मनिषा उपाध्यायको कप्तानी
अहिलेसम्म उनले राष्ट्रिय स्तरका १० म्याचसँगै थुप्रै प्राक्टिस म्याच पनि खेलेकी छन्।काठमाडाैं, चैत २८ : यतिबेला नेपाली क्रिकेट जगतमा मनिषा उपाध्यायको नाम चम्कन थालेको छ।
भर्खरै धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बन्यो। नेपाल क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशबाट कप्तान थिइन्, मनिषा उपाध्याय।
उपाधि जितेर प्रदेशको नाम र गौरव राखेकाले गण्डकी प्रदेश सरकारले च्याम्पियन टोलीलाई १३ चैतमा सम्मान गरेको छ। गण्डकी प्रदेशको टिमबाट कप्तानको भूमिका निभाएकी मनिषा सुदूरपश्चिम (बझाङ, जयपृथ्वी नगरपालिका-१० जनपा) की हुन्।
मनिषा सुदूरपश्चिमबाट खेल जगतमा कसरी उदाइन् ? खेलप्रतिको उनको लगाव र मेहनत कस्तो छ ? हामीले उनलाई टेलिफोनमार्फत सोधेका थियौँ। ‘म क्रिकेट खेल्न सुरु गर्दा परिवारमा आमाबाहेक कसैले सपोर्ट गर्नुभएको थिएन,’ मनिषा भन्छिन्, ‘राष्ट्रिय स्तरको खेलमा राम्रो गर्दै गएपछि मात्र परिवारमा सबैको सपोर्ट र माया पाएँ। परिवारकै सहयोगमा अहिले काठमाडौंमा क्रिकेटसम्बन्धी तालिम लिइरहेकी छु।’
यतिखेर काठमाडौं, कलंकीस्थित ‘अल्फा स्पोर्ट एकेडेमी’का प्रशिक्षक सञ्जय महर्जनसँग मनिषाले क्रिकेटको प्रशिक्षण लिइरहेकी छन्।
‘के खेल्छे, कहाँ जान्छे’
क्रिकेट खेल्न लागेसँगै समाजका मानिसबाट नकारात्मक टीकाटिप्पणी समेत उनले सुन्नुप¥यो। ‘सुरुमा के खेल्छे, कहाँ जान्छे भनेर नकारात्मक टीका–टिप्पणी गर्थे,’ उनी भन्छिन्, ‘पहिलोपटक नेसनल गेम खेलेपछि भने खेलाडी भनेर थाहा पाए, अनि कुरा काट्न अलि छुट्यो। अहिले मुख्यमन्त्री कप अन्डर–१९ मा कप्तान भएर खेलेपछि धेरैले प्रशंसा गर्नुहुन्छ।’
क्रिकेटमा महिलाको भविष्य राम्रै रहेको मनिषा बताउँछिन्। अहिले राष्ट्रिय स्तरका विभिन्न टुर्नामेन्ट भइरहन्छन्। विद्यालयले पनि खेल आयोजना गरिरहेका हुन्छन्। ‘त्यसकारण इच्छुक तथा प्रतिभा भएका खेलाडी महिलालाई अहिले अवसर छ,’ उनी भन्छिन्, ‘मैले त यसमा राम्रै भविष्य देखेकी छु।’
क्रिकेट मैदानमा पाइला
मनिषा सानैमा आमाबुवासँग भारतको फरिदाबादमा गएकी थिइन्। त्यहाँ कक्षा ५ सम्म पढेपछि उनी परिवारसँगै नेपाल फर्किन् र धनगढी उपमहानगरपालिका– ७ मनरामा बस्न थालिन्। भारतमा हुर्के–बढेकाले उनलाई नेपालको रहनसहन र भाषाबारे केही ज्ञान थिएन। उनलाई नेपालको वातावरणमा घुलमिल हुनै समय लाग्यो। नेपाल फर्केपछि उनी धनगढी उपमहानगरपालिकास्थित पञ्चोदय माविमा कक्षा ६ मा भर्ना भएकी थिइन्।
मनिषालाई सानैदेखि ब्याडमिन्टनमा रुचि थियो। तर, उनले कहिलेकाहीँ विद्यालयमा केटाहरुसँग क्रिकेट खेल्ने अवसर पाउँथिन्। ‘कहिलेकाहीँ क्रिकेट खेल्दाखेल्दै मेरो मन क्रिकेटतर्फ जान थाल्यो,’ उनी भन्छिन्, ‘तर यस खेलबारे तालिम कहाँ दिन्छ भन्ने समेत मलाई थाहा थिएन।’
