Kathmandu Press

धादिङमा चार दलीय गठबन्धनले एमालेको गढ भत्काउला? 

जिल्लाका ८५ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका थिए, जसमा धुनीवेशी नगरपालिका प्रमुख, गल्छी गाउँपालिका अध्यक्ष र गजुरी गाउँपालिका उपाध्यक्ष समेत छन्। यसले एमालेलाई ठूलो धक्का पुग्ने जानकार बताउँछन्।
धादिङमा चार दलीय गठबन्धनले एमालेको गढ भत्काउला? 

धादिङ, चैत २८ : आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा)को केन्द्रीय नेतृत्वले देशभरका स्थानीय तहमा गठबन्धन गरेर चुनावमा जाने निर्णय गरिसकेको छ। 

२ लाख ६८ हजार ४७२ मतदाता रहेको धादिङमा पनि गठबन्धनले सबै स्थानीय तहका वडासम्मै तालमेल गरेर अगाडि बढ्ने निर्णय गरिसकेको छ। यसअघिका चुनाव हेरी धादिङलाई एमालेको गढ मानिन्छ। यहाँ गठबन्धनमध्ये जनमोर्चाको संगठन छैन। 

शनिबार कांग्रेसका धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जनता समाजवादीका राजु नेपालसहित जिल्लाका नेताको बैठकले वडा तहसम्मै गठबन्धन बनाएर चुनावमा जाने निर्णय ग¥यो।

Hardik ivf

बैठकले १३ स्थानीय तहका १०४ वडा र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तालमेलका लागि चार दलले आठबुँदे निर्णय गरी कांग्रेस पालिका सभापतिको संयोजकत्वमा रहने एक संयन्त्र समेत बनाएको छ। 

एकीकृत समाजवादी एमालेको तगारो  

वडा तहसम्मै गठबन्धन बन्ने भएपछि धादिङका अधिकांश स्थानीय तहमा वर्चस्व रहेको एमाले दबाबमा देखिन्छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले तालमेल गर्दा समेत एमालेले जिल्लाका ११ गाउँपालिकामध्ये सात र दुई नगरपालिकामध्ये एकको प्रमुख पद पाएको थियो। त्यस्तै एक नगरपालिकामा उप्रप्रमुख जितेको थियो।

कांग्रेसले एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुख जितेको थियो भने माओवादी केन्द्रले एउटा मात्रै गाउँपालिकाको प्रमुख पद जितेको थियो। त्यस्तै, कांग्रेसले ३ र माओवादी केन्द्रले एक उपप्रमुख जितेको थियो।

एमाले विभाजित रहेको अहिलेको अवस्थामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) धादिङमा बलियो देखिन्छ। पार्टी उपाध्यक्ष तथा वागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्रप्रसाद पाण्डे धादिङकै हुन्। यस हिसाबमा जिल्लामा एकीकृत समाजवादीको बलियो प्रभाव पर्ने देखिन्छ। एमालेकै हाराहारीमा संगठन र कार्यकर्ता नभए पनि यसपालि एमालेको अधिकांश भोट एकीकृत समाजवादीतिर जाने आकलन गरिएको छ। 

एक्लै पनि एमालेलाई परास्त गर्ने क्षमता छ : गुरुप्रसाद बुर्लाकोटी 

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा धादिङ इन्चार्ज गुरुप्रसाद बुर्लाकोटीका अनुसार जिल्लाका ८५ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका थिए, जसमा धुनीवेशी नगरपालिका प्रमुख, गल्छी गाउँपालिका अध्यक्ष र गजुरी गाउँपालिका उपाध्यक्ष समेत छन्। यसले एमालेलाई ठूलो धक्का पुग्ने जानकार बताउँछन्। यसमाथि चार दलीय गठबन्धन हुँदा धादिङमा एमालेका लागि मुस्किल देखिएको छ। एक्लाएक्लै लडे  पनि धादिङमा एमाले पराजित हुने बुर्लाकोटीको दाबी छ। ‘धादिङमा तत्कालीन माले हुँदै एमालेको संगठन निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने राजेन्द्रप्रसाद पाण्डेदेखि गंगालाल तुलाधरसम्म एकीकृत समाजवादीमा हुनुहुन्छ,’ बुर्लाकोटी भन्छन्, ‘त्यसकारण एमालेले जित्ने सम्भावनै छैन।’ 

हाल जिल्लाका १३ स्थानीय तहका १०४ वटै वडामा पार्टी कमिटीदेखि जनवर्गीय संगठन निर्माण गरिसकिएको उनले बताए। 
गठबन्धनका तर्फबाट कुन स्थानीय तह कुन पार्टीलाई दिने भन्ने विषय भोलि (चैत २९ मा) बस्ने बैठकले निर्णय गर्ने बताइएको छ। यसका लागि अघिल्लो निर्वाचनको परिणाम र स्थानीय तहमा दलहरूको सांगठनिक प्रभाव हेरी समीक्षा गरिने समेत बताइएको छ। 

