Kathmandu Press

यस वर्ष स्वास्थ्य क्षेत्रमा कति काम भए ?

विभिन्न जिल्लामा स्वास्थ्य सेवाको सहज वितरणका लागि भवन समेत निर्माणाधीन अवस्थामा रहेको सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्।
यस वर्ष स्वास्थ्य क्षेत्रमा कति काम भए ?

काठमाडाैं, चैत ३० : नेपालमा कोभिड–१९ महामारी केही हदसम्म नियन्त्रण भएसँगै सरकारले स्वास्थ्य क्षेत्रको व्यवस्थापनका लागि थप कार्य थालेको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, स्वास्थ्यका भवन बनाउने, पूर्वाधार थप्ने, उपकरण थप गर्ने लगायत काम यस वर्ष धेरै भएका छन्। कोभिड १९ कै लागि संकलन गरिएका उपकरण एवं प्रविधि सञ्चालनमा ल्याएर सेवाग्राहीलाई सहज तरिकाले सेवा दिन सक्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए। 

विभिन्न जिल्लामा स्वास्थ्य सेवाको सहज वितरणका लागि भवन समेत निर्माणाधीन अवस्थामा रहेको सहप्रवक्ता अधिकारी बताउँछन्।

Hardik ivf

‘यो वर्षभरि विशेषतः स्थानीय तहमा आधारभूत अस्पताल बनाउने हाम्रो योजना थियो। हरेक प्रदेशमा सरुवा रोगको उपचार हुने अस्पताल थप्ने समेत योजना छ। हामी विशेषतः यसैमा केन्द्रित भएर काम गरिरहेका छौँ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरू परिचालन गर्ने र स्वास्थ्यकर्मीको संख्या कम भएका ठाउँमा करारमा भए पनि राखेर सेवा प्रदान गरिरहेका छौँ। आपतकालीन सिकाइ प्रदान गरेर स्वास्थ्य प्रणालीलाई सुदृढ गर्ने काम भइरहेका छन्।’

यसबाहेक स्वास्थ्य मन्त्रालयले गर्ने अन्य कामजस्तै स्वास्थ्य सामग्री खरिद गर्ने, त्यसलाई वितरण गर्नुका साथै व्यवस्थित गर्दै लैजाने लगायत नियमित कार्यलाई निरन्तरता दिइरहेको डा. अधिकारी बताउँछन्।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि मात्र टाइफाइड विरुद्धको खोप वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ। ‘प्रति एक लाख मानिसमा एक हजारजना टाइफाइडको बिरामी हुने अनुसन्धानले देखाएको छ,’ उनी भन्छन्, ‘१५ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको हकमा प्रति एक लाख जनसंख्यामा ११ हजार बिरामी हुने अनुमान छ। यसलाई मध्येनजर गरेर टाइफाइड नियन्त्रणको खोप अभियान सुरु गरेको हो।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, अहिलेसम्म कुल चार करोड चार लाख १० हजार २४६ डोज कोभिड १९ विरुद्धको खोप वितरण भइसकेको छ। जसमध्ये पहिलो डोज लिने एक करोड ८८ लाख नौ हजार ५३१, दोस्रो डोज लिने एक करोड ९२ लाख ८८ हजार ३४० र अतिरिक्त डोज लिने २३ लाख १२ हजार ३७५ जना रहेको छ।  

विभिन्न देशबाट अहिलेसम्म कुल पाँच करोड ३३ लाख ८१ हजार ५७० डोज खोप ल्याइएको मन्त्रालयको तथ्यांक छ। यस आर्थिक वर्ष कोभिडका कारण देशको कुल बजेटमध्ये आठ प्रतिशतभन्दा बढी स्वास्थ्यतर्फ छुट्ट्याइएको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

‘यो वर्ष स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २५ अर्ब ४४ करोड पाँच लाखको हाराहारीमा बजेट छुट्ट्याइएको छ। जसमध्ये ७४ अर्ब मात्र सिलिङ भएको छ,’ उनले भने, ‘खर्चको प्रक्रिया विभिन्न चरणमा छन्। अहिलेसम्म करिब ३३ प्रतिशतभन्दा बढी रकम खर्च भइसकेको छ।’ यस्तै, स्वास्थ्य मन्त्रालयमा आएको बजेटमध्ये धेरै प्रतिशत रकम भवनका लागि खर्च भइरहेको उनी बताउँछन्। 

आकस्मिक अवस्थाको व्यवस्थापन गर्न विशेष तयारी गर्नुपर्ने, दिगो विकास हासिल गर्न स्वास्थ्य क्षेत्रको रणनीतिक योजना तयार गरेर सन् २०३० सम्मका लागि कार्यान्वयनमा जानुपर्ने लगायत योजना रहेको सहप्रवक्ता डा. अधिकारी बताउँछन्। 

‘स्थानीय तहका अस्पताललाई सुचारु गर्न तिनको सुदृढीकरण गर्दै लानुपर्नेछ। सेन्टर बोर्ड डिजिज कन्ट्रोल र स्वास्थ्य गुणस्तर मापन प्रमाणीकरणलाई छुट्टै प्राधिकरण बनाएर व्यवस्थापन गर्न आवश्यक तयारी भइरहेका छन्,’ सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘औषधिको व्यवस्था, औषधिको गुणस्तरमा पनि विभिन्न कार्य गर्नुपर्नेछ। नसर्ने रोगको बढ्दो क्रमलाई मध्यनजर गरी विभिन्न काम अगाडि बढाउनुपर्नेछ। यस्तै कार्यमा हामीले विशेष जोड दिएर विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने योजनामा छौँ।’  
 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्