कक्षा १० मा पढ्दै गर्दा उनले बहिनीकी साथी कविता कुवँरबाट थाहा पाइन्– धनगढी उपमहानगरपालिकामा रहेको रंगशालामा क्रिकेटको प्रशिक्षण दिइन्छ। त्यसपछि उनी कवितासँगै त्यहाँ पुगिन्। जहाँ उनीहरुलाई ज्ञानेन्द्र खत्रीले क्रिकेट तालिम दिए।
त्यहाँ सिक्न थालेको दुई हप्ताभित्र २०७५ मा उनले पहिलो प्राक्टिस क्रिकेट म्याच खेन्ने अवसर पाइन्, जुन खेलका लागि उनी भारत जानुपथ्र्यो। ‘त्यो मेरो जीवनकै पहिलो म्याच थियो। त्यहाँ हामी केटाहरुसँग खेलेका थियौँ। म्याच खेलेको अनुभव मसँग थिएन,’ मनिषा भन्छिन्, ‘हामीले त्यो गेम हा¥यौँ तर मैले खेलबारे धेरै जान्ने र सिक्ने मौका पाएँ।’
मनिषाले एसएलसीसम्मको पढाइ पञ्चोदय माविबाट गरिन्, अहिले उनी धनगढीकै सुदूरपश्चिम ऐकेडेमी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत छिन्।
अहिलेसम्म उनले राष्ट्रिय स्तरका १० म्याचसँगै थुप्रै प्राक्टिस म्याच पनि खेलेकी छन्।
राष्ट्रिय खेल गण्डकीबाट
मनिषाले पहिलोपटक गण्डकी प्रदेशबाट राष्ट्रिय स्तरको खेल खेलिन्। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७६) मा गण्डकी प्रदेशका लागि खेलाडी पुगेका थिएनन्। गण्डकीका प्रशिक्षक रिजन प्रजुले सूदूरपश्चिमका प्रशिक्षक ज्ञानेन्द्र खत्रीलाई फोनमार्फत भने– सुदूरपश्चिमका इच्छुक खेलाडी गण्डकी प्रदेशको टिमबाट खेल्न सक्नेछन्। त्यसपछि मनिषाका दाजुलाई फोन आयो– मनिषाका लागि गण्डकी प्रदेशबाट खेल्ने अवसर छ।
त्यसपछि मनिषा गण्डकीबाट खेल्ने भइन्। उनीसँगै उनका टिमका तीन खेलाडी पनि गण्डकी प्रदेशबाट प्रधानमन्त्री कपमा सहभागी भए। त्यतिबेला गेम सूदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा सम्पन्न भएको थियो। मनिषाको टिमले हार बेहो¥यो। ‘अरु टिममा सबै सिनियर र अनुभवी खेलाडी थिए, त्यतिबेला हामीले तीनवटै गेम हार्नुपरेको थियो,’ मनिषा भन्छिन्।
त्यसो त उनलाई आफ्नै टिममा प्राक्टिस म्याच खेलेको बानी थियो। एकैचोटि नयाँ खेलाडीसँग मिसिएर खेल्दा सुरुमा असहज भएको उनी बताउँछिन्। ‘गण्डकी प्रदेशको न कुनै खेलाडीलाई चिनेका थियौँ, न त कोचलाई,’ मनिषा भन्छिन्, ‘त्यसैले सुरुमा एकदमै असहज भएको थियो। खेल्दै जाँदा पछि अन्य खेलाडीलाई चिन्न थालेपछि सहज वातावरण बन्दै गयो।’
त्यतिबेला मनिषासँगै गण्डकी प्रदेशबाट खेल्ने अन्य तीन खेलाडी पछि सुदूरपश्चिम प्रदेशबाटै खेल्न थाले। मनिषा भने गण्डकी प्रदेशबाटै खेल्दै आएकी छन्।
यसपालि गण्डकी प्रदेशबाट कप्तान भएर खेलेसँगै उनको आत्मविश्वास चुलिएको छ। ‘पहिलोपटक टिमको कप्तान बनेर खेल्दै थिएँ, जति खुसी थिएँ, त्यत्तिकै डराइरहेकी पनि थिएँ,’ उनी भन्छिन्, ‘पहिलो म्याचमा बढी नै डराएँ। तर दोस्रो म्याच हुँदै पछिका म्याचमा आत्मविश्वास बढ्दै गयो र प्रतियोगिता हामीले नै जित्यौँ।’
जतिसक्दो क्रिकेटमा लाग्ने र देशका लागि खेल्ने उनी बताउँछिन्।