नीलकण्ठ नगरपालिका

अघिल्लो निर्वाचनमा नीलकण्ठ नगरपालिकामा कांग्रेसबाट भीमप्रसाद ढुंगाना मेयरमा विजयी भएका थिए। उनले १३ हजार १६६ मत प्राप्त गरी विजयी हुँदा एमाले उम्मेदवार अर्जुनकुमार श्रेष्ठले ६ हजार ९९० मत प्राप्त गरेका थिए। ढुंगानालाई माओवादीले सघाएको थियो। उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारी ‘शैलेस’ले १० हजार ३२३ मत ल्याई विजयी हुँदा एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ४४४ मत प्राप्त गरेकी थिइन्। 

धुनीवेशी नगरपालिका

धुनीवेशी नगरपालिकामा एमालेका बालकृष्ण आचार्य मेयरमा निर्वाचित भएका थिए। उनले ६ हजार ६६४ मत ल्याउँदा माओवादी केन्द्रका दीपक लामिछानेले चार हजार ३३५ र कांग्रेसका माधवराज पाण्डेले तीन हजार ९२३ मत प्राप्त गरेका थिए। 

उपप्रमुखमा पनि एमालेकी निरु खरेल ६ हजार ६ सय २९ मतसहित निर्वाचित भएकी थिइन्। उपप्रमुखका दाबेदार माओवादी केन्द्रकी सावित्री आचार्यले ४ हजार ३४१ र कांग्रेसकी अप्सरा कोइरालाले तीन हजार ९२५ मत ल्याएकी थिइन्। 

खनियाबास गाउँपालिका

खनियाबास गाउँपालिकामा नेपाली कांग्रेसका रणबहादुर तामाङमा १ हजार ६४६ मत ल्याएर विजयी भएका थिए। यहाँ एमालेका प्रदिप फ्युवा तामाङले ९७१ मत ल्याएका थिए भने राप्रपाका बुद्धीबहादुर तामाङले ८८० मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका सेक्केमान तामाङले ७९८ मत ल्याएका थिए। 

उपाध्यक्षमा कांग्रेसकै योमाया तामाङ निर्वाचित भएकी थिइन्। उनले १ हजार ६६५ मत प्राप्त गर्दा एमालेकी सुस्मा तामाङले ९१७, माओवादी केन्द्रकी तृष्णा मोक्तान तामाङले ६११ र नयाँ शक्तिकी निकिता तामाङले ४२५ मत ल्याएकी थिइन्। 

गंगाजमुना गाउँपालिका

यो गाउँपालिकामा एमालेका बलबहादुर अधिकारी ३ हजार ३५६ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसका अकल बहादुर तामाङले ३ हजार १८८ मत ल्याउँदा माओवादी केन्द्रका नवराजबहादुर अधिकारीले १ हजार ९८१ मत प्राप्त गरेका थिए। 

उपाध्यक्षमा पनि एमालेकै एञ्जिला तामाङ निर्वाचित भएकी थिइन्। एञ्जिलाले ३ हजार ५२२ मत प्राप्त गर्दा कांग्रेसकी दुर्गा दाहालले ३ हजार १२८ र माओवादी केन्द्रकी खिनकुमारी गेलाङले १ हजार ९१६ मत ल्याएकी थिइन्। 

गजुरी गाउँपालिका 

गजुरीमा एमालेका राजेन्द्रविक्रम बस्नेत ४ हजार ३३६ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका थिए। त्यहाँ माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले ४ हजार ६ मत ल्याएका थिए। कांग्रेसले भने उम्मेदवारी दिएको थिएन। 

उपप्रमुखमा एमालेकै सीता ढुंगाना ४ हजार २१४ मत ल्याएर विजयी भएकी थिइन्। कांग्रेसकी शर्मिला विसुरालल ३ हजार ६२९ मत प्राप्त गरेकी थिइन्। 

गल्छी गाउँपालिका 

गल्छीमा एमालेका कृष्णहरी श्रेष्ठ ६ हजार ५१ मत ल्याएर विजयी भएका थिए। त्यहाँ कांग्रेसका विनोदकुमार कार्कीले ५ हजार २०७ मत ल्याएका थिए भने माओवादी केन्द्रका विरबहादुर तामाङले २१० मत ल्याएका थिए। 

एमालेकी राधा लामिछानेले ६ हजार २०८ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन्। कांग्रेसकी कलादेवी खतिवडाले २ हजार १४९ मत ल्याउँदा माओवादी केन्द्रकी मीरा थापामगरले ३ हजार १८४ मत प्राप्त गरेकी थिइन्। 

त्रिपुरासुन्दरी गाउँपालिका 

यो गाउँपालिकामा पनि एमालेकै उम्मेदवार अध्यक्ष निर्वाचित भएको थियो। एमालेका शम्भुकुमार थापाले ४ हजार ६० मत ल्याउँदा माओवादी केन्द्रका दलबहादुर बुर्लाकोटीले १ हजार ८३४ मत प्राप्त गरेका थिए।

