आफ्नो क्षमता अनुसार सहयोग गर्नुहुन्छ। उहाँहरूको दानमुठीबाटै खर्च जुटिरहेको छ। कसैले आफ्नो जन्म दिनमा त, कसैले आफन्तको पुण्य तिथिका अवसरमा यहाँ आएर सहयोग गर्नुहुन्छ।’
फाउन्डेसन सञ्चालनका लागि कल्पनाले कर्मचारी राख्न सकेकी छैनन्। धनगढीमा पढ्दै गरेका केही विद्यार्थी आफ्नै इच्छाले स्वयसेवकका रूपमा फाउन्डेसलाई सघाउन आउने गरेको कल्पना बताउँछिन्। कल्पना भन्छिन्, ‘उहाँहरुलाई खाजा खर्च दिने गरेका छौँ।’