उपप्रमुखमा भने नेपाली कांग्रेसकी देवी कुमारी बुर्लाकोटी झिनो मतान्तरले विजयी भएकी थिइन्। उनले ३ हजार ९९० मत ल्याउँदा एमालेकी कृष्णकुमारी थापाक्षेत्रीले ३ हजार ८९९ मत ल्याएकी थिइन्। त्यस्तै माओवादीकी सुमित्रा भन्डारीले १ हजार ९५६ मत प्राप्त गरेकी थिइन्। 

थाक्रे गाउँपालिका  

यहाँ एमालेका रामकुमार आचार्य ८ हजार २३४ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। माओवादी केन्द्रका यन्त्रबहादुर थापाले ६ हजार ६९० मत प्राप्त गरेका थिए। उनलाई कांग्रेसले सघाएको थियो। 

उपाध्यक्षमा एमालेकी अम्बिका रुपाखेती पौडेल ८ हजार ३२२ मतसहित निर्वाचित भएकी थिइन्। कांग्रेसबाट रामकुमार लामाले ५ हजार ४८८ मत पाएकी थिइन्।

नेत्रावती गाउँपालिका 

नेत्रावतीमा पनि नेकपा एमालेका दुर्ग कुमार शाक्य १ हजार ६४६ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। त्यहाँ नेपाली कांग्रेसका टेकजङ लामाले १ हजार ५७३ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका ठाकुर गुरुङले १ हजार ५१० मत प्राप्त गरेका थिए। 

उपाध्यक्षतर्फ माओवादी केन्द्रकी उर्मिला तामाङ १ हजार ५४२ मत सहित निर्वाचित भएकी थिइन्। कांग्रेसकी आशामाया तामाङले १ हजार ५०९ मत ल्याउँदा एमालेकी मिना तामाङले १ हजार ३९१ मत ल्याएकी थिइन्।
 
सिद्धलेक गाउँपालिका 

यो गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो। एमालेका प्रेमनाथ सिलवा ५ हजार ६०७ मत सहित गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसका बद्रीप्रसाद अर्यालले ३ हजार ६८२ मतमात्रै प्राप्त गरेका थिए भने माओवादी केन्द्रका पुष्पराज थपलियाले २ हजार ७० मत ल्याएका थिए।

उपाध्यक्षमा एमालेकी कमला शर्माले ५ हजार ५४४ मत प्राप्त गरेकी थिइन् भने कांग्रेसकी लक्ष्मी सिलवालले ३ हजार ८६५ मत प्राप्त गरेकी थिइन्। त्यस्तै माओवादी केन्द्रकी सम्झना पण्डित लामिछानेले १ हजार ८१९ मत ल्याएकी थिइन्। 

ज्वालामूखी गाउँपालिका 

यस गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको थियो। तालमेलबाट कांग्रेस उम्मेदवार विनोदराज तिमल्सेना ५ हजार ९५४ मत प्राप्त गरेका थिए। एमालेका रामप्रसाद अधिकारी ५ हजार ९३० मत प्राप्त गरेका थिए। 

उपाध्यक्ष निर्वाचित भएकी एमाले उम्मेदवार जानुका सिंखडाले ५ हजार ७७९ मत प्राप्त गरेकी थिइन्। माओवादीका विष्णुकुमार श्रेष्ठले ४ हजार ८९४ मत प्राप्त गरेका थिए। 
 
बेनिघाट रोराङ गाउँपालिका

यस गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका पित्त बहादुर डल्लाकोटी ६ हजार ४१० मत सहित अध्यक्ष निर्वाचित भएका थिए। एमालेका गिरीराज कडेलले ५ हजार २५५ मत ल्याएका थिए। 

उपाध्यक्षमा कांग्रेसका देवीप्रसाद सिलवाल ५ हजार ३०२ मत ल्याउँदै विजयी भएका थिए। एमालेकी मायादेवी शर्माले भने ५ हजार २७७ मत प्राप्त गरेकी थिइन्। 

रुवीभ्याली गाउँपालिका 

यो गाउँपालिकामा राप्रपाका चेरुङ तामाङ १ हजार ४८७ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसका कुलबहादुर गुरुङले ६९३ मत ल्याएका थिए भने माओवादी केन्द्रका रामसिंह तामाङले ९५३ मत ल्याएका थिए। 

उपाध्यक्षमा राप्रपाकै बिना लामा १ हजार ४०९ मत ल्याउँदै विजयी भएकी थिइन् भने कांग्रेसकी खममाया तामाङले ६५५ मत ल्याएकी थिइन्। माओवादी केन्द्रकी अमृता गुरुङले ९७२ मत ल्याएकी थिइन् भने एमालेकी दिलमाया तामाङले ७५९ मत ल्याएकी थिइन्।


